बत्तिहरूको झिलिमिलीबाट चमचमाउँदो समुद्री तट, विशाल मरुभूमिमा रोपिएका अर्बौं रुख, तीव्र गतिमा चल्ने रेल, नक्कली चन्द्रमा, कारहरू नगुड्ने १७० किलोमिटर लामो सीधा रेखामा बसाइएको शहर। साउदी अरेबियाले अगाडि सारेको अत्याधुनिक आलिसान शहरको परिकल्पना हो यो। र, यसलाइए नाम दिइएको छ, निओम प्रोजेक्ट।
उक्त प्रोजेक्टमार्फत साउदी अरेबियामा भविष्यमा इको–सिटी निर्माणको योजना छ। र, त्यो शहर पर्यावरण अनुकुल हुनेछ।
धर्तिको स्वास्थ्य नबिगारी मानव सभ्यताको फूल फुलाउने योजना हो यो। यो योजनाको लागत करिब पाँच सय अर्ब अमेरिकी डलर अनुमान गरिएको छ। र, कच्चा तेलमूक्त साउदी अरेबियाको ‘भिजन २०३०’को एक हिस्सा मानिएको छ, यसलाई।

यो शहरको आयतन इजरायल र प्यालेस्टाइनको भूभाग जत्रै हुने सम्भावना छ। र, २६ हजार पाँच सय वर्गकिलोमिटर अनुमान गरिएको छ। त्यो शहरमा साउदी अरेबियाको कानून लागू हुने छैन, आफ्नै स्वायत्त कानूनी व्यवस्था तय हुनेछ।
निओम प्रोजेक्टका सल्लाहकार बोर्ड सदस्य तथा पूर्वबैंकर अली सिहाबीका अनुसार यो शहर १७० किलो लामो सीधा रेखामा बसाइनेछ, जसको नाम हुनेछ, ‘दी लाइन’। उनको भनाइमा त्यो शहर स्पेनको बार्सिलोनाको ट्राफिक मुक्त ‘सुपर ब्लक्स’जस्तै हुनेछ। र, त्यसमा पसल, स्कुलहरूको सुविधा हुनेछ। र, पाँच मिनटमै मानिसले आफूलाई आवश्यक सामान खरिद गर्न सक्ने छन्। अनि, तीव्र गतिको रेलबाट शहरको एक कुनाबाट अर्कोसम्म १० मिनटमै पुग्न सकिने छ।
निओम प्रोजेक्टमा अर्को शहरको परिकल्पना पनि छ, ‘अक्सागन’। समुद्रमा तैरिरहेको जस्तो देखिने यो शहर समुद्रमा बनेको विश्वको सबैभन्दा ठूलो संरचना हुनेछ। आठ हातको आकृतिवाला हुनेछ, अक्सागन।
निओमका सीईओ नदमी अल–नस्रका अनुसार सन् २०२२ देखि नै उक्त बन्दरगाह शहरमा मानिसलाई राख्न थालिने छ। उक्त परियोजनाको पहिलो चरण सन् २०२५ सम्ममा पूरा गर्ने योजना छ।

तथापि, मरुभूमिको बीचमा पर्यावरण अनुकुल मापदण्ड पूरा गर्दै अत्याधुनिक शहर बसाउन सम्भव छ त ? अक्सफोर्ड युनिभर्सिटीका ऊर्जा विज्ञ डा. मनल सहाबी पनि यसमा द्विविधानमा देखिन्छन्। खासगरी, त्यो शहरमा खाद्यान्न कसरी जुटाउने भन्ने मुख्य प्रश्न रहेको बताउँछन्।
तर, निओम प्रोजेक्टले उक्त नयाँ शहर विश्वको सबैभन्दा बढी खाद्य आत्मनिर्भर शहर हुने दाबी गरेको छ। र, भर्टिकल फार्मिङमार्फत खाद्य पदार्थ उब्जाउने रणनीति उक्त प्रोजेक्टको छ। त्यो पनि साउदी अरेबियाका लागि ठूलो कुरा हुनेछ, जो अहिले ८० प्रतिशत खाद्यान्न अन्य मुलुकबाट आयात गर्छ।
तथापि, आलोचकहरूको दाबी छ, साउदीका राजकुमार मोहम्मद बिन सलमान देशको वास्तविक स्थितिबाट मानिसको ध्यान अन्यत्र मोड्न पर्यावरणसँग गाँसिएका ठूल–ठूला कुरा गरिरहेका छन्। उनले देशलाई हरित मुलुक बनाउन ‘गिगा प्रोजेक्ट’को कुरा गरिरहेको भन्नेहरू पनि छन्।
निओम प्रोजेक्टका समर्थकहरू पनि कम छैनन्। उनीहरू वायु र सौर्य ऊर्जामा निर्भर स्मार्ट र टिकाउ शहरको परिकल्पना मान्छन्, यसलाई। र, त्यो शहरमा पानीको आवश्यकता समुद्रको पानी सफा गरेर पूरा गर्न सकिने उनीहरूको निष्कर्ष छ।