सुदूरपश्चिमको पर्यटकीय क्षेत्र बडिमालिका क्षेत्रको प्रवर्द्धनका लागि हेलिटुर आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आगामी फागुन १ गतेदेखि १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित सो टुरको आयोजना गर्न लागिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) सुदूरपश्चिम प्रदेशले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवर्द्धक तथा नाट्टा सुदूरपश्चिम प्रदेश, माउन्टेन हेलिकोप्टर प्रालि, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सहकार्यमा आयोजना गरिने प्याकेजमा दिपायल खप्तड दिपायल, झिग्राना खप्तड झिग्राना, धनगढी र महेन्द्रनगरदेखि झिग्राना, दिपायल बडिमालिका दिपायल, दिपायल खप्तड बडिमालिका र साफेबगर बडिमालिका साफेबगरलगायत स्थानबाट सो क्षेत्रको अवलोकन गर्न जान सकिने व्यवस्था मिलाइएको छ। यात्रुलाई स्थानको हिसाबले रु १२ हजारदेखि रु ४० हजारसम्मको प्याकेज उपलब्ध गराइने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको बताए। कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रम सहयोगी हुने उनले विश्वास व्यक्त गरे। बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले सुदूरपश्चिम प्रदेश भारतका विभिन्न शहरसँग जोडिएकाले यो कार्यक्रममा भारतीय पर्यटकलाई समेत ल्याउन सकिने बताए।
नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले सुदूरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्यान्ड’ भएको उल्लेख गर्दै यो कार्यक्रमले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे। यस्तै, नाट्टा सुदूरपश्चिम प्रदेश सल्लाहकार नरेन्द्रदेव भट्टले सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना रहेकाले आर्थिक विकासका लागि त्यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए। माउन्टेन हेलिकोप्टरका महाप्रबन्धक डिलबहादुर ओलीले नाफाभन्दा पनि सो क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि लागत मूल्यमै कम्पनीले टुर प्याकेज ल्याएको जानकारी दिए।