लन्डन- प्रोफेसर सराह क्याथरिन गिल्बर्ट अक्सफोर्ड–एस्ट्राजेनेका खोप निर्माता बेलायती वैज्ञानिक हुन् । उनी भन्छिन्, ‘भविष्यमा आउने महामारीहरू अहिलेको कोरोना संकटभन्दा पनि घातक हुने छन् ।’
४४ औँ रिचर्ड डिम्बलबी व्याख्यानमा उनले भविष्यमा आउने महामारीहरूको सामना गर्न अधिक कोषहरूको निर्माण आवश्यक रहेको औँल्याइन् । ती प्रकोपहरूबाट मानव जातिलाई बचाउन अहिलेदेखि नै तयारी थाल्नु आवश्यक रहेको उनले बताइन् ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनमाथि अहिले तयार भएका खोपहरूको प्रभाव कम हुन सक्ने पनि उनले चेतावनी दिइन् ।
‘भाइरसबाट हाम्रो जीवन र आजीविकामाथि उत्पन्न भएको यो पहिलो खतरा होइन । भविष्यमा देखिन सक्ने महामारीले अझ जटिल अवस्था ल्याउन सक्छन्,’ उनले भनिन्, ‘ती महामारी अझ बढी संक्रामक र घातक हुन सक्छन् ।’
कोरोना महामारीबाट भएको आर्थिक नोक्सानीको सामना गर्न अहिले पर्याप्त कोषहरू नभएको उनले औँल्याइन् । ‘हामीले कोरोना महामारीलाई जसरी देख्यौँ र अनुभव ग¥यौँ, त्यो व्यर्थ जानु हुँदैन,’ उनले भनिन् ।
ओमिक्रोन स्पाइक प्रोटिनमा देखिएको म्युटेसन रहेको र त्यो अधिक संक्रामक रहेको उनले बताइन् । ‘यो भेरियन्ट केही फरक छ । यसबाट खोपले तयार पार्ने एन्टिबडी या अर्को भेरियन्टको संक्रमणपछि बन्ने एन्टिबडी ओमिक्रोन संक्रमण रोक्ने प्रभावी नहुन सक्छ,’ उनले भनिन्, ‘जबसम्म यस नयाँ स्ट्रोनका बारेमा अधिक जानकारी प्राप्त हुँदैन, तबसम्म यसको प्रसार कम गर्ने प्रयास जारी राख्नुपर्छ ।’
त्यसैले अन्य रोगहरू जस्तै इन्फ्लुएन्जाको रोकथामका लागि युनिभर्सल खोप विकास गर्नुपर्ने आवश्यकता उनले औँल्याइन् ।
सराह गिल्बर्टलाई यस वर्ष बेलायती महारानी एलिजाबेथ द्वितीयाको जन्मदिनमा ‘डेमहुड’ सम्मान प्रदान गरिएको छ । चीनको वुहानमा कोरोना भाइरस देखिएलगत्तै उनी त्यसविरुद्ध खोप बनाउन लागिपरेकी थिइन् । अक्सफोर्ड–एस्ट्राजेनेका खोप त्यसैको प्रतिफल हो । यो संसारभर व्यापक मात्रामा उपयोग गरिएको खोप पनि हो । १७० भन्दा बढी मुलुकमा यो खोप वितरण भइरहेको छ ।