नयाँदिल्ली- भारत राजस्थानका एक युवकले गन अप्रिलमा खराब भइसकेको आफ्नो पुरानो दालसँग साटे। केही दिनपछि उनलाई अन्जान नम्बरबाट कल आयो। र, फोन गर्नेले ब्ल्याकमेल गर्ने प्रयास गरे।
ब्ल्याकमेलिङ गर्न खोज्ने व्यक्तिले आफ्नो व्यक्तिगत र सेन्सेटिभ जानकारी कसरी पाएर भनेर उनी असमन्जसमा परे। पछि मात्र थाहा भयो, उनको पुरानो फोन प्राप्त गरेका व्यक्तिले व्यक्तिगत डेटा रिकोभर गरेर ब्ल्याकमेलिङको प्रयास गरेका रहेछन्।
त्यस्तै घटना उत्तरप्रदेशको आगरा जिल्लामा भयो। एक युवकले गत फेब्रुअरीमा आफ्नो पुरानो र बिग्रिसकेको फोन बिक्री गरेका थिए। मध्यप्रदेशको देवासका एक युवकले उनको फोन प्रयोग गरी ब्ल्याकमेलिङ गर्दै २० हजार रुपैयाँ मागे। पीडित युवक प्रहरीको शरणमा गए। प्रहरीले मध्यप्रदेशका ती युवकले प्रयोग गरेको फोन आगरामा तिनै युवकको नाममा दर्ता रहेको पत्ता लगायो।
त्यसपछि मात्र साइबर अपराधमा संलग्नहरूले पुराना फोन प्राप्त गरेर ब्ल्याकमेलिङ गर्ने गरेको खुलासा भयो। शुरुमा थोत्रा मोबाइल फोन खरिद गरेका व्यक्तिहरूबाट ब्ल्याकमेलिङमा संलग्न साइबर अपराधीहरूले किन्ने र अपराधलाई अन्जाम दिने गरेको खुलासा भयो।
साइबर ठगीको यो तरिका एकदमै खतरनाक मानिएको छ। किनकि, प्रहरी साइबर ठगहरूसम्म सहजै पुग्न सक्दैन। जब ब्ल्याकमेलिङको सूचना प्रहरीले पाउँछ, आईएमईआई नम्बरमार्फत मोबाइलको असली मालिकसम्म प्रहरी पुग्छ। जब कि, असली मालिक आफैं ब्ल्याकमेलिङको शिकार बनेको हुन्छ।
साइबर परामर्शदाता राहुल मिश्राका अनुसार हरेकको फोनमा व्यक्तिगत तस्बिर र भिडियोहरू हुन्छन्। जब फोन बिग्रिन्छ, केही पैसाको लालचमा त्यसलाई बिक्री गरिन्छ। र, साइबर अपराधीले त्यस्ता फोन प्राप्त गरेर ब्ल्याकमेलिङ शुरु गर्छन्। अनि आफूले प्राप्त गरेको रकमभन्दा धेरै गुणा बढी ब्ल्याकमेलरलाई बुझाउनुपर्छ।
बिग्रेर बेचिएका मोबाइल सेट मर्मत गराएर साइबर अपराधीहरूले पुराना तस्बिर र भिडियोहरू प्राप्त गर्छन्। डेटा रिकभर गराएर तिनलाई ब्ल्याकमेलिङका लागि प्रयोग गर्छन्। त्यही मोबाइलमा नयाँ सिम हालेर कुनै गम्भीर अपराधलाई पनि अन्जाम दिन्छन्। किनकि, त्यस फोनको असली मालिक ब्ल्याकमेलर हुँदैनन्। प्रहरीले भने असली मालिकलाई पक्राउ गरेर कारवाही अगाडि बढाउँछ।
बिग्रेका फोनमा यी कुरा दिऊँ ध्यान
– बिग्रेका मोबाइल सेटहरू सीधै कसैलाई बिक्री नगरौं
– मोबाइलले पूर्ण रूपमा काम गरेको छैन भने पनि बिक्री गर्दै नगरौं
– पुराना मोबाइल बिक्री गर्नैपर्ने भयो भने पनि पहिले त्यसलाई पूर्ण रूपमा फर्म्याट गराऊँ। किनकि, बिग्रेका फोनमा पनि तपाईंका डेटा सेभ रहन्छन्।
– पुराना फोनहरू फर्म्याट गरेर पनि सम्बन्धित कम्पनीको आधिकारिक मोबाइल स्टार्समा मात्र बिक्री गरौं।
– चिनजान नै नभएको व्यक्तिलाई त फोन बेच्दै नबेचौं। चिनजान भएको व्यक्तिलाई बेच्नु परे पनि उसको नियतमाथि पहिले प्रष्ट होऊँ।
– कुनै व्यक्तिलाई फोन बिक्री गर्दा उसको परिचय पत्रको कपी अवश्य लिऊँ।
– फोन बिक्री गरेको बखत आफ्नो फोनको आईएमईआई नम्बरसहित प्रुफ लेटर अवश्य लिऊँ।
कसरी गर्ने मोबाइल फर्म्याट ?
– आफ्नो मोबाइल रिसेट गर्न सबैभन्दा पहिले मोबाइलको ‘सेटिङ्स’मा जानूस्
– त्यसपछि स्क्रल गर्दा ‘ब्याकअप रिसेट’को अप्सन देखिन्छ। त्यसमा क्लिक गर्नूस्
– ‘ब्याकअप रिसेट’मा क्लिक गरेपछि ‘फ्याक्ट्री डेटा रिसेट’को अप्सन आउँछ। त्यसमा क्लिक गर्नूस्।
– त्यसपछि तपाईंका सबै व्यक्तिगत डेटा बिग्रेको फोनबाट हट्छन्। र, तपाईं सुरक्षित हुनु हुन्छ।