वासिङ्टन- ‘केवल एक चिजसँग हामीले डराउनुपर्छ, त्यो हो आफैंसँगको डर।’
यो भनाइ हो, दोस्रो विश्वयुद्धमा अमेरिकाको नेतृत्व गरेका राष्ट्रपति फ्र्यांकलिन डी रुजबेल्टको। उनी अमेरिकाको ३२औं राष्ट्रपतिका रूपमा ४ मार्च १९३३ देखि १२ अप्रिल १९४६ सम्म १२ वर्ष पदमा रहे। र, उनलाई अमेरिकाका सर्वाधिक महत्त्वपूर्ण र प्रभावशाली राष्ट्रपति मानिन्छ।
रुजबेल्टले अमेरिकालाई ग्रेट डिप्रेसनबाट बाहिर निकालेर दोस्रो विश्वयुद्धमार्फत आधुनिक कल्याणकारी राज्य बनाए। ३० जनवरी १८८२ मा न्युयोर्कको हाइडपार्कमा जन्मेका उनको १२ अप्रिल १९४५ मा निधन भयो। उनका पिता जेम्स रुजबेल्ट एक धनी व्यापारी थिए।
यी हुन् उनीबाट सिक्नुपर्ने ७ विषय
(१) कहिल्यै हार नमान
जीवनको उत्तरार्द्धमा उनलाई कम्मरमुनि प्यारालाइसिस भएको थियो। तर, उनले आफ्नो अपांगतालाई कहिल्यै स्वीकारेनन्। राजनीतिमा निरन्तर सक्रिय रहे। सबैभन्दा महत्त्वपूर्ण क्षणमा अमेरिकालाई निरन्तर नेतृत्व दिए।
(२) एक स्वाभाविक नेता बन
उनी एक स्वाभाविक नेता थिए। र, सधैं मानिसहरूलाई उत्प्रेरित गरिरहन्थे। त्यसैले उनले धेरै अनुयायी कमाएका थिए। उनी एक उच्चस्तरका कम्युनिकेटर पनि थिए। र, व्यक्तिगत रूपमा मानिसहरूसँग जोडिन सक्षम थिए।
(३) हिम्मतसाथ नयाँ सोच बनाऊ
रुजबेल्ट एक साहसी व्यक्तित्व थिए। उनी जोखिम उठाउन कहिल्यै डराउँदैनथे। उनी जेमा विश्वास गर्थे, त्यसका लागि चट्टानझैं उभिन्थे। सन् १९२९ मा अमेरिकी अर्थतन्त्र ग्रेट डिप्रेसनमा प्रवेश गरेको थियो। त्यसको समाधानका लागि उनले ‘द न्यू डिल’ नामक समाजवादी तरिका अगाडि सारे। र, त्यसमा सफलता पनि पाए। दोस्रो विश्वयुद्धमा उनले अमेरिकाको शानदार नेतृत्व गरे।
(४) सधैं आशावादी बन
उनी संयुक्त राज्य अमेरिकाको भविष्यमा विश्वास गर्थे। जतिसुकै कठिन समयमा पनि उनी आफ्नो विश्वासबाट टसको मस भएनन्। उनका नयाँ विचारसँग अमेरिकी नागरिकहरू पूर्ण भरोसा गर्थे। जो सहमत थिएनन्, उनले आफ्ना तर्कहरू मार्फत उनीहरूलाई मनाएका थिए।
(५) सधैं विनम्रता साथ काम गर
चारपटक अमेरिकाको राष्ट्रपति निर्वाचित भएर पनि उनले आफ्नो विनम्रता त्यागेनन्। उनमा पदको घमण्ड र अहंकार कहिल्यै देखिएन। त्यसको सकारात्मक प्रभाव उनको टिम बिल्डिङमा पनि देखिएको थियो।
(६) इमानदारीपूर्वक कम्युनिकेट गर
रुजबेल्ट एक इमानदार व्यक्तित्व थिए। उनले सधैं सत्य बोले, चाहे त्यो जतिसुकै कठोर किन नहोस्। जब जापानले पर्ल हर्बरमा आक्रमण गरेको थियो, उनले मुलुक, देशवासी र संसदमा सीधा आफ्ना कुरा राखे। जापानविरुद्ध युद्धको अनुमति मागे, युद्धमा उत्रिए र जित हासिल गरे।
(७) दूरदर्शी बन
रुजबेल्ट दूरदर्शी नेता थिए। अमेरिकाको भविष्यबारे उनमा एक सुष्पष्ट दृष्टि थियो। र, त्यो दृष्टि अमेरिकामा नागरिकलाई बुझाउन सक्ने सक्षम नेता थिए उनी। उनले दोस्रो विश्वयुद्धपछि जुन वर्ल्ड अर्डरको परिकल्पना गरेका थिए, उनको निधनपछि वास्तवमै त्यही वर्ल्ड अर्डर कायम भयो। आज आठ दशक बितिसक्दा पनि त्यही वर्ल्ड अर्डर कायम छ।