वायु प्रदूषणका कारण फोक्सो कमजोर भएकाले भारतीयहरूको कोभिडसित लड्ने क्षमतामा ह्रास आएको छ।
लु डेल बेलो
अञ्जू बर्मा र उनका परिवारका अन्य सदस्यहरूलाई सेप्टेम्बर २०२० मा कोरोना भाइरस संक्रमण भएको थियो। उनी बाल्यावस्थादेखि नै दमबाट पीडित भएकाले कोभिडले पार्ने प्रभावबारे धेरै डराएकी थिइन्। तर, रोग लागेको बेलामा उनका परिवारका अन्य सदस्यभन्दा आफ्नो अवस्था राम्रो भएकाले अचम्ममा परेकी यी ४७ वर्षीया होमियोप्याथिक चिकित्सकलाई कहिलकाहिँ सास फेर्न गाह्रो हुनेबाहेक अरू लक्षण देखिएको थिएन।
तर दुर्भाग्यवश, सञ्चो भएपछि पनि उनका ती अनुभवहरू पूर्ण रूपमा अन्त्य भएनन्। बर्मा भाइरसका कारण थला नपरेका तर संक्रमणपछि महिनौँसम्म पनि यसको दुष्परिणामबाट ग्रस्त मानिसहरूमध्ये एक हुन्। यस्तो अवस्थालाई ‘दीर्घ कोभिड’ भनिन्छ।
उनी भन्छिन्, ‘कोभिड-१९ भएपछिको ६ महिनामा श्वासप्रश्वासको समस्याबाट धेरै पीडित भएँ। त्यस बेलादेखि मलाई पाँचपटक दमले च्यापिसकेको छ। पहिले दमले मलाई यसरी च्याप्दैनथ्यो। कोभिड-१९ बाट पीडित भएपछि दमको समस्या बढेको छ। दीपावलीको आसपास, जब मौसम परिवर्तन र प्रदूषण बढ्छ, तब मेरो समस्या धेरै बढ्छ।’
दीपावली भारतमा हिन्दुहरूले मनाउने पर्व हो, जसमा मानिसहरू बत्ती बाल्छन् र देशका अधिकांश भागहरूमा आतसबाजी पनि गर्छन्। यसले वायु प्रदूषणमा वृद्धि हुन्छ, जसको प्रभाव धेरै दिनसम्म रहिरहन्छ।
कोभिड-१९को नयाँ लहरले भारतको ढोका ढकढक्याउँदा फेरि संक्रमण हुन सक्ने डरले अञ्जू आजकल घरमा एक्लै बस्छिन् र अनलाइन परामर्श मात्र प्रदान गर्छिन्।
भारतको वायु प्रदूषण र कोभिडबीचको सम्बन्ध
सन् १९९० देखि भारतमा दमका बिरामीहरूको संख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ। साथै, भारतमा वायु प्रदूषणका आँकडा संसारमै सबैभन्दा खराब पाइएका छन्। संसारका १० सबैभन्दा प्रदूषित शहरहरूमध्ये नौवटा भारतमा छन्। यस महामारीअघि नै प्रकाशित एक विश्वव्यापी अध्ययनले सन् २०१९ मा मात्र वायु प्रदूषणका कारण १६ लाख ७० हजारको मृत्यु भएको तथ्य उजागर गरेको थियो। यो भारतको कुल मृत्युको १८ प्रतिशत हो।

लामो समयसम्म नराम्रो गुणस्तरको हावामा सास फेर्नाले कोभिडको जोखिम अझ बढ्न सक्ने हालै भएका अनुसन्धानहरूले देखाएका छन् । अक्टोबर २०२० मा बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स र लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अमेरिकाका विभिन्न भागहरूको वायु प्रदूषणको स्तरलाई सोही ठाउँको कोभिड-१९ को अवस्थासँग तुलना गरेका थिए।
हावाको प्रतिक्युबिक मिटरमा आँखाले नदेखिने पीएम २.५ कणहरूको मात्रामा १ माइक्रोग्राम बढ्दा एक अमेरिकी काउन्टीमा कोभिड-१९को संक्रमण दर औसतभन्दा दुई प्रतिशतले बढ्ने गरेको उनीहरूले पत्ता लगाए। कोभिड-१९ संक्रमणको दर हावाको गुणस्तर खराब हुने र मानिसहरूले पीएम २.५ कणहरू (जसको व्यास २.५ माइक्रोमिटर वा सो भन्दा कम हुन्छ र जुन कण सीधै फोक्सोबाट रगतमा मिसिन सक्छ) भएको हावामा सास फेर्ने बेला बढेर गएको पाइएको थियो।
चीनको सन यात सेन विश्वविद्यालयको वातावरणीय विज्ञान स्कुलका एक अनुसन्धानकर्ता देवाशिष नाथ भन्छन्, ‘वायु प्रदूषणले महामारीमा दुई किसिमले असर गर्छ। यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्न सक्छ, जसले कोभिड-१९को जोखिम बढाउँछ।’
तर, पीएम २.५ का कणहरू पनि हावामा एक वाहकजस्तै व्यवहार गर्न सक्छन्। भाइरस तिनीहरूमा बस्न र त्यसमार्फत लामो समयका लागि हावामा रहन सक्छन्। नाथले महामारीको सुरुवाती चरणमा पाँच सयजना संक्रमित भएका २० भारतीय शहरहरूमा गरेको अनुसन्धानले प्रदूषणका साथै तापक्रम र आर्द्रताले पनि भाइरसका लागि उर्वर वातावरण निर्माण गर्न योगदान पुर्याउने देखाएको छ।
संक्रमणको प्रारम्भिक चरणमा कोभिड-१९का नयाँ केसहरू प्रायः ‘तापक्रम र आर्द्रता क्रमशः २७देखि ३२ डिग्री सेल्सियस र २५ देखि ४५ प्रतिशतसम्म हुने स्थानमा पाइएको’ नाथको टोलीले पत्ता लगाएको थियो। नाथ भन्छन्, ‘तापक्रम र आर्द्रतामा हावामा फैलिने कोरोना भाइरसको निकट निर्भरता छ।’
यी निष्कर्षका आधारमा तर्क गर्दै शोधकर्ताहरूले भविष्यमा हुने कोभिड-१९को महामारीमा कस्ता शहरहरू जोखिममा छन् भनेर हेर्न शहरहरूको पर्यावरणीय स्थितिलाई हेरेर मोडलहरू तयार गर्न सक्छन्। भाइरस समुदायमा फैलिसकेको छ र दिल्लीजस्ता शहरहरूमा भाइरसका लागि चाहिने तापक्रम र आर्द्रता हुनुले देशको राजधानीमा संक्रमण अझ फैलिने देखिन्छ।
डाक्टरहरू के भन्छन् ?
दिल्लीको होली फ्यामिली हस्पिटलमा नाजुक अवस्थामा रहेका बिरामीहरू सहित सयौँले स्याहार पाइरहेका छन्। यो अस्पताल देशकै उत्कृष्टमध्येको एक हो र गत वर्ष शुरु भएको कोभिड महामारीसित जुध्न यसले अग्रणी भूमिका वहन गर्दै आएको छ। बालरोग विशेषज्ञ दिनेश राज अस्पतालका कोभिड-१९ वार्डहरू सञ्चालन गर्न अहोरात्र खटिएका छन्।
‘कोभिडका बिरामीहरूलाई उपचार गर्दै जाँदा मैले के अनुभव गरेको छु भने जसको फोक्सो खराब छ, उसलाई रोगले पनि निकै सताउने गरेको छ,’ उनले भने, ‘र, प्रदूषणका कारण फोक्सो कमजोर हुने सिद्ध भइसकेको छ।’
मोटोपन, मधुमेह र उच्च रक्तचापजस्ता थुप्रै कारणले कुनै पनि बिरामीलाई रोगले पार्ने असर कस्तो हुन्छ भन्ने निर्धारण गर्छ।
प्रत्येक केसमा बिरामीको अवस्थाका लागि प्रदूषण कति जिम्मेवार छ भन्न गाह्रो छ, तर आमा र बच्चाको कुपोषणजस्ता कारणहरूले गर्दा भारतीयहरू औसतभन्दा कम क्षमता भएको फोक्सोका साथ जन्मेका छन्। त्यसमाथि वायु प्रदूषणजस्ता कारणहरूले फोक्सोलाई अझै कमजोर पार्छ,’ दिनेश राज भन्छन्, ‘युरोपमा जन्मिएको एकजना ४० वर्षीय र भारतमा जन्मिएको अर्काे ४० वर्षीयको फोक्सोले एकनास काम गर्दैन। हामी प्राकृतिक रूपमै कमजोर छौँ। अचेल हामी कुनै पनि दीर्घ रोग नभएका ३०-४० वर्षका मानिसहरू कोभिडका कारण अस्पताल भर्ना भएका र फोक्सोको समस्या भोगेका देख्न सक्छौँ।’
भारत, बंगलादेश र पाकिस्तानजस्ता छिमेकी देशहरूमा भाइरस नियन्त्रण गर्नु सजिलो नभएको उनले बताए। त्यसमाथि पनि लामो समयसम्म प्रदूषित हावामा सास फेरेकाले उनीहरूको फोक्सोको क्षमता कम भइसकेको छ। ‘एउटै कोठामा बस्ने ६ जनाको परिवारले कसरी भौतिक दूरी कायम गर्नु ? भाइरस कसरी सर्छ भनेर थाहा हुँदाहुँदै पनि हामी त्यसलाई रोक्न सक्दैनौँ,’ उनले भने, ‘यो महामारीले विश्वका अन्य देशहरूभन्दा भारतमा धेरै क्षति गर्नेछ। यसलाई रोक्न धेरै-धेरै गाह्रो छ।
(यो सामग्री द थर्ड पोल डट नेटले तयार पारेको हो।)