श्रीखण्ड चिन्नेहरूले मेरो कुरा सुने
खुर्पाको बिँड देख्नेहरूले कान थुने
मगजहरूको मात्र
भोट हात पारेँ
भुँडीहरूकै कारण
बुवा म त चुनाउ हारेँ।
मैले भविष्य फुलाउने
माटोको कुरा गरेँ
मैले जिन्दगी बनाउने
बाटोको कुरा गरेँ
सहुलियतभन्दा बढी
विकासको कुरा गरेँ
मानसिक दरिद्रता
निकासको कुरा गरेँ
मेरो मान्छे तान्ने क्याम्पेन भएन रे
भोजमा मासुभात र सेम्पेन भएन रे
इमानदारहरूको मात्र
भोट हात पारेँ
बेइमानहरूकै कारण
बुवा म त चुनाउ हारेँ।
मैले गाउँमा
पानी ल्याउने कुरा गरेँ
शहरका सुखहरू
तानी ल्याउने कुरा गरेँ
मैले नोकर होइन
मालिक बनाउने कुरा गरेँ
मालिक बनाउनेहरूको
सालिक बनाउने कुरा गरेँ
मेरो घोषणा–पत्रमा कुनै दम थिएन रे
खादासँग गान्धी पसेको खाम थिएन रे
सचेतहरूको मात्र
भोट हात पारेँ
अचेतहरूकै कारण
बुवा म त चुनाउ हारेँ।
मैले बाँझो मस्तिष्कका
डल्ला फुटाउने कुरा गरेँ
विकृतिविरुद्ध युवाहरू
जुटाउने कुरा गरेँ
मैले ज्ञानले युक्त
गाउँ बनाउने कुरा गरेँ
मैले नशामुक्त
ठाउँ बनाउने कुरा गरेँ
श्रीखण्ड चिन्नेहरूले मेरो कुरा सुने
खुर्पाको बिँड देख्नेहरूले कान थुने
मगजहरूको मात्र
भोट हात पारेँ
भुँडीहरूकै कारण
बुवा म त चुनाउ हारेँ।
मैले समय सापेक्षित
शिक्षाको कुरा गरेँ
भोटसित साटिने
भिक्षाको कुरा गरेँ
माटोको मूल्यबारे
गीता सुनाएँ
देवकोटा जीवन थिङको
कविता सुनाएँ
मेरो कवितामा छन्द भएन रे
काममा पर्सन्टेजको गन्ध भएन रे
खुट्टा टेक्नेहरूको मात्र
भोट हात पारेँ
घुँडा टेक्नेहरूकै कारण
बुवा म त चुनाउ हारेँ।
(रावत सिक्किमका वरिष्ठ पत्रकार तथा कवि हुन्।)