काठमाडौँ । एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् ।
लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन् । मल्लले सन्दीपसँग सम्पर्क भएको बताउँदैक्यान समक्ष आफू निर्दोष रहेको बताएको उनले जनाए ।
‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन्, कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्यो भनेका छन्,’ उनले भने, ‘ सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन् ।’
टी–२० र एक दिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीपमाथि छ ।
सन्दीपमाथि लागेको आरोपको खण्डन गर्दै कार्यबहाक सचिव मल्लले संस्थागत रुपमा क्यानले एक खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने बताए । ‘उ हाम्रो खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौँ भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने ? सन्दीप आरोपित मात्रै हुन्, सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ, हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ ।’
सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विण्डिजमा छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिबद्धता जनाए ।