मुम्बई- हालै प्रदर्शनमा आएको फिल्म ‘लालसिंह चड्डा’ फ्लप भएपछि बलिउड अभिनेता आमिर खानले उक्त फिल्म निर्माताबाट पारिश्रमिक नलिने घोषणा गरेका छन्।
११ अगस्टमा रिलिज भएको यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए। तर, फिल्म बक्स अफिसमा फ्लप भयो।
भारतका हलमा त चलेन–चलेन, यो फिल्मले विदेशमा पनि औसत प्रदर्शन गरेको छ। ठूलो बजेटमा निर्माण गरिएको फिल्मले ६० प्रतिशतभन्दा माथि कमाइ गर्न सकेको छैन। सोही कारण आमिरले पारिश्रमिक नलिने बताएका हुन्। हालसम्म लिएको पारिश्रमिक पनि फिर्ता गर्ने घोषणा आमिरले गरेका छन्।
यदि आमिर पारिश्रमिक लिए भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैयाँ नोक्सान हुनेछ। यस्तो अवस्थामा आमिरले आफैं नोक्सानको भरपाइ गर्ने निर्णय लिएका हुन्।
आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैंले लिएका छन्। उनले फ्लपको दोष अरू नदिन चाहेका छन्। फिल्मका लागि उनले चार वर्ष समय दिएका थिए। तर, उनले एक पैसा पनि प्राप्त नगर्ने भएका छन्। फिल्मका लागि उनको पारिश्रमिक सय करोड भारतीय रुपैयाँभन्दा बढी थियो। उक्त फिल्ममा आमिरबाहेक करिना कपुर, मोना सिंह र नागार्जुनको पनि अभिनय छ। यो सिनेमा हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो।