काठमाडौँ । हरेक वर्ष भाद्र शुक्ल द्वितीयको दिन विशेष पौष्टिक भोजन गरेर भोलिपल्ट तृतीयाका दिन हरितालिका तीज व्रत बस्ने गरिन्छ ।
आफ्नो शरीरको शक्तिअनुसार निराहार, जलाहार, फलाहार, एकभक्त (एकपटक मात्र खाने) र अत्यन्ताशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत बसेर दीप, कलश र गणेशको पूजा गरी उमामहेश्वरको पूजा गर्ने परम्परा रहिआएको छ ।
यो वर्षको तीजले पनि सबै नेपाली नारीलाई छोइसकेको छ । यस तीज विशेषमा अभिनेत्रीहरूको तीज अनुभव यहाँ साभार गरिएको छ ।
दिपाश्री निरौला
यो वर्षको तीज दिदी, बुवासँग काठमाडौँमै मनाउँदै छु । म अरुले झै कठोर व्रत त बस्दिनँ । तर, बिहान भगवान्को पूजा गरिसकेपछि फलफूल, पानी खाएर व्रत बस्छु । व्रत सबैले आ–आफ्नो इच्छाले बस्नुहुन्छ ।
म पनि आफ्नै इच्छाले मेरो स्वास्थ्यका लागि व्रत बस्छु । हप्तामा एकदिन व्रत बस्दा स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने भनाइ छ । सोहीअनुरुप व्रत बस्दा स्वास्थ्यलाई राम्रो हुन्छ भनेर नै हरेक वर्ष तीजको व्रत बस्ने गरेकी छु ।
अहिलेको भन्दा त १०–१२ वर्षको अघिको तीज साह्रै राम्रो थियो । पहिले दर खाने भनेपछि भोलिपल्ट व्रत छ भनेपछि आजको दिन दर खाइन्थ्यो । तर, आजभोलि भने तीज आउन एक महिना बाँकी हुँदै दर खाने चलन आएको छ । यसो हेर्दा पछिल्लो समय तीज भड्किलो हुँदै गएको महशुस भएको छ ।
पहिले तीजका भाका, गीत कति राम्रा हुन्थे । अहिले गीतहरू खाई कस्ता–कस्ता ? पश्चिमी संस्कृति हाबी भएको जस्तो पनि देखिन्छ । तर, हामीले हाम्रो मौलिकतालाई बिर्सनु हुँदैन । तीज पारिवारिक माहोलमा रमाइलो गर्ने पर्व भएकाले यसमा साथीभाइ, आफन्तजन, इष्टमित्र सबैसँग आफ्नो परम्परा, संस्कृतिअनुसार मनाउँदा उचित हुन्छ । व्रतालु महिलाले पनि आफ्नो स्वास्थ्य अवस्थाबारे ख्याल गरेर व्रत बस्न अनुरोध गर्छु ।
करिश्मा मानन्धर
दर खाने दिन दिउँसो आमाकहाँ गएर दर खाएर आएर साथीहरू बैनीसँग घरमै दर खाएँ । आज तीजको व्रत बसेकी छु । पहिलो जस्तो व्रत बस्दिँन । म क्षेत्री परिवारमा जन्मेकी भएर व्रत बस्छु । तर, बिनोदजीको घरतिर धेरै व्रत बस्ने चलन छैन ।
मलाई थाहा भएजस्तो काठमाडौंका सबै नेवारहरुले व्रत बस्नु हुन्छ । म पनि बस्छु । तर, पानी नखाई कठोर व्रत भने बस्दिनँ । व्रत बसेको दिन बिहान भगवान्को पूजा गरिसकेपछि पानी, दुध, चिया, फलफूल खान्छु ।
सानोबेला मामाघर सिन्धुपाल्चोक बसेकी हुँ । हजुरआमाले गर्ने तीज अर्कै किसिमको देख्थे । हजुरआमा बिहानै उठेर खोलामा गएर नुहाउने, सबैजना जम्मा भएर भगवान्को पूजा गर्ने, तीजका कथाहरु सुन्ने, नाचगान गर्ने गर्नुहुन्थ्यो ।
म १५ वर्षको हुँदा काठमाडौँ आएपछि राति २ बजे लाइनमा लागेर पशुपति पूजा गर्थें । सबै कुरामा परिमार्जन हुँदै आएर आजभोलि महिनौँ अघिदेखि दर खाइन्छ ।
तीज भनेको हाम्रो संस्कृतसँग जोडिएको विशेष पर्व हो । दर भनेको माइतीले चेलीलाई खुवाउने हो । त्यसैले माइतीले छोरीलाई दिएको जे पनि विशेष लाग्ने भएकाले दर भनेको सुन्ने बित्तिकै विशेष लाग्छ ।
त्यसैले छोरीचेलीलाई ‘माइतीको कुकुर पनि प्यारो’ भन्ने गरिन्छ । हामीलाई त माइतीको हरेक कुरा प्यारो लाग्छ । तीज आउँदा अलग्गै हर्ष छाउँछ । हामीले आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै तीज मनाउन बिर्सनु हुँदैन ।