काठमाडौं- फिल्म ‘बाबरी’को सुटिङमा अभिनेत्री अदिती बुढाथोकी तथा अभिनेताद्वय धीरज मगर र धीरज नाड्करको ‘बोन्डिङ’ साँच्चै लोभलाग्दो थियो। उस्तै उमेरका यी तीन कलाकारले वर्षौं पुराना साथीझैं आपसी सम्बन्ध बनाएर फिल्म युनिटकै मन जितेका थिए।
उनीहरूमध्ये अदिती र धीरज मगर फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन्। त्यो पनि ‘बाबरी’कै निर्माताको फिल्ममा। अदितीको होम प्रोडक्सन ‘बाबरी फिल्मस’को पहिलो चलचित्र हो ‘बाबरी’। उनका बुवा गणेश बुढाथोकी र आमा पुष्पलताले छोरीको करिअर उजिल्याउन योगदान दिएका छन्, होम प्रोडक्सनमार्फत। ‘बाबरी फिल्मस्’कै ब्यानरमा निर्माण हुँदैछ, नयाँ चलचित्र।
नयाँ चलचित्रको जानरा कस्तो होला ? सबैको जिज्ञासाको विषय हो यो। किनकि, अदितीको डेब्यु फिल्म ‘कृ’ प्रेमकथामा आधारित चलचित्र थियो। ‘बाबरी’ पनि त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र हो, जुन १४ असोजमा सार्वजनिक प्रदर्शनमा आउँदै छ।
यस्तै, आफ्नो डेब्यु फिल्म ‘इन्टु मिन्टु लन्डनमा’मा धीरज पनि प्रेमकथामै रमाएका थिए। उनको दोस्रो फिल्म ‘आई एम २१’मा पनि उनी लभब्वायकै भूमिकामा छन्, जुन प्रदर्शनमा आउन बाँकी छ। ‘बाबरी’ पनि उनको भूमिका लभब्वायकै छ।

निर्माता पुष्पलता बुढाथोकी, बाबरी फिल्मस्
‘नयाँ फिल्म एक्सन समेटिएको प्रेमकथामा आधारित चलचित्र हुनेछ,’ फिल्मकी निर्माता पुष्पलता बुढाथोकी भन्छिन्, ‘यस चलचित्रकी पात्र दुरुस्तै अदितीसँग मेल खाने भएकाले उनलाई नै छनोट गरिएको हो।’
नयाँ चलचित्रको अर्को रमाइलो संयोग पनि छ। नयाँ फिल्मको कथा अदितीका बुवा गणेश बुढाथोकीका साथीले लेखेका छन्, जो अमेरिकामा बस्छन्। अहिले पटकथा लेखन धमाधम छ।
नयाँ फिल्मको नाम भने जुराइएको छैन। पटकथा सकिएपछि मात्र नाम घोषणा गर्ने योजनामा फिल्म युनिट छ। त्यसैले यो ‘बाबरी फिल्मस्’को अनटाइटल्ड प्रोजेक्ट हो। फिल्ममा अदिती र धीरजबाहेक अन्य कलाकार पनि अनुबन्धित हुन बाँकी छ।
चलचित्रका बारेमा आगामी दिनमा थप स्पष्ट पार्दै लगिने निर्माता बुढाथोकी बताउँछिन्। अहिलेलाई फिल्म युनिटले आगामी फागुनदेखि सुटिङ थाल्ने योजना मात्र बनाएको छ।
‘बाबरी फिल्मस्’को पहिलो चलचित्र ‘बाबरी’बाट राम्रो अपेक्षा गरेको छ, फिल्म युनिटले। किनकि, फिल्म प्रदर्शनमा आउनुअघि नै यसका गीतहरूले बजार पिटिसकेका छन्। ‘बाबरी’को टिजर र ‘ट्रेलर’ दुवैबाट फिल्म युनिटले राम्रो प्रतिक्रिया पाएको छ। त्यसैबाट उत्साहित हुँदै ‘बाबरी फिल्मस्’ले नयाँ अनटाइटल्ड प्रोजेक्ट शुरु गरेको हो।