काठमाडौं- जुम्लाको दुर्गम गाउँ तिर्खुबाट फिल्म ‘प्रकाश’को विश्वव्यापी प्रिमियर गरिएको छ।
उक्त फिल्म ४५ दिनसम्म सोही गाउँमा छायांकन गरिएको थियो। तिर्खु गाउँमा सिनेमा हल नै छैन। पातारासी गाउँपालिकामा पर्ने तिर्खुस्थित ऋणमोक्ष मावि परिसरमा स्थानीय बासिन्दाको उपस्थितिमा उक्त फिल्मको प्रिमियर गरिएको हो।
फिल्म युनिटले प्रोजेक्टरको माध्यमबाट सिनेमा देखाएको हो। उक्त गाउँमा बिजुली पनि छैन। सोही कारण फिल्म युनिटले जेनेरेटर चलाएर फिल्म देखाएको छ। फिल्मको प्रिमियरमा अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी उपस्थित थिए। दुवैलाई स्थानीयवासीले झाँकी र स्थानीय संस्कारअनुसार फूलमाला र फेदा लगाइदिएका थिए।
निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रूपमा त्यहींका बासिन्दामाझ फिल्मको प्रिमियर गरिएको बताए। प्रिमियरमा उपस्थित स्थानीय जनताहरुले आफ्नो भोगाई फिल्ममा हेर्न पाएको भन्दै प्रशंसा गरेका थिए। प्रिमियर पछि एक स्थानीय बासिन्दाले फिल्म हेर्दै गर्दा आफ्नै भाइ, छोरा, छोरी, आमालाई नै पर्दामा देखेको जस्तो अनुभुति भएको प्रतिक्रिया दिए।