काठमाडौं- ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धरान उपमहानगरका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो। स्वतन्त्र रूपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उनीहरूको चर्चा चुलिनु स्वाभाविकै थियो। सामान्य साइकलमा हिँड्ने राईको जीवनयात्राले धेरै नेपालीको मन जित्यो।
अहिले पनि राई नगरका सामान्य काममा आफैं खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उनीप्रति सकारात्मक भाव बढ्दो छ। दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्लान् ? मूल्यांकन हुने समय आइसकेको छैन। यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उनीहरूका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो।
प्रथाले लामालामा कपालमाथि नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राईको क्यारिकेचर बनाएका छन् भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर शाहको क्यारिकेचर तयार पारेका छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको दुवै मेयरका क्यारिकेचर चित्र आकर्षक बन्न पुगेका छन्। आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनः स्मरण गरिरहेका छन्।
क्यारिकेचरले समाजसँग प्रत्यक्ष संवाद गर्छ। त्यसैले समाज रूपान्तरणको संवाहक पनि हो क्यारिकेचर। कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्यम हो। कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्त्वपूर्ण हुने अग्रज कलाकारको प्रतिक्रिया छ। प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उजागर गर्ने प्रयास गरेका छन्।
क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन। सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन्। हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो। बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ। बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ। तर, लेख्य विधामा उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ। मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो।
कलाभित्रको तिखो व्यंग्य कार्टुन हो भने त्यसभन्दा फरक व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर भएको कला समीक्षक रमेशनाथ खनाल बताउँछन्। उनका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवंगत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरको रूपमा लिइन्छ। नेपालमा परिस्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको स्थापनापछि भएको हो। कला समीक्षक खनाल चित्रगत स्वस्थता, रंगत सौन्दर्य, भावगत सम्प्रेषण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउँछन्।
क्यारिकेचरबारे कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्छन्, ‘अनुहारको व्यंग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो।’ यसपटक नाफा र कार्टुनिस्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई समेट्ने प्रयासस्वरुप गएको पुसमा प्रशिक्षण दिएको थियो। त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ। जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छन्।
अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सीताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरण मानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ। कूल ४१ जनामध्ये १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन्।