काठमाडौं– परदेस, शहरजस्ता धेरै चलचित्रमा काम गरिसकेकी भारतीय अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।
अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एक भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
उक्त भिडियोमा महिमा भन्छिन्, ‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष नियमित स्वास्थ्य परीक्षण गर्थें । सोही क्रममा मैले मेरो परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म कसैलाई साथ नलिई डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो जाँच गरे र मलाई स्तन क्यान्सर भएको पुष्टि भयो।’ महिमाले भिडियोमार्फत धेरै कुरा भनेकी छन् ।
उनी भन्छिन्, ‘सबैले भनिरहेका थिए खुशीको कुरा छिट्टै थाहा भयो, किन रोएको? तर क्यान्सर शब्द सुन्दा मात्रै डर लाग्छ । यही कारणले गर्दा मैले यो कुरा मेरा आमाबुवासँग पनि भनिँन ।
परिवारबाट पाएको सहयोगबारे महिमा भन्छिन्, ‘मेरो परिवारमा सबै साहसी छन्, म त्यस्तो थिइनँ । म सधैं रोइरहन्थें । त्यसपछि मैले एउटा सानो बच्चालाई भेटें। मैले उनको आवाज सुनें र उनले मलाई बल दिए । मैले उसलाई केमोको समयमा देखेँ र मैले उनीसँग कुरा गर्ने प्रयास गरें।
मैले बच्चालाई भने, ‘तिम्रो औषधि कति थोरै र मेरो औषधि कति धेरै छ,’ उसले मलाई भन्यो,‘ ‘यही कुराले हामीलाई सन्चो बनाउँछ ।’