बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ (केके)को मंगलबार राति कोलकातामा निधन भएको छ। ५३ वर्षीय उनी केकेको नामबाट परिचित थिए।
उनी कोलकाता महानगरको एक कलेजको समारोहमा सहभागी हुन आएका थिए। कार्यक्रमकै दौरान उनको स्वास्थ्य बिग्रिएको बताइएको थियो।
कार्यक्रमस्थलबाट होटल पुग्नासाथ उनलाई एक निजी अस्पतालमा लगियो। सोही अस्पतालमा चिकित्सकहरूले उनको निधन भइसकेको बताए। उनको शव पोस्टमार्टमका लागि पठाइएको छ।
पश्चिमबंगालका मन्त्री अरुप विश्वासका अनुसार हृदयाघातका कारण उनको निधन भएको प्रारम्भिक अनुमान छ।
तमिल, तेलगु, कन्नड, मलायलम, मराठी, बाङ्ला, गुजरातीलगायत सिनेमामा गीत गाउने केके कोलकाताको गुरुदास कलेजको समारोहमा सहभागी हुन आएका थिए।
फिल्म ‘हम दिल दे चुके सनम’मा ‘तडप तडप के इस दिल से’, फिल्म ‘ओम शान्ति ओम’मा ‘आँखों मे तेरी’ लगायत उनका दर्जनौं चर्चित गीत छन्। बलिउड पार्श्व गायनमा उनको डेब्यु पनि ‘हम दिल दे चुके सनम’बाट भएको थियो।