युक्रेन- युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार सपिङ सेन्टरमा भएको घातक आक्रमणको एक दिन पछि पुनः आक्रमण भएको हो ।
किएभको सैन्य प्रशासनले ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेपछि राजधानीको डार्निट्स्की जिल्लाको गोदाममा आगलागी भएको रिपोर्ट गरेको छ । प्रारम्भिक जानकारीअनुसार, एकजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको प्रशासनले जनाएको छ ।
क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी शहर जापोरिझियामा भएको रूसी ड्रोन आक्रमणका कारण एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिवी रिहको व्यस्त सपिङ सेन्टरमा भएको ड्रोन आक्रमणमा १६ जनासहित शुक्रबार भएको शृखलाबद्ध रूसी बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ ।
क्षेत्रीय सैन्य गभर्नर ओलेक्सान्डर गान्जाका अनुसार रातभरि उद्धार कार्य जारी रहेको थियो भने दुई बच्चासहित नौ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।
आक्रमणमा २३ बालबालिका सहित १३० जना घाइते भएको उद्धार तथा राहत सेवाले जनाएको छ ।
यस वर्ष आक्रमणमा उच्च सङ्ख्यामा नागरिकको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
युक्रेनी सेनाहरूले ब्यालिस्टिक मिसाइलहरू रोक्न ससङ्घर्ष गरिरहेका] समयमा रूसले आफ्नो आक्रमणहरू बढाउँदा किएभले आफ्ना सहयोगीहरूलाई थप समर्थनका लागि बारम्बार अपिल गरेको छ ।
दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न वार्ताको टेबलमा आउन मस्कोलाई दबाब दिन युक्रेनले हालैका महिनाहरूमा रूस माथि प्रतिशोधात्मक आक्रमणहरू बढाएको छ ।