काठमाडौं- आज २२ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर याद दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९२२- आइरिस राजनीतिकर्मी माइकलको हत्या
सन् १९२२ मा आजकै दिन आइरिस राजनीतिकर्मी माइकल कोलिन्सको गोली हानी हत्या गरिएको थियो। उनीमाथि आयरल्यान्डको पूर्ण स्वतन्त्रता पक्षधर सिन फेन नामक राजनीतिक दलका सदस्यले गोली प्रहार गरेका थिए। माइकललाई आयरिस फ्री स्टेटको अर्थमन्त्री नियुक्त भएको केही महिनापछि गोली प्रहार गरी हत्या गरिएको थियो।
– सन् १९६२- फ्रान्सका राष्ट्रपतिमाथि घातक आक्रमण
सन् १९६२ मा आजकै दिन फ्रान्सका तत्कालीन राष्ट्रपति चार्ल्स डे गाउलीमाथि घातक आक्रमण भएको थियो। ‘अर्गानाइजेसन डे लार्मी सेक्रेट (ओएएस)’ नामक धुर दक्षिणपन्थी समूहले उनीमाथि मेसिन गनमार्फत गोली प्रहार गरेको थियो। पत्नीसहित विमानस्थलतर्फ जाँदै गरेका उनी आक्रमणबाट बालबाल बचेका थिए। हत्या प्रयासको नेतृत्व फ्रान्सकै वायु सेनाका अधिकृत हुवाँ मेरी ब्यास्टियन थिरीले गरेका थिए। अफ्रिकी मुलुक अल्जेरियालाई स्वतन्त्रता दिने राष्ट्रपति गाउलीको निर्णयसँग उनी र ओएएस असहमत थिए। गोली प्रहार गर्ने थिरीको सरकारी सेनाले गोली हानी हत्या गरेको थियो।
– सन् १९६३- अन्तरिक्षमा दुईपटक प्रवेश गर्ने पहिलो व्यक्ति
सन् १९६३ मा आजकै दिन अमेरिकी एयरफोर्सका क्याप्टेन जोसेफ ए. वाकरले अन्तरिक्षमा दोस्रोपटक प्रवेश गर्ने व्यक्तिको रेकर्ड राखेका थिए। उनले एक्स-१५ नामक प्रायोगिक हाइपरसोनिक रकेट-सञ्चालित विमानमार्फत उक्त रेकर्ड राखेका थिए। एक्स-१५ अमेरिकी वायु सेना र नासाले संयुक्त रूपमा निर्माण गरेका थिए। उनी नै १२ मिनटको उडानमा अन्तरिक्षमा १०८ किलोमिटर उचाईसम्म पुग्ने पहिलो व्यक्ति पनि थिए।
– सन् २०१७- भारतमा तीन तलाक प्रतिबन्धित
सन् २०१७ मा भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा प्रचलित तीन तलाकको पारपाचुकेमाथि प्रतिबन्ध लगाएको थियो। मुस्लिम समुदायमा पत्नीलाई ‘तलाक तलाक तलाक’ भनेपछि अटामेटिक पारपाचुके बुझ्नुपर्ने जंगली व्यवस्थाविरुद्ध अदालतको उक्त आदेश आएको थियो।
– सन् २०१८- साइबेरियामा हाइब्रिड मानिस फेला
सन् २०१८ मा रुसको साइबेरियामा ९० हजार वर्ष पुरानो मानव अवशेष फेला परेको थियो। त्यस अवशेषलाई आधा नियान्डरथल र आधा डेनिसोभानको आकृति उक्त अवशेषमा पाइएको वैज्ञानिकहरूले बताएका थिए। त्यो भनेको आधुनिक मानव बन्ने क्रममा उक्त विकास क्रम पाइएको थियो।
– सन् २०२४- हालसम्मकै ठूलो हीरा फेला
सन् २०२४ मा आजकै दिन शताब्दीकै ठूलो हीरा फेला परेको थियो। अफ्रिकी मुलुक बोत्स्वानाको एक खानीमा २ हजार ४९२ क्यारेटको हीरा फेला परेको थियो।