काठमाडौं- आज २६ मे। विश्व इतिहासका असंख्य घटनाले आजको दिन देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९०८- मध्यपूर्वमा पहिलो ठूलो तेल भण्डार फेला
सन् १९०८ मा आजकै दिन इन्जिनियरहरूले मध्यपूर्वको पहिलो ठूलो इन्धन भण्डारको खोजी गरेका थिए। इरानको मस्जिद सोलेमानको खोजीले इरानभित्र र विश्व राजनीति र अर्थ व्यवस्थामै ठूलो प्रभाव पारेको थियो। विश्वका आधा तेल भण्डार मध्यपूर्वमा स्थित छन्।
– सन् १९७०- रुसी विमानको व्यावसायिक उडान
सन् १९७० मा आजकै दिन रुसी विमान टुपलेभ टीयू-१४४ को पहिलो व्यावसायिक उडान भएको थियो। उक्त विमानलाई कन्कार्डस्की उपनाम पनि दिइएको थियो। सुपर सोनिक कन्कर्ड विमान सेवामा आउनु २ महिनाअघि सन् १९६८ मा उक्त विमानले पनि पहिलो परीक्षण उडान गरेको थियो।
– सन् १९७२- अमेरिका-सोभियत ब्यालिस्टिक मिसाइल सन्धि
सन् १९७२ मा आजकै दिन अमेरिका र तत्कालीन सोभियत संघबीच ब्यालिस्टिक मिसाइलसम्बन्धी सन्धि भएको थियो। उक्त सन्धिले परमाणु मिसाइलविरुद्ध एन्टी-ब्यालिस्टिक मिसाइल खडा गर्न मार्गप्रशस्त गरेको थियो। शीतयुद्धको दौरान दुई महाशक्तिबीच भएको यो सबैभन्दा महत्त्वपूर्ण सन्धि थियो।
– सन् २००६- जाभा भूकम्पमा मारिए ५७ सय
सन् २००६ मा इन्डोनेसियाको जाभामा गएको शक्तिशाली भूकम्पमा परी ५ हजार ७०० जनाको ज्यान गएको थियो। भूकम्पमा परी २ लाख जनसंख्या घरबारविहीन भएको थियो। ६.३ रेक्टर स्केलको भूकम्पबाट योग्याकार्ता क्षेत्र बढी प्रभावित भएको थियो।
– सन् २०१९- सगरमाथामा गयो ९ पर्वतारोहीको ज्यान
सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा ९ जना पर्वतारोहीको ज्यान गएको थियो। सगरमाथामा अत्यधिक भीडका कारण उक्त घटना भएको थियो।
– सन् २०२१- फेरी समुद्रमा डुब्दा १५० मारिए
सन् २०२१ मा आजकै दिन डेढ सयजना बोकेको फेरी समुद्रमा डुब्दा १५० जनाको ज्यान गएको थियो। नाइजेरियाका नाइजर र केब्बी राज्यबीचको समुद्रमा उक्त घटना भएको थियो। फेरीमा सवार २० जनाको मात्र सकुशल उद्धार गरिएको थियो।
– सन् २०२३- सुडानको लडाईंमा ८२८ मारिए
सन् २०२३ मा अफ्रिकी मुलुक सुडानमा चलेको ६ साताव्यापी लडाईंमा ८२८ सर्वसाधारणको ज्यान गएको थियो। घटनामा ३ हजार ६८८ जना घाइते भएका थिए।
– सन् २०२४- रफा क्याम्प आगलागीमा गयो ३५ को ज्यान
सन् २०२४ मा आजकै दिन गाजाको रफा क्याम्पमा भएको आगलागीमा परी ३५ जनाको ज्यान गएको थियो। उक्त क्याम्प विस्थापित प्यालेस्टिनीहरूका लागि बनाइएको थियो। सोही क्याम्पमा लक्ष्य गरी इजरायलले गरेको हवाइ आक्रमणका कारण आगो लागेको थियो। मारिनेमध्ये अधिकांश महिला र बालबालिका थिए।