कायरो- ‘स्ट्रेट अफ होर्मुज’मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको बेलायती समुद्री निगरानी निकायले जनाएको छ । यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको हो ।
युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको सूचना प्राप्त भएको हो ।
यूकेएमटीओले जहाजको झण्डा, कार्गो वा अन्य विवरण सार्वजनिक गरेको छैन । बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेले जहाजमा क्षति पुगेको जनाए पनि थप विवरण खुलाएको छैन ।
‘स्ट्रेट अफ होर्मुज’ विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो । फेब्रुअरीयता इरानसँगको द्वन्द्वका कारण यस क्षेत्रमा समुद्री सुरक्षा चुनौतीपूर्ण बनेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको बताउनुभएको छ । तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट गर्दै आफूले ओमानसँग मात्र ‘स्ट्रेट अफ होर्मुज’मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा छलफल गरिरहेको जनाएको छ ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गर्नुभयो । ट्रम्पले भने इरानले वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक मध्यस्थताको प्रयास जारी रहेको बताउनुभयो । उहाँले समाधानका लागि संवादलाई प्राथमिकता दिइएको उल्लेख गरे पनि वार्तासम्बन्धी थप विवरण खुलाउनुभएन ।
यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित एक ‘संवेदनशील लक्ष्य’मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अरबले उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
उता गाजामा सन् २०२३ को इजरायली हवाई आक्रमणमा मारिएकामध्ये भग्नावशेषमुनि पुरिएका ११२ प्यालेस्टिनीको शव निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको छ । उद्धार टोलीले १३६ घण्टासम्म खोजी गरेपछि शव फेला पारेको गाजाको सिभिल डिफेन्सले जनाएको छ ।
यस्तै, लेबनानको बेरुत बन्दरगाह विस्फोटको पाँचौँ वर्षमा पीडित परिवारजनले घटनास्थलमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । सन् २०२० मा भएको उक्त विस्फोटमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अनुसन्धान अझै टुङ्गोमा नपुगे पनि यस वर्षभित्र अभियोगपत्र दर्ता गर्ने प्रतिबद्धता लेबनान सरकारले जनाएको छ ।