काठमाडाैँ । बिहे गर्नु र त्यसलाई टिकाई राख्नु दुई फरक कुरा हुन् । केही एक–दुई पटक विवाह अनुभवको लागि पर्याप्त हुने मान्छन्।
तर बलिउडमा यस्ता धेरै कलाकार छन्, जसले एक वा दुई पटक होइन तीनभन्दा बढी विवाह गरेका छन् । यहाँ तिनै बलिउड सेलिब्रेटीहरू चर्चा गरिएको छः
किशोर कुमार
हिन्दी फिल्म उद्योगमा किशोर दा भनेर चिनिने किशोर कुमारले चार विवाह गरेका थिए। यी प्रसिद्ध गायिकले सन् १९५० मा बंगाली अभिनेत्री रुमा गुहा ठाकुरतासँग विवाह गरेका थिए । उनीहरूको विवाह आठ वर्षसम्म टिक्यो । त्यसपछि सन् १९६० मा किशोर कुमारले सिल्वरस्क्रिन क्वीन भनेर चिनिने मधुबालासँग विवाह गरे। ९ वर्षपछि मधुबालाको मृत्युसँगै यो प्रेमकथाको पनि अन्त्य भयो । किशोर कुमारकी तेस्रो पत्नी बलिउड अभिनेत्री योगिता बाली थिइन् । उनीहरुको विवाह दुई वर्षसम्म अघि बढ्यो र त्यसपछि सम्बन्धविच्छेदमा टुंगियो । सन् १९८० मा किशोर कुमार पुन बलिउड अभिनेत्री लीना चन्दावरकरसँग प्रेममा परे र विवाह गरे । विवाह गरेको सात वर्षपछि किशोर कुमारको निधन भयो ।

सञ्जय दत्त
सञ्जय दत्तकी हालकी श्रीमती मान्यताअघि उनले दुई जनासँग विवाह गरेका थिए । दत्तकी पहिलो श्रीमती ऋचा शर्माको सन् १९९६ मा ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो । सन् १९९८ मा सञ्जय दत्तले मोडल रिया पिल्लईसँग विवाह गरे । दुई जनाले सन् २००५ मा सम्बन्धविच्छेद गरे । त्यसपछि सन् २००८ मा यी अभिनेताले मान्यता दत्तसँग विवाह गरे। यो जोडीको दुई साना जुम्ल्याहा सन्तान छन् ।

कमल हसन
दक्षिण भारतीय फिल्मका सुपरस्टार तथा राजनीतिज्ञ कमल हसनको पहिलो विवाह सन् १९७८ मा शास्त्रीय गायिका वाणी गणपतिसँग भएको थियो । १० वर्षपछि यी दुई अलग भए । कमलले त्यसपछि अभिनेत्री सारिकासँग विवाह गरे । सारिका र कमलका दुई सन्तान, श्रुति हसन र अक्षरा हसन छन्। उनीहरूले पनि २००४ मा सम्बन्धविच्छेद गरे। त्यसपछि हसन अभिनेत्री गौतमीसँग लिभ इन रिलेशनशिपमा बस्न थाले । दुईले विवाह गरेको हल्ला चलेको थियो तर उनीहरुले भने त्यसको औपचारिक घोषणा भने गरेनन् । पछि सन् २०१६ मा यो जोडीले सम्बन्ध टुटेको घोषणा गरेका थिए ।

निलिमा अजिम
यो सूचीमा एक मात्र अभिनेत्री नीलिमा अजीम परेकी छन् । निलिमा शाहिद कपुरकी आमा हुन् । अजीमको पहिलो विवाह सन् १९७५ मा बलिउड अभिनेता पंकज कपूरसँग भएको थियो । यो विवाहबाट शाहिद कपुरको जन्म भएको ३ वर्षपछि सन् १९८४ मा दुवैको सम्बन्धविच्छेद भयो । उनको दोस्रो विवाह सन् १९९० मा अभिनेता राजेश खट्टरसँग भयो। तर यो विवाह पनि टिकेन। सन् २००१ मा उनीहरुको सम्बन्ध विच्छेद भयो। यो दम्पतीको एक छोरा छ । त्यसपछि अजिमले रजा अली खानसँग गरेको विवाह २००४–२००९ पाँच वर्ष मात्रै टिकेको थियो।

कबीर बेदी
कबिर बेदीले तीन होइन चार विवाह गरेका थिए । उनको पहिलो विवाह बंगाली नृत्यांगना प्रोतिमा बेदीसँग सन् १९६९ मा भएको थियो । सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि उनको दोस्रो विवाह बेलायती फेसन डिजाइनर सुसान हम्फ्रिजसँग भएको थियो। दईको सम्बन्धविच्छेद भएपछि बेदीले ९० को दशकमा टिभी प्रस्तोता निक्कीसँग विवाह गरे, जुन लामो समय टिक्न सकेन । ७१ वर्षको उमेरमा बेदीले आफ्नी प्रेमिका परवीन दुसाँजसँग चौथो विवाह गरे।
