काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाहलाई नवलपरासी पूर्व लगिएको छ । नवलपरासी पूर्व प्रहरी कार्यालयमा पनि उनीविरुद्ध बलात्कारको उजुरी परेसँगै आज गैँडाकोट लगिएको हो ।
तनहुँमा जाहेरी दिएकी नाबालिकाले गैँडाकोटको एक रिसोर्टमा पनि पलले बलात्कार गरेको भन्दै दुई साताअघि प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दाको अनुसन्धानका लागि आज उनलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
बलात्कारको मुद्दामा तनहुँ प्रहरीले दोस्रोपटक १२ दिनको म्याद लिएर पलमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदालतबाट हिरासतमा राखी म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।
बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैँडाकोटमा गीत छायांकनको क्रममा गत वर्षको चैत ७ गते एक रिसोर्टमा राखेर बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी हुन् ।