हङकङबाट नेपाल आउँदै गरेको
सुनको विदाइमा त्यहाँ रहेका सुनले
दुःख मनाउ गर्दै थिए
त्यहीं रहेकी सानी कान्छी रुँदै थिइन्
र भन्दै थिइन्
राम्रोसँग जानु दिज्यू
के थाहा फेरि भेट हुने हो कि होइन
कता बोकेर लग्ने हुन्
कता लगेर थन्क्याउने हुन्
नरो ए सानी कान्छी
नेपाल हुँदै भारत जाने त हो
मपछि आउने पालो तेरै हो
भारत पुगेर तँ नआएसम्म
कुरेर बस्नेछु
तँ आएपछि
कुनै सेठकहाँ गएर
सँगै तिजोरीमा आराम गरौंला
सानी कान्छीले डराउँदै भनी
दिज्जु नेपालमा
मसिनमा राख्छन्
हाथले छामछुम पार्छन् रे
समातेर कालकोठरीमा लगेर
थुन्छन् रे
होइन नानी त्यहाँ मसिनमा हेर्ने
छामछुम गर्नेको
हुत्ती कत्तिको छ सबैलाई थाहा छ
कतिले त छामछुम पार्दा
थाहा पाए पनि नपाएजस्तै गर्छन् रे
साह्रो गाह्रो परे
मलाई बचाउन हाम्रा
माइती खलकका नेता
र सुनलाई माया गर्ने
व्यापारी पनि छन्
तिनीहरूले नै भनेका छन्
कहिले ब्रेक सु
कहिले अरू कुनै रूप धरेर
र कहिले कतै लुकेर आउनु
भनेको माने सजिलै यात्रा गर्न पाइन्छ
होइन भने थुनिन तैयार हुनुपर्छ