धमाधम ऐन, नियम, विधेयक बन्दै छन्
अपराधीलाई चोख्याउन
अपराधीलाई छुटाउन
अब हाम्रो दिन आयो भन्दै
मुन्ना माइकल खुशी हुँदै थिए
राजनीतिमा नै अपराधीको
हालीमुहाली भएपछि
हुने यही त हो
अपराध गर
राजनीतिको बर्को ओढ
कुनै चिन्ताको बात छैन
यो थाहा हुनासाथ
दुनियाँभरिका माफियाहरूमा
खुशीको लहर दौडेको छ
अब किन लुकिछिपी हिँड्ने
जाऔं नेपाल
भन्ने नारा बनाए छन्
यो सब सुनेर आफूलाई
असुरक्षित ठानेका
दाउद इब्राहमले पनि
आफ्नो अड्डा यहीं सार्ने
विचार गरेछन्
र, छोटा शकिललाई भन्दै थिए रे
हाम्रो ख्याल राख्ने नेता भए
हामी सुरक्षित हुने ऐन नियम भए
किन अरू ठाउँ बरालिन पर्यो
किन लुकेर हिँड्नु पर्यो
मै हुँ भनेर मैमत्त भएका
महामहिम ज्यूहरूका प्रतापले
नेपाल अपराधीहरूका लागि
सुरक्षित प्रमाणित हुने भो
पटक-पटकको झण्झट किन
राजनीतिको परिचयपत्र देखाए
सातै खुन माफ हुने
एउटा कानून बनाऊ साहेब