काठमाडौं- ६ वर्षअघि मकवानपुरका सुवास थिङ, विजन तामाङ र ललितपुरका सुरज श्रेष्ठको बारटेन्डरको तालिममा चिनजान भएको थियो। तालिमपछि उनीहरूले जापानिज रेस्टुराँमा बार टेन्डरको काम थाले। समय बित्दै जाँदा उनीहरूले ती रेस्टुराँमा ‘कम्बुचा’बारेमा जानकारी पाए। कम्बुचाप्रति उनीहरूको जिज्ञासा बढ्यो।
कम्बुचा एक सामान्य कालो चियाबाट बन्ने पेय पदार्थ हो, जुन धेरै किसिमले स्वास्थ्यबर्द्धक छ। यो नयाँ होइन, प्राचीनकालदेखि प्रयोगमा आएको पेय हो।
उनीहरूले कम्बुचाबारे थप जानकारी लिए। त्यसपछि साइड बिजनेस हुन्छ भनेर शुरुमा ट्राई गर्ने निधो गरे। र, बारटेन्डरमा काम गरेवापतको थोरै-थोरै पैसा जम्मा गरेर लगानी गर्ने निधो गरे।
झन्डै एक वर्षअघि उनीहरूले ५ लाख लगानीबाट कम्बुचा शुरु गर्ने निर्णय लिए। र, झम्सिखेलमा सानो स्टोर राखेर व्यवसाय थाले। शुरुमै ग्राहकले मन पराए। राम्रो आम्दानी पनि भयो। त्यसैले व्यवसाय नै गर्छु भनेर यसैमा लागे उनीहरू।
कम्बुचा बनाउँदा शुरुमा नर्मल कालो चिया बनाउने हो। एउटा ‘टुभी’ भन्ने ब्याक्टेरिया हुन्छ, जसलाई चियामा राखिन्छ। ब्याक्टेरियाले विस्तारै ३० देखि २५ दिनभित्रमा चियाको सबै गुण खान्छ। त्यही कालो चिया फर्मेन्टेसन भएर कम्बुचा बन्छ।
कम्बुचा स्वास्थ्यको दृष्टिबाट निकै फाइदाजनक छ। यसले पाचन प्रणालीलाई चुस्त बनाउँछ। इम्युन सपोर्ट, तौल घटाउन, ब्लडप्रेसर भएकाका लागि, इनर्जी बुस्ट गर्न, एन्टिअक्साइड र ड्रिंक्सका लागि महत्त्वपूर्ण छ। यसको प्रयोग २-३ सय वर्ष अघिदेखि हुन थालेको मानिन्छ। बीचमा भने हराएको थियो। अमेरिकाजस्ता विकसित मुलुकहरूमा भने यो अझै निकै प्रयोगमा छ।
बजारमा पास्चाराइजर कम्बुचा धेरै मात्रामा पाइन्छ। उनीहरूले भने ‘र’ कम्बुचा बनाइरहेका छन्। पास्चाराइजर कम्बुचा र र कम्बुचामा फरक छ। पास्चाराइजरमा कम्बुचा उमालिएको हुन्छ। ‘उमाल्दा त्यहाँ प्रयोग हुने ब्याक्टेरिया ८० देखि ९० प्रतिशत नष्ट हुन्छ,’ थिङ भन्छन्, ‘कच्चा (र) कम्बुचा पास्चाराइजरभन्दा बढी फाइदाजनक हुन्छ। ६-७ बोतल पास्चाराइजरलाई एक बोतल ‘र’ कम्बुचाले जित्छ।’ ‘र’ कम्बुचा बनाउने भएकाले उनीहरूले नाम राखे ‘ब्रिउ ड्र कम्बुचा’।
कम्बुचा धेरै फ्लेभरको हुन्छ। उनीहरूले भने जास्मिन, ब्लुबेरी, लिचीलगायत स्वादका कम्बुचा बिक्री गर्छन्। विशेषगरी, उनीहरूले फ्लेभरमा जोड दिएका छन्। अहिले ब्लुबेरी फ्लेभर धेरैको रोजाइमा छ। माइग्रेन, महिनावारी हुँदासमेत खान उपयुक्त देखिएकाले फूलको कम्बुचा बनाउनेतर्फ उनीहरूले ध्यान दिएका छन्।
अहिले मासिक १ हजार लिटरसम्म कम्बुचा उत्पादन हुन्छ। उनीहरूले उत्पादन गरेको कम्बुचा लबिम मल, सिटी सेन्टरलगायत मार्टहरूबाट बिक्री हुन्छ। अनलाइनबाट पनि अर्डर लिन सकिन्छ। विस्तारै ठूलो स्टोर खोलेर सञ्चालन गर्ने तयारी छ, उनीहरूको। उनीहरूले बनाएको कम्बुचाको ल्याब परीक्षण भएर त्यसको गुणस्तर ठीक छ भन्ने प्रमाणित भइसकेको छ। अब प्रमाणपत्र हात पर्नेबित्तिकै उनीहरूले आफ्नो व्यवसाय थप बढाउने योजना बनाएका छन्।
‘अहिले हेल्थ कन्सस उपभोक्ता धेरै छन्। शुरुमा महँगो लाग्ला तर यसको फाइदा बुझेपछि धेरैले रुचाएका छन्,’ सञ्चालक तामाङ भन्छन्। अहिले उनीहरूका मुख्य ग्राहक नेपाल आएका विदेशी नै छन्। किनकि, उनीहरू यसको प्रयोग र फाइदाबारे जानकार छन्। नेपालीहरूले पनि विस्तारै बुझ्न थालेको उनी बताउँछन्। ‘शुरुमा ५० लिटरबाट व्यवसाय थालेका हौं। त्यही बिक्री हुन गाह्रो हुन्थ्यो। अहिले मासिक ५ सय लिटरसम्म बिक्री हुन्छ,’ उनी भन्छन्।
शुरुमा उनीहरूलाई चियापत्ति छान्न र फ्लेभरका लागि फूल पाउन निकै मुस्किल भयो। यसअघि कम्बुचा बनाएकाहरूसँग गएर भेटेर-बुझेर उनीहरूले ८ महिना कम्बुचा बनाउन मात्रै समय लगाए। ८ महिनासम्म टेस्ट मात्रै गरे। बजारमा पाइने अरू कम्बुचाभन्दा उनीहरूले बनाएको कम्बुचा पातलो थियो। त्यसैले पनि धेरै प्रश्न उठेको थियो।
विस्तारै सबैले मन पराउन थाले। ‘अरूको टार्गेट सेल्स भएर पास्चाराइजर कम्बुचा बेचिरहेका छन्। हाम्रो स्वास्थ्यलाभलाई सोचेर गरेको भएर ‘र’ नै बनाइरहेका छौं,’ उनी भन्छन्। ८ महिनाको निरन्तर प्रयासपछि बल्ल मीठो फ्लेभरको ‘र’ कम्बुचा तयार भयो। त्यसपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता भयो। अहिले भने उनीहरूको व्यवसाय विस्तारै उकालो लाग्दैछ। अहिले मासिक मासिक दुई लाखसम्मको कारोबार गर्दै आएका छन्।
कम्बुचा बनाउन आवश्यक ब्याक्टेरिया उनीहरूका साथी जापानबाट आउँदा ल्याइदिएका हुन्। एकपटक ल्याइएको ब्याक्टेरिया प्रयोग गर्दै गर्दा त्यसबाट उप-ब्याक्टेरियाहरू बन्दै जान्छन्। एकपटक प्रयोगमा राखिएको ब्याक्टेरियाले तीन महिनासम्म काम गर्छ। ब्याक्टेरियाको लेभल घट्दै गएपछि त्यसको नयाँ लेयर काटेर प्रयोग गर्न सकिन्छ। एउटा व्याक्टेरियाले १० वटासम्म उप-ब्याक्टेरिया उत्पादन गर्छ। तयार भएको कम्बुचा भने एक महिनादेखि ३ महिनासम्म खान सकिन्छ।
यसको प्रयोग दैनिक पनि गर्न सकिन्छ। इच्छाअनुसार कहिलेकाहीं खान पनि सकिन्छ। यसको नराम्रो पक्ष भनेको भेनेगरको जस्तो वास्ना आउने मात्रै हो। विशेषगरी, बालबालिका र गर्भवतीले भने कम्बुचा नखानु उपयुक्त मानिन्छ।
‘ड्रिउ ड्र कम्बुचा’ले नेपाली ब्रान्ड माटो, विभिन्न मार्ट, कोरियन मार्टसँग व्यावसायिक सम्झौता गरेको छ। नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै थप आफ्नो व्यवसाय अगाडि बढाउने योजना बनाएको सञ्चालक तामाङ बताउँछन्।