काठमाडौं- मध्याह्न १२ बजे, तातै भए पनि सरर हावा चलिरहेको छ। नुवाकोट बेलकोटगढी नगरपालिका-७ स्थित ‘सुनौलो नुवाकोट इँटा उद्योग’ पुग्दा वातावरण सुनसान छ।
टाढाबाट हेर्दा इँटाभट्टा बन्द भएको भान हुन्थ्यो। नजिक पुगेर हेर्दा भट्टामा आगो दनदनी दन्किइरहेको थियो। कामदारहरू भने बाहिर कोही देखिँदैनथे। हेर्दै जाँदा इँटाले बनाएका स-साना छाप्रोहरू भित्र पल्टिरहेका थिए सबै।
ज्यान धुलाम्य, आँखाका परेलासम्म धुलो पुछिएको थिएन। बिहान ६ बजेदेखि काम गरेको हुनाले सबै थकित देखिन्थे। शनिबारको दिन भएकाले त्यही पनि थकाइ मार्न समय पाएका थिए।
इँटा पोलिरहेको ठाउँ नजिकै हिँड्दा आगोको रापले पोल्थ्यो। राप आइरहेको ठाउँ नजिकै इँटाले बनाइएको एउटा सानो छाप्रो थियो। परबाट हेर्दा लाग्थ्यो, केही सामान राख्न बनाइएको हो। तर, नजिकै पुगेर हेर्दा त्यो त मजदुर बस्ने घर रहेछ।
भित्र हेर्दा एक कुनामा खाना पकाउने ग्यास, चुलो र भाँडाबर्तन। अर्कोतर्फ खाट (पलङ) को काम इँटाले गरेको थियो भने एउटा पातलो डस्ना बिछ्याइएको थियो। त्यही डस्नामाथि एकजना पल्टिरहेका थिए। उनी थिए, भारत दरभंगाका नगिन्दर जादव। उमेरले ५७ वर्ष। उनी काम सकाएर खाना खाएर भर्खर मात्र विस्तरामा पल्टिएका रहेछन्। उनको ज्यानबाट पसिनाको धारा बगिरहेको थियो।
उनले नेपालमा इँटाभट्टामा काम थालेको १२ वर्ष भइसकेछ। सुनौलो इँट्टा उद्योगमा काम गर्न थालेको भने ४ वर्ष भयो। भारतमा काम नपाएर नेपाल आएका भने होइनन्। जादवलाई नेपालमा काम गर्न धेरै रमाइलो लाग्छ। ‘भारतमा इँटाभट्टामा पनि काम त जति पाइन्छ। तर, नेपालमा काम गर्न रमाइलो लाग्छ,’ उनी मुस्कुराउँदै भन्छन्।
उनी यहाँ इँटा पोल्ने काम गर्छन्। त्यसैले इँटा पोल्ने नजिकै उनको छाप्रो छ। अरू मजदुरहरूलाई अलि टाढा बस्ने छुट छ तर इँटा पोल्ने मिस्त्रीलाई छुट छैन। ‘अरू ठाउँमा भन्दा यहाँ बस्नलाई धेरै गर्मी हुन्छ। तर, बेलाबेलामा इँटा पोलिरहँदा केही समस्या हुन्छ कि भनेर हेरिरहनुपर्छ। त्यसैले इँटा पोल्ने नजिकै बस्नुपर्ने हुन्छ,’ उनी भन्छन्।

बिहान ६ देखि राति २ बजेसम्म काम गर्नुपर्छ। इँटा पोल्ने काम सबैभन्दा गाह्रो हुन्छ। तर, पेट पाल्न मजदुरी गर्नैपर्ने बाध्यता रहेको उनी बताउँछन्। भन्छन्, ‘परिवार ठूलो छ। काम नगरी कसरी पेट पाल्ने? सकिन्ज्याल त काम गर्नैपर्यो। जति उमेरसम्म सक्छु नेपालमै बसेर काम गर्छु।’
उनले इँटाभट्टामा काम गरेबापत १२ हजार भारतीय रुपैयाँ तलब पाउँछन् भने सातामा खानाका लागि छुट्टै दुई हजार रुपैयाँ। भारतमा पनि इँटाभट्टामा काम गर्नेले १५ हजार भारुसम्म पाउँछन्।
जति कमाए पनि इँटाभट्टामा काम गरेर परिवार पाल्न भने धौ-धौ रहेको उनको भनाइ छ। ‘अहिलेको महँगी त्यही हो। जति कमाए पनि पेट पाल्न मुस्किल छ। जसोतसो गुजारा गरिरहेका छौं,’ जादव भन्छन्। अब जुन-जुलाईदेखि काम बन्द हुन्छ। त्यसपछि उनी दरभंगा फर्किने छन्। र, फेरि, इँटाभट्टामा काम शुरु भएपछि जनवरीमा नेपाल आउनेछन्। १२ वर्षदेखि यसरी नै बितिरहेको छ, उनको जिन्दगी।
जादवजस्तै, अर्को छाप्रोमा सुस्ताइरहेकी थिइन्, दाङकी मञ्जु पुन। छाप्रो वरिपरि २-४ बोट खुर्सानी, टमाटर, लसुन लगाएकी छन्। नजिकै एउटा सानो चुलो पनि छ। ग्यास सकिएको बेला कहिलेकाहीं आगोमै खाना पकाउँछिन् उनी।
भित्र छिर्दा होचो एक कोठे छाप्रो, राम्रोसँग प्रकाश छिरेको छैन। छाप्रोमा उनी, श्रीमान, छोरा र छोरी बस्छन्। यसरी छाप्रोमै दिनरात कटाउन थालेको ५-६ वर्ष भइसक्यो। इँटाभट्टामा जहाँ काम गरे पनि बस्ने ठाउँ उस्तै हो। उनी ५-६ वर्षदेखि इँटा बोक्ने काम गर्दै आएकी छन्। उनी श्रीमानको सहारामा इँटाभट्टासम्म आइपुगेकी हुन्। उनका श्रीमान इँटा बनाउने काम गर्छन्। उनका ६ वर्षकी छोरी र ४ वर्षका छोरा छन्। इँटा बोकेरै बित्छ उनको दिनचर्या। बिहान ५ देखि राति ११ बजेसम्म इँटा बोक्नुपर्छ। बेलाबेलामा समय निकालेर छोराछोरीलाई स्याहारसुसार गर्छिन्। छोरी नजिकैको बोर्डिङमा नर्सरीमा पढ्छिन्।

इँटाभट्टामा काम गर्न धेरै दुःख छ तर काम नगरी उनलाई सुख छैन। पुन भन्छिन्, ‘इँटा बोक्नुभन्दा गाउँमा खेतीपाती गर्न सजिलो हुन्छ। तर, जति दुःख गरे पनि पैसा आउँदैन। पैसाबिना जिन्दगी गुजारा गर्न सकिँदैन। त्यही भएर बाध्यताले काम गरिरहेका छौं।’
इँटाभट्टामा दैनिक १८ घण्टा उनी काम गर्छिन्। एक हजार इँटा बोकेबापत उनले ३४० रुपैयाँ पाउँछिन्। दिनमा दुई हजारदेखि २५ सयसम्म इँटा बोक्ने गरेकी छन्। ‘इँटा बोक्न एकदमै गाह्रो हुन्छ। छोराछोरीको स्याहारसुसार पनि गर्नैपर्यो,’ उनी भन्छिन्।
अबको दुई महिनापछि इँटाभट्टामा काम हुँदैन। त्यसपछि उनी गाउँ फर्किनेछिन्। ६ महिना गाउँमा काम गर्ने र ६ महिना इँटाभट्टामा। त्यसरी नै उको गुजारा चलेको छ।
तर, यसपटक उनको सोच बदलिएको छ। अब फेरि इँटाभट्टामा नफर्किने योजनामा छिन्। ‘अब गाउँ गएपछि फेरि इँटाभट्टामा काम गर्ने मन छैन। इँटा बोक्नेभन्दा अरू काम पाइयो भने अरू नै काम गर्ने विचार छ। तर पढलेख नगरेका मान्छेलाई काम पाउनै मुश्किल छ,’ उनी भन्छिन्।
पुनले जस्तै अर्को वर्ष फेरि इँटाभट्टामा काम गर्न नआउने वाचासहित गाउँ फर्किने धेरै हुन्छन्। तर, फेरि अर्को वर्ष बाध्यता, समय र परिस्थितिले डोर्याउँदै इँटाभट्टासम्म ल्याइपुर्याउँछ। थाहा छैन, मञ्जुलाई कस्तो बाध्यताले कता डोर्याउने हो।
इँटाभट्टामै भेटिए, रोल्पा रुन्टिगढी गाउँपालिका धौलावाङका ध्रुव नेपाली। ध्रुव गत वर्ष जेठमा अब इँटाभट्टा कहिल्यै नफर्किने वाचासहित गाउँ फर्किएका थिए। तर, गाउँमा ६ महिनाभन्दा बढी टिक्न सकेनन्। उनलाई गरिबीले फेरि इँटाभट्टा फर्कायो।
उमेरले ५७ वर्ष पुगेका ध्रुव इँटा बोक्ने काम गर्छन्। तर, उनी धेरै इँटा बोक्न सक्दैनन्। उमेर छँदा उनले विदेशमा पसिना बगाए। १२ वर्षसम्म कतारमा श्रम गरे। कतारले बुढो भयो भने नेपाल फर्काइदियो। त्यसपछि उनी इँटाभट्टामा जोडिए।
‘विदेशले बुढो भयो भन्यो तर यो पापी पेटले उमेर भनेन। के गर्नु बाचुन्ज्याल खानैपर्यो। खानका लागि काम गर्नैपर्यो,’ उनी दुःख पोख्छन्। इँटाभट्टाबाट उनको गुजारा चल्न थालेको ४ वर्ष बित्यो। यसअघि भक्तपुर र काभ्रेस्थित इँटाभट्टामा काम गरेका थिए।
उमेरले नेटो काटिसकेको हुनाले अब धेरै भार उठाउन सक्दैनन्। साहुले किन थोरै बोकेको भनेर कहिलेकाहीं गाली पनि गर्छन्। धेरै इँटा बोकेर धेरै पैसा कमाउने रहर त उनलाई पनि कहाँ नभएर हो र? तर, उमेरले धोका दियो।
उनले महिनामा १० हजार मात्र कमाउँछन्। ‘अब उमेर पनि ढल्किसक्यो। धेरै इँटा बोक्न सक्दिनँ। स्याँस्याँ भइहाल्छ। विस्तारै-विस्तारै जति सक्छु, त्यति बोक्छु,’ उनी भन्छन्।
घरखर्चका लागि छोराले कमाए पनि उनी आफ्ना लागि कमाउन आएका हुन्। ‘आफूलाई दिनकै पैसा चाहिन्छ। कहिले के खान मन लाग्छ, कहिले के। सधैं छोरासँग पैसा मागेर पनि त भएन। आफूसँग भएपछि गोजीबाट निकालेर खर्च गर्न पाइन्छ। मन लागेको किनेर खान पाइन्छ,’ उनी भन्छन्, ‘काम नगरे कसले खान दिन्छ?’

तर, उनले आफ्नो काम सुरक्षित महशुस गरेका छैनन्। विदेशमा काम गर्दा कामदारको सुरक्षा कम्पनीले जिम्मा लिन्छ। तर, यहाँ कसले जिम्मा लिन्छ? काम गर्दा लगाउने मास्क, बुट र ग्लोबसम्म नभएको उनी बताउँछन्।
नेपाली, पुनजस्ता कामदार सीधै इँटाभट्टामा आइपुगेका होइनन्। उनीहरू जस्ता गरिब दुःखीलाई पुलको काम गर्छन्, रोल्पाका ज्ञानेन्द्र घर्तीमगर। इँटाभट्टामा ठेकेदारको रूपमा उनले काम गर्न थालेको ४ वर्ष भइसक्यो। उनले एड्भान्स दिएर गाउँभरिबाट कामदार लिएर आउँछन्। यसपटक ६० जना कामदार लिएर आएका थिए। अहिले ३० जना मात्र छन्। ‘अब कामको सिजन पनि अन्तिम भइसक्यो,’ उनी भन्छन्, ‘कोही बिरामी भए, कोही काम गर्न नसकेर गाउँ फर्किसके।’
यसरी आफूले ल्याएका कामदारले बीचैमा काम छाड्दा उनलाई घाटा हुने गरेको छ। ‘कामदारले पहिला नै पैसा लिइसकेका हुन्छन्। पैसा लिए जति काम नगर्दा मैले धेरै घाटा बेहोर्ने गरेको छु,’ उनी भन्छन्।
उनी गाउँका साथीभाइको संगतमा इँटाभट्टाको ठेकेदार बनेका हुन्। ठेकेदार बन्नुअघि उनी विदेश गएका थिए। विदेशमा भनेजस्तो आम्दानी नभएपछि उनी स्वदेश फर्किए। ‘अर्काको देशमा काम गर्न धेरै गाह्रो छ,’ उनी भन्छन्, ‘आफ्नै देशमा केही गरौं भनेर यता लागियो। अहिले निल्नु न ओकल्नु भएको छ।’
ठेकेदार बन्नुअघि ६ लाख रुपैयाँ बचत थियो। अहिले ६ लाखभन्दा बढी ऋण लागिसकेको उनी बताउँछन्। ‘वर्षमा ६ महिना मात्र काम हुन्छ। त्यो अवधिमा पहिला पैसा लिएजति काम गर्न सकेन भने कामदारलाई होइन, ठेकेदारलाई घाटा हुन्छ,’ उनी भन्छन्, ‘पहिला नै पैसा बुझे पनि कोही काम गर्दैनन्, कोही बिरामी पर्छन्, कसैले ठग्छन्, जसले गर्दा हामीलाई घाटा हुन्छ।’

उनले आफूले ल्याएका कामदारहरूले गरेको कामको आधारमा ५-१० प्रतिशत तलब पाउँछन्। यति धेरै घाटा हुँदा पनि उनले यो पेशा छाड्न सकेका छैनन्। ‘कामदारसँग मैले लिनु धेरै कारोबार हुन्छ। चटक्क यो पेशा छोड्न सकेको छैन। आफ्नो लगानी डुबेपछि अर्को वर्ष हुन्छ कि भनेर काम गर्दै गर्यो, झन घाटा बेहोरिरहेको छु,’ उनी भन्छन्, ‘अब चाँडै ठेकेदारको काम छाड्ने योजना छ। विदेशमा हुँदा पैसा बच्थ्यो बरु, यहाँ त फुरमासी खर्च धेरै हुन्छ।’
घर्तीमगर पानी पर्ने मौसममा रोल्पामै खेती किसानी गर्न फर्किन्छन्। वर्षमा ५-६ महिना उनी यतै इँटाभट्टामा बिताउँछन्। इँटाभट्टामा जेठबाट काम बन्द हुन्छ र फेरि मंसिरमा शुरु हुन्छ।
नेपालमा दैनिक हजारौंको संख्यामा बिदेसिने युवाको लर्को छ। वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने धेरै क्षेत्रमध्ये इँटा उद्योग पनि एउटा हो। देशभित्रै रहेका इँटा उद्योगमा ६ महिना लाखौं मजदुरले प्रत्यक्ष काम पाउँछन्। तर, इँटाभट्टामा कामको सुरक्षा नहुँदा नेपाली युवा स्वदेशको काम छाडेर विदेशिन बाध्य छन्। भारतीय मजदुरको भरमा इँटा उद्योग चलिरहेका छन्।
सरकारले इँटाभट्टाको कामलाई व्यवस्थित बनाउन सके धेरै युवालाई इँटा बनाउने काममै आकर्षित गराउन सकिन्छ। यसका लागि मजदुरमैत्री नीति नियम बनाएर कार्यान्वयनमा ल्याउनु आवश्यक छ। र, साथमा इँटाभट्टाको अनुगमन पनि अत्यावश्यक देखिन्छ।
