काठमाडौँ – छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट राष्ट्रिय फिचर फिल्म बन्न सफल भएको छ ।
महोत्सवमा चलचित्र ‘प्रकाश’बाट प्रदीप खड्का उत्कृष्ट अभिनेता तथा दिया मास्के उत्कृष्ट अभिनेत्री बनेकी छिन् । चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।
उत्कृष्ट लेखनका लागि ऐना झ्यालको पुतलीबाट सुजित बिडारीले अवार्ड पाएका छन् । यसैगरी चलचित्र प्रकाशबाट राजेश श्रेष्ठ उत्कृष्ट छायाकार बनेका छन् ।
महोत्सवमा उत्कृष्ट मेन्सन अवार्ड चलचित्र ऐना झ्यालको पुतलीबाट दिनेश खत्रीले प्राप्त गरेको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्रका लागि दिइने बागमती अवार्ड इरानको चलचित्र ‘द बुक’ लाई प्रदान गरियो ।
काठमाडौँमा पाँच दिनसम्म चलेको महोत्सवको उद्घाटनमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रिमियर गरिएको थियो । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको महोत्सवमा नेपालसहित ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व रहेको थियो भने ९५ चलचित्र प्रतिस्पर्धामा रहेका थिए ।
सोमबार भएको समापन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, निफका अध्यक्ष केपी पाठक, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, मनोज गजुरेल, प्रियङ्का कार्की, नम्रता श्रेष्ठ, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाललगायतको उपस्थिति रहेको थियो ।