काठमाडौँ – वरिष्ठ फिल्म निर्देशक प्रताप सुब्बाको बिहीबार निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।
भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो।
सुब्बाले २०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका थिए । उनले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।
निर्देशक तथा निर्माता नीर शाहका अनुसार सुब्बा बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन स्कुल अफ थटका निर्देशक हुन् ।
नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः उनी दार्जिलिङ फर्किएका थिए ।