मेरा साना दुःखले आर्ज्याको फूलबारी थिएन यो,
गोर्खा राज्यलाई नेपालभूमि बनाउन कैयौं बलिदानीहरू भए।
आज त्यही स्वर्गभूमिमा, लासहरूका डंगुर ढलेँ,
बिसे ! म त बममा परेँ।
मेरा सारा सन्ततीहरू आफैं सिद्धिने युद्धमा पसेछन्।
मेरा भाइ छोराहरू पनि फरेब र जालसाँजीको दलदलमा फसेछन्।
राजा र जनताबीचको सुमधुर सम्बन्ध अब इतिहास भएछ।
भाइ छोराको मात्र होइन, मैले आफ्नै अस्तित्व संकटमा देखेँ,
बिसे ! म त धरापमा परेँ।
तेरै सल्लाह र सहयोगमा मैले यो मुलुक आर्ज्याको थिएँ।
आज तँलाई नै पानीबाट हटाएको सुन्दा मैले सारा प्रजालाई सम्झेँ।
आजका प्रजा जनता हुन चाहँदा रहेछन्,
मेरा भाइ, छोराहरू प्रजा नै हुनुपर्छ भन्दा रहेछन्।
यो राज्य मेरा पुर्खाले आर्ज्याको भन्ने हठ छ अरे मेरा भाइ, छोराहरूसँग,
यही भ्रम हटोस् भनी मध्यस्थता गर्न आएको थिएँ।
बिसे ! म त दोहोरो भिडन्तमा परेँ।
मेरो युद्ध कौशलको सधैं बयान गर्ने सोझा प्रजाहरू,
यतिखेर गोलीबारुदसँग खेलेको देख्दा,
प्रजा बलिया भए कि दरबारमा घुन लाग्यो,
मेरा दिव्यउपदेशका पानाहरू आज कहाँ पुगे ?
अढाइ सय वर्षपछि, बिसे ! म त भ्रममा परेँ !
गोर्खा राज्यको इतिहास, नेपाल एकीकरणको प्रयास सारा भुलेर,
मेरा हठी सन्तानहरूले आफ्नो अस्तित्व गुमाएको हेर्न म अब सक्दिनँ बिसे।
म मेरा प्यारा प्रजालाई जनता हुने अधिकार छ भन्न आएको थिएँ,
मेरा बाटाहरूमा काँडेतार लगाइएछ,
मेरा घरका बार्दलीहरूमा बंकर खनिएछ।
मैले सयर गर्ने प्रिय भूमि रण मैदान भएछ।
आज मेरै गाउँका गोरेटो हुँदी म अलमल्लमा परेँ।
बिसे ! म त चेक जाँचमा परे।
मेरा प्यारा नागरिकहरू,
अब फेरि यो भूमिमा म फर्कन्छु फर्कन्न,
मेरो सन्देश २१औं शताब्दीका जनतासम्म पु¥याइ दिनू,
जनताको अपमान कसैले नगरिदिनू।
यहाँको मृत्यु उत्सवमा म साँच्चैको मृत्यु मरेँ।
हो, बिसे ! म त बममा परेँ।
सक्छस् भने मलाई माफ गरिदे,
तेरो दुःखभन्दा मेरो घाउ ठूलो भो,
मेरा शरीरका अंगहरू क्षतविक्षत भएका छन्, मन छियाछिया भएको छ,
मेरो टाउको हो कि पुच्छर म आफैं रनभुल्लमा परेको छु,
मैले अब खुट्टा झिकेँ, यो देश तेरो हो बिसे।
तैँ होस् यो मुलुकको मालिक,
तेरै अधिकार धेरै छ यो देशमा।
म त आफ्नै सन्तानले बिछ्याएको एम्बुसमा परेँ।
तँ बहुलाएको होइन बिसे !
बरु म आफैं भ्रममा परेँ।
मिति : २०६२-१२-११
(१० माघ ०६२ मा झापाको तत्कालीन मेचीनगर नगरपालिका–१० वडा कार्यालयमा बम विष्फोटबाट त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकमा क्षति पुगेको थियो। त्यसपछि जनआन्दोलन शुरु भएको र त्यसलगत्तै यो कविता लेखिएको हो। यसअघि श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ बजारमा आइसकेको थियो।)