काठमाडौं- पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाइसकेको प्रदेश-१ ले अब चौथो मुख्यमन्त्री पाउँदै छ। चौथो मुख्यमन्त्री एकजना बन्ने भएपनि उक्त पद प्राप्त गर्ने दौडमा मुख्यतः ६ नेता देखिएका छन्।
प्रदेश-१ मा मुख्यमन्त्रीको दाबेदारमा कांग्रेसका सांसदहरू बढी देखिन्छन्। साथै, माओवादी, एकीकृत समाजवादी र एमालेका निर्वाचित प्रदेश सांसदहरूले पनि मुख्यमन्त्रीका लागि उत्तिकै दाबी गरेका छन्।
प्रदेश-१ का बहालवाला मुख्यमन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राईले पुनः मुख्यमन्त्रीको दाबी गरेका छन्। राजनीतिक फेरबदलका कारण पहिलो प्रदेशसभा निर्वाचनमै राईले मुख्यमन्त्री बन्ने सौभाग्य पाएका थिए। यो क्रमलाई निरन्तरता दिने दाउमा छन्, राई।
उनी भोजपुर प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा लड्न चाहेका राईको ठाउँमा गठबन्धनका कारण माओवादीका सुदन किराँतीले टिकट पाएपछि राई फेरि प्रदेशमै दोहोरिएका हुन्।
मुख्यमन्त्रीका अर्का बलिया दाबेदार हुन्, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बहालवाल अर्थमन्त्री इन्द्र आङ्बो। उनी पाँचथर ‘ख’बाट निर्वाचित भएका हुन्। २-२ पटक प्रदेश-१ को अर्थमन्त्री बनेका आङ्बो उक्त प्रदेशका लोकप्रिय माओवादी नेता पनि हुन्। त्यसैले उनले यसपटक मुख्यमन्त्रीको बलियो दाबी प्रस्तुत गरेका छन्।
यस्तै, कांग्रेस नेता तथा बहालवाला आन्तरिक मामिला मन्त्री केदार कार्की पनि मुख्यमन्त्रीको बलियो दाबेदार हुन्। उनी मोरङ-६ ‘ख’ बाट निर्वाचित भएका हुन्।
कांग्रेसबाटै मोरङ-५ ‘ख’ बाट निर्वाचित नेता अमृत अर्यालको नाम पनि भावी मुख्यमन्त्रीका रूपमा चर्चामा छ। यस्तै, विराटनगरका पूर्वमेयर भीम पराजुली पनि मुख्यमन्त्रीको दौडमा छन्। उनी मोरङ-४ ‘ख’ बाट निर्वाचित भएका हुन्। पराजुलीले चुनाव प्रचारप्रसार गर्न मतदाताको घरदैलो गर्ने बेला मुख्यमन्त्री बन्नका लागि भन्दै खुलेर भोट मागेका थिए।
पाँचदलीय गठबन्धनले प्रदेश-१ को सरकार बनाउन सकेन भने एमाले नेताहरूले पनि मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। उक्त प्रदेशमा २५ सिट जित्दै एमाले पहिलो दल बनेको छ। समानुपातिकतर्फ पनि एमाले नै अगाडि छ।
कांग्रेस १७ सिट जितेर दोस्रो र माओवादीले ९ सिट हासिल गरेर तेस्रो बनेको छ। यस्तै, एकीकृत समाजवादीले ३ र राप्रपाले २ ठाउँमा जित निकालेका छन्।
५६ निर्वाचन क्षेत्र रहेको प्रदेश-१ मा एमाले पहिलो दल बने पनि सत्ता गठबन्धनले गर्दा उसलाई सरकार गठन गर्न कठिन नै पर्नेछ। किनकि, सत्ता गठबन्धनको जोडघटाउ गर्दा एमालेभन्दा अगाडि पर्ने देखिएको छ। ९३ प्रदेशसभा सदस्य रहेको यस प्रदेशमा ५६ जना प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् भने अब समानुपातिकतर्फ ३७ जना निर्वाचित हुनेछन्।
एमालेबाट मुख्यमन्त्री बन्ने प्रमुख दाबेदारमा शेरधर राई नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका हिक्मत कार्कीको नाम चर्चामा छ। कार्की झापा-५ ‘क’ बाट निर्वाचित भएका हुन्।
राप्रपाबाट भने मुख्यमन्त्री बन्ने आकांक्षा कुनै नेताले देखाएका छैनन्। सानो दल भएका कारण पनि राप्रपाले उक्त प्रदेशको सरकारको नेतृत्व पाउने सम्भावना शून्य छ।
अघिल्लो निर्वाचनमा एमालेले यो प्रदेशसभामा ५१ सिट जितेको थियो। यस प्रदेशमा अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रले जित निकाले पनि यसपटक भने सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी तथा एमाले र राप्रपाले बाहेक अरूले जित निकाल्न सकेनन्।