काठमाडौं- पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन्। ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन्। कार्यालय खुलेका केही सहकारीले भने थोरै मात्र बचत फिर्ता गरिरहेका छन्।
काठमाडौं महानगरपालिका ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर नगरपालिका ५, जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था र गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन्। स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ।
गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन्। सहमति गराउन वडाध्यक्ष नवराज लामाले पनि सहयोग गरेको बचतकर्ताले जनाएका छन्।
मञ्जुश्री सहकारी कार्यालयअघि मोबाइल पसल सञ्चालन गर्ने कविन्द्र अधिकारी पैसा तिर्ने प्रतिबद्धता जनाउने तर कार्यालय नखोल्ने गर्दा शंका लाग्ने अवस्था आएको बताउँछन्। दैनिक कार्यालय खोलेर सहकारीमा भइरहेका गतिविधिबारे बचतकर्तालाई जानकारी गराए समस्या समाधानमा सहजता हुने उनले बताए।
बचत फिर्ता गर्न नसकी समस्यामा परेका सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीको फोन सम्पर्क हुन छोडेको छ। जसले गर्दा बचतकर्ता तनावमा छन्। सहकारीको प्रभावकारी नियमन र अनुगमन नहुँदा बचतकर्ता तनावमा रहनुपर्ने अवस्था आएको एक बचतकर्ता श्याम लामाले बताए।
मञ्जुश्रीले फिर्ता गरेन बचत
मञ्जुश्री सहकारी तीन महिनादेखि बन्द भएको भन्दै बचतकर्ताले आपत्ति जनाएका छन्। बचत झिक्न जाने बचतकर्तालाई सहकारीले २५ साउनदेखि निरन्तर सूचना टाँस गरी म्याद बढाउँदै आएको छ। तर, आजसम्म पनि सहकारीले बचत फिर्ता गरेको छैन।
पटक–पटक दिएको म्यादको अन्तिम दिन आइतबार पनि बचतकर्ता सहकारीमा पुगे तर कार्यालय खुलेन। बचतकर्ताहरू जोरपाटी चोकको मूल सडकमै दुई घण्टा धर्ना बसे। सहकारीका अध्यक्ष इन्द्र लामालगायत पदाधिकारी, सञ्चालक सदस्य, एवं कर्मचारीलाई फोन लगाए। कसैको फोन उठेन।
सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भएको बचतकर्ता उमेश खतिवडाले बताए। पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन। दशैँपछिदेखि त कार्यालय नै खुल्न छोडेको उले जानकारी दिए। सहकारीमा लाखौं रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले सहकारी कार्यालय र अध्यक्षको घरमै पुगेर धर्ना दिएका हुन्।
सहकारीका पदाधिकारी, सञ्चालक सदस्य एवं कर्मचारीको फोन पनि नउठ्ने, कार्यालयमा पनि नआउने भएपछि बचतकर्ताको समूह अध्यक्ष लामाको बौद्ध भुवालडाँडास्थित घरमै पुगे। ऋणीले लिएको ऋण नतिरेपछि बचतकर्तालाई पैसा फिर्ता गर्न नसकिएको उनको भनाइ छ।
‘सहकारीले करिब ११ करोड बचत फिर्ता गर्नुपर्नेछ, बजारमा सात करोड ऋण लगानी छ, पाँच करोडको घर सहकारीका नाममा छ, सेयर सदस्यको शुल्क एक करोड गरी १३ करोड रुपैयाँको पुँजी छ, यसैले बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या छैन, अहिले बजारबाट ऋण नउठेकाले मात्र समस्या भएको हो, हामी बचतकर्ताको एक पैसा पनि खाँदैनौं, सबैको पैसा फिर्ता गर्छौं,’ उनले भने।
सहकारीमा लामा ०७५ सालदेखि अध्यक्ष छन्। त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गरेका थिए। साम्देन लामाले ०६३ सालमा सहकारी स्थापना भएदेखि ०७५ सालसम्म सहकारीको अध्यक्ष चलाउका थिए। सहकारीको अहिले रहेको करिब सात करोड ऋणमध्ये ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको प्रशासन प्रमुख विजय तामाङले जानकारी दिए।
‘धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उहाँसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्वअध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्नुहुन्छ तर आउनुहुन्न,’ उनले भने। सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालकहरू एकले अर्कोलाई दोष देखाउन थालेका छन्।
केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ। सहकारीबाट राजीनामा दिइसकेको बताउने पूर्वसचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन्। ‘सहकारी सबै सञ्चालक एवं सेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरू सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन,’ उनले भने।
सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर व्यवसायी पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन्। करिब पाँच लाख रुपैयाँ सहकारीमा बचत गरेका ठाकुर दिनमा एकपटक सहकारी धाउने गरे पनि पछिल्लो समय कार्यालय नै खुल्न छोडेको बताउँछन्।