• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

राप्रपाको पुनरोदयमा भारत-नेपाल हिन्दूवादी ‘कनेक्सन’


आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित

काठमाडौं- नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल गरम हुँदै गर्दा १६-१८ कात्तिकमा पशुपतिनाथ मन्दिर पारिपट्टि भारतले निर्माण गरिदिएको धर्मशालामा विश्व हिन्दू महासंघले धर्मसभा आयोजना गरेको थियो। त्यो धर्मसभा प्रदर्शनी मार्गस्थित राष्‍ट्रिय सभागृहमा आयोजना गर्ने महासंघको योजना भने काठमाडौं महानगरपालिकाले तुहाइदियो।

Advertisement

त्यसको ठ्याक्कै महिनादिनअघि भारत नयाँदिल्लीमा महासंघको भारत च्याप्टरले ‘नेपाल र भारतको सनातन सांस्कृतिक सम्बन्ध’ विषयमा आधारित रहेर तीन दिने कार्यक्रम सम्पन्‍न गरेको थियो।

यी दुवै धार्मिक सभाको अन्तर्य नेपालमा आसन्‍न आम निर्वाचनमा नेपाललाई हिन्दू राष्‍ट्र बनाउने पक्षमा लागेका शक्तिलाई विजयी गराउनु थियो। र, नेपालको आम निर्वाचनमा हिन्दूवादी शक्तिलाई बढीभन्दा बढी मत ल्याउन सघाउने निर्णय भएको थियो।

भयो पनि त्यस्तै। ०७४ सालको आम चुनावमा एक सिटमा खुम्चिएको हिन्दूवादी पार्टी राप्रपाले अहिलेको निर्वाचनमा छैटौं प्रमुख राजनीतिक दलका रूपमा पुनरोदय गरेको छ। प्रत्यक्षतर्फ कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपापछि राप्रपाले सात सिटमा विजय हासिल गर्दै छैटौं स्थान तय गरेको छ। समानुपातिकतर्फ हालसम्म ५ लाख ८६ हजार २५९ मत पाउँदै राप्रपा कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्‍ट्रिय स्वतन्त्र पार्टीपछि पाँचौं शक्तिका रूपमा उदाएको छ।

र, प्रदेशसभामा पनि राप्रपाको उल्लेख्य उपस्थिति देखिएको छ। प्रदेश-१ मा २, वागमतीमा ७ र लुम्बिनीमा २ गरी उक्त पार्टीले प्रत्यक्षतर्फ ११ सिट जितेको छ। समानुपातिकतर्फ प्रदेश-१ मा तेस्रो, मधेशमा आठौं, वागमतीमा तेस्रो, गण्डकीमा चौथो, लुम्बिनीमा चौथो, कर्णालीमा पाँचौं र सुदूरपश्‍चिममा पाँचौं दल बनेको छ।

स्पष्‍ट छ- राप्रपाले चुनावी घोषणा पत्रमै हिन्दू राष्‍ट्र स्थापनाको मुद्दालाई प्रमुखता दिएको छ। ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्‍ट्र’ राप्रपाको घोषणा पत्रमै उल्लेख छ। राप्रपाबाहेकका कुनै शक्तिले पनि नेपाललाई हिन्दू राष्‍ट्र बनाउने एजेन्डाबारे मुख खोलेका थिएनन्। त्यसैले आम चुनावको मुखैमा नयाँदिल्ली र काठमाडौंमा भएका दुईवटा धार्मिक सभाको एउटै उद्देश्य थियो, राप्रपालाई बढीभन्दा बढी भोट दिलाउने। र, त्यस एजेन्डामा भारत र नेपाल दुवैतिरका हिन्दूवादी संघ-संगठनले सफलता पाएको बुझ्न कत्ति पनि गाह्रो छैन।

नयाँदिल्लीमा सम्पन्‍न धार्मिक सभामा भारतका सबै प्रदेशबाट हिन्दूवादी नेताहरू उपस्थित थिए। त्यस कार्यक्रममा भारत सरकारका संस्कृति मन्त्रीसमेत उपस्थित थिए। कार्यक्रममा उपस्थित भएका सबैले एकमतले ‘नेपालमा हिन्दू राष्‍ट्र पक्षधर शक्तिहरूलाई सहयोग गर्नुपर्ने’ सहमति गरेका थिए। र, त्यसलगत्तै काठमाडौंमा सम्पन्‍न धर्मसभाको निष्‍कर्ष पनि ठ्याक्कै त्यस्तै थियो। अनि, काठमाडौंको कार्यक्रम नयाँदिल्लीकै सभाको निरन्तरता थियो।

काठमाडौंमा सम्पन्‍न धर्मसभामा राप्रपा नेता बुद्धिमान तामाङलगायतको प्रत्यक्ष-परोक्ष सहयोग थियो।

त्यसैले सीधा अर्थ लगाउन सकिन्छ, पुराना पञ्‍चहरूको पार्टी राप्रपाको पुनरोदयमा राजेन्द्र लिङदेन अध्यक्ष बन्‍नुमा मात्र सीमित छैन। यसको अन्तर्य नेपाल र भारत दुवैतिरका हिन्दूवादी संघ-संगठनको नेपालको राजनीतिमा ‘घुसपैठ’ पनि मुख्य कारक हो।

नयाँ संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू र सोही नाममा स्थापना भएको रवि लामिछाने नेतृत्वको दलको अप्रत्यासित उदयलाई मात्र नेपालमा चर्चाको विषय बनाइएको छ। तर, राप्रपाको यस पुनरोदयले राजनीतिको भावी कोर्सको पनि आकलन गर्न मद्दत पुर्‍याउँछ।

नेपाली राजनीतिको यो नयाँ कोर्स ४ मंसिरको निर्वाचन र त्यसको परिणामबाट शुरु भएको भने होइन। ३० वैशाखमा सम्पन्‍न सम्पन्‍न पालिका चुनावदेखि नै यसको अनुमान गरिएकै थियो। र, ४ वैशाखको आम निर्वाचनले त्यसलाई अलि विस्तृत स्वरूपमा प्रकट गराएको छ।

स्वतन्त्र र त्यही नाममा स्थापित दलबाट चुनिएका युवा सांसद मात्र होइन, आकार लिँदै गरेका आगामी प्रतिनिधिसभा र प्रदेशसभाहरूमा राप्रपाको बलियो उपस्थिति हुने भएको छ। जसबाट कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्‍ट्रिय जनमोर्चा र लोसपाको पाँचदलीय गठबन्धन मात्र होइन, एमालेले पनि सरकार बनाउनु पर्दा यी दलहरूको समर्थन प्राप्त नगरी असम्भव देखिएको छ।

अझ, राप्रपाले स्थापनादेखि नै राजतन्त्र र हिन्दू राष्‍ट्रको एजेन्डा उठाउँदै आएको छ। गणतन्त्र स्थापनापछि यो पार्टीमा दुई धार देखिए। एउटा धारले राजतन्त्र र हिन्दू राष्‍ट्र दुवैलाई बोक्दै आएको छ भने अर्को धार राजतन्त्रबिनाको हिन्दू राष्‍ट्रको पक्षमा छ।

यसपटकको आम निर्वाचनमा राप्रपालाई जिताउन यी दुवै धार सक्रिय देखिएका थिए। ती दुवै धारमा रनभुल्ल देखिएका कमल थापाले आफ्नो राप्रपा नेपाललाई एमालेसँग सहकार्य गराउँदै चुनाव लडे। तर, परिणाम ‘न त प्रत्यक्ष न समानुपातिक मत’ भइदियो। त्यसको मुख्य कारण थियो, राजतन्त्र र हिन्दू राष्‍ट्रको एजेन्डामा लामो समयदेखि थापाले अलमल्याएको पूर्वपञ्‍चहरूकै बुझाइ। राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको सूर्य चिह्न लिएर चुनाव लड्दा पनि अपेक्षित लाभ हासिल गर्नुको टाढाको कुरा, चुनावी भुमरीमा बिलाए उनी।

बरु, लिङदेन नेतृत्वको राप्रपालाई मतदाताले मन पराएको पाइएको छ। र, नेपाली मतदाताको एक धारले अझै हिन्दू राष्‍ट्र र राजसंस्था चाहेको देखिएको छ। किनकि, नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको थियो। त्यो पनि झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनले नै विजय हासिल गरेका थिए, जहाँबाट उनी यसपटक पनि निर्वाचित भएका छन्। यस्तै, समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ल्याउनुपर्ने संवैधानिक सीमा पनि उनले यसपटक राप्रपालाई सहजै पार गराएका छन्।

२०७४ सालको चुनावमा तत्कालीन राप्रपा अध्यक्ष कमल थापा नै हारेका थिए। कांग्रेससँग गठबन्धन गरे पनि थापा पराजित भएका थिए। राप्रपाले त्यसबेला समानुपातिकतर्फ एक लाख ९६ हजार ७८२ मत मात्र प्राप्त गरेको थियो। र, राष्‍ट्रिय पार्टी बन्‍ने अवसर गुमाएको थियो।

त्यतिखेर पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) पनि चुनावी मैदानमा थियो। ०७४ सालमा यो पार्टीले ८८ हजार ३७७ मत ल्याएको थियो। पछि दुवै राप्रपाबीच एकता भयो। दुवैको समानुपातिक मत जोड्दा दुई लाख ८५ हजार १५९ मात्र हुन आउँथ्यो। यसपटक हालसम्म त्यसभन्दा ३ लाख १ हजार १०० मत बढी ल्याइसकेको छ, राप्रपाले। समानुपातिक मत गणना जारी रहेकाले यसमा अझै थपिन सक्ने सम्भावना उत्तिकै छ।

लिङदेनले एक चुनावी कार्यक्रममा आफ्नो आत्मविश्वास व्यक्त गरेका थिए, ‘हामी १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ र प्रदेशसभामा पनि सबै क्षेत्रमा उम्मेदवार उठाउँछौं। राष्‍ट्रिय पार्टी त हुन्छौं, हुन्छौं। अरू दल हाराहारीकै सिट आउँछ।’

उनको त्यो आत्मविश्वासयुक्त अभिव्यक्तिको अन्तर्य हिन्दूवादी संघ-संगठनले दिएको भरपुर साथ नै थियो भन्‍नेमा द्विविधा छैन।

विश्व हिन्दू महासंघकी अन्तर्राष्‍ट्रिय कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी पनि राप्रपालाई आफूहरूले निर्वाचनमा साथ र सहयोग दिएको स्वीकार्छिन्। नेपाल र भारत दुवैतिर भएका धार्मिक सभामा नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने र राजालाई धर्मको अभिभावकको रूपमा राख्‍ने पार्टी, संघसंस्था र व्यक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको उनी बताउँछिन्।

चुनावअघि महासंघले आयोजना गरेको सभाले राप्रपालाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा ठूलो सहयोग मिलेको उनको भनाइ छ। उक्त सभामा हिमाल, पहाड, तराई सबै क्षेत्रबाट धर्मगुरुहरूको सहभागिता थियो। उक्त धर्म सभाको संयोजक योगी नरहरिनाथका शिष्‍य तथा उत्तराधिकारी बलभद्रनाथ योगी थिए।

उनीसँगै सञ्‍जय साई बाबा, विश्व हिन्दू महासंघको अन्तर्राष्‍ट्रिय कार्य सम्पादन समिति, कार्यकारिणी समिति, नेपाल राष्‍ट्रिय समिति बाँसबारी, विश्व हिन्दू महासंघ भारत च्याप्टर, विश्व हिन्दू महासंघ उत्तरप्रदेश, हिन्दू युवा वाहिनी भारतलगायतका पदाधिकारीको उपस्थिति थियो।

धर्मसभालगत्तै महासंघले वत्तव्य नै जारी गरेर हिन्दूवादीहरूलाई जिताउन अपिल गरेको थियो। त्यो भनेको राप्रपा नै थियो। र, महासंघले आफ्ना सबै शाखाहरूमा राप्रपालाई सहयोग गर्न सर्कुलर नै जारी गरेको थियो।

‘पछिल्लो समय मुलुकमा विधर्मीहरूको बढ्दो प्रभावलाई निस्तेज बनाउन आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाषा, धर्म र संस्कृतिको संरक्षण एवं हिन्दू अधिराज्य पक्षधरका दलीय उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा महासंघले भनेको थियो, ‘स्वार्थी र विधर्मी नेताहरूलाई पटक-पटक नेतृत्वमा पठाउँदा भाषा, धर्म र संस्कृति मात्र नभई सामाजिक सद्भाव, परम्परा तथा धार्मिक मूल्य मान्यता र सांस्कृतिक एकतामा दिनानुदिन विचलन सिर्जना हुँदै आएको पक्षप्रति गम्भीर बन्दै आसन्‍न निर्वाचनमा सचेत भई हाम्रो धर्म संस्कृतिको रक्षाका लागि हिन्दू अधिराज्यको पक्षमा रहेका उम्मेदवारलाई मात्र मतदान गर्नु होला।’

त्यसबाट हिन्दू राज्य बनाउनुपर्छ भन्‍ने माग लिएर हिँडेको राप्रपालाई धेरै सहयोग मिलेको देखिन्छ। महासंघले उठान गरेका मुद्दा र राप्रपाले उठाउँदै आएका माग एउटै भएका कारण पनि महासंघबाट गरिने कार्यक्रमले निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। महासंघ उपाध्यक्ष भण्डारी भन्छिन्, ‘यसपटकको निर्वाचनमा हिन्दूकै मुद्दा लिएर चुनावमा होमिने पार्टी भनेको राप्रपा मात्र हो। अरू कोही-कोही व्यक्तिले हिन्दूका केही मुद्दालाई उठाएका त थिए होलान्। हामीले गरेको सभाले राप्रपाले धेरै फाइदा पुग्यो।’

त्यसो त, चुनावमा हिन्दूवादीहरूको सक्रियता धर्मसभामै सीमित थिएन। कतिपय धर्मगुरुहरू नै प्रत्यक्ष रूपमा राप्रपाका लागि भोट माग्दै हिँडेका थिए। तीमध्ये एक हुन्, आत्मानन्द गिरी। उनी आफैं चितवन देवघाटको कार्यक्रममा उपस्थित भएका थिए। उनीसँगै अन्य धर्मगुरुहरू पनि चुनावी अभियानमा देखिएका थिए। सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती पनि राप्रपालाई भोट माग्न खुलेरै प्रकट भए।

होलीवाइन प्रकरणमा जोडिएर विवादमा आएका डा. चिन्तामणिनाथ योगीले पनि यसपटक राप्रपालाई खुलेरै भोट मागे। राप्रपालाई भोट माग्दै उनले लेखेका थिए, ‘भारतका साधुसन्त, शंकराचार्य, स्वामी, योगीहरू सबैले भारतीय जनता पार्टीलाई खुला रूपले निर्धक्क समर्थन गर्न मिल्ने र त्यो कुरा थाहा पाउँदा मख्ख पर्ने हामी तर नेपालकै हिन्दूराष्ट्र उदघोषक र संवाहक राप्रपालाई समर्थन गर्नुपर्दा अल्मलिने पनि हामी ! कहिलेसम्म रहने यस्तो निर्णयहीनता ? स्वाभिमानशून्यता ? शुष्कबौद्धिकता ?’ जे होस्, यसपटक डा. योगीले होलीवाइनका कारण विवादित छविलाई हिन्दूवादीमाझ ‘सुधार्ने’ प्रयत्न गरे।

आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.