चुनावअघि र चुनावको मुखमा पार्टी छाडेर उम्मेदवारी दिएका सातजना नेताहरू मध्ये चारजनाले हार बेहोरे भने तीनजनाले मात्र जित हात पारे ।
काठमाडौं- माओवादी केन्द्रका नेता लेखराज भट्ट नेकपा विभाजनसँगै माओवादी छाडेर एमाले प्रवेश गरे। एमाले प्रवेशसँगै भट्टले पहिलोपटक नै एमालेबाट चुनाव लड्न टिकट पाए। उनी आफ्नो पुरानो क्षेत्र कैलाली-४ बाटै चुनाव लडे। तर, जित्न सकेनन्।
माओवादीमा हुँदा उनी सोही क्षेत्रबाट ०६४ र ०७४ साल गरी दुईपटक निर्वाचित भएका थिए। ०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए। यसपटक उनी कांग्रेसका बीरबहादुर बलायरसँग पराजित भएका छन्। कांग्रेसका बलायरसँग भट्ट ३ हजार ६१२ मतान्तरले पराजित भए।
त्यसो त, एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई पनि पार्टी छाडेर लाभ मिलेन। पार्टीमा नीति नभई व्यक्ति हावी भएको बताउँदै भुसालसहित रुपन्देही क्षेत्र नम्बर १ का ३७ जना नेताले एमाले छाडेका थिए। एमाले छाडेपछि ४ मंसिरको चुनावमा भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारी दिए पनि भुसाललाई पाँचदलीय सत्ता गठबन्धनको साथ थियो। तर, उनी आफ्नो पुरानो पार्टी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए।
एमाले छाडेपछि भुसालले छोटो समयमा संगठन विस्तार गर्न नसक्नु, सत्ता गठबन्धनको समर्थन रहे पनि कांग्रेसभित्रको गुट-उपगुटलाई मिलाउन नसक्नु उनको पराजयको कारण बनेको छ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालकी नेतृ गंगा चौधरी ती भाग्यमानी सांसद हुन्, जो औपचारिक रूपमा एमाले प्रवेश नगर्दै सामानुपातिकतर्फ एमालेको सूचीमा परिन्। थरुहट आन्दोलनको समयमा एमालेको कटु आलोचक रहेकी गंगाले सांसद बन्न पाउने भएपछि एमालेसँग हात मिलाइन् र समानुपातिकबाट सांसद बनिन्। ०७४ सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी गंगाले यसपटकको निर्वाचनमा भने प्रत्यक्षतर्फ चुनाव लड्न टिकट मागिन्। तर, पार्टीले दाङ-१ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने भएपछि असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिन्। र, हाम्रो नेपाली पार्टीबाट चुनाव लडिन्। उनले राम्रो मत ल्याउन सकिनन्, जमानत नै जफत भयो।
एमालेभित्र उम्मेदवारीलाई लिएर बनेको किचलोको फाइदा भने सत्ता गठबन्धनतर्फका उम्मेदवार एकीकृत समाजवादीका मेटमणि चौधरीले उठाए। गंगाले १ हजार ९३ मत ल्याउँदा शान्ताले २१ हजार ४९३ र निर्वाचित मेटमणिले २६ हजार ५७६ मत ल्याए।
यस्तै, ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा-४ मा राजपाबाट निर्वाचित एकवाल मियाँ चुनाव अघिसम्म लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य थिए। चुनावमा पाँचदलीय गठबन्धन गर्ने भएपछि लोसपा पनि सत्ता गठबन्धनमा गाँसियो। गठबन्धनका कारण बारा-४ एकीकृत समाजवादीको भागमा पर्यो। टिकट लिएर चुनाव लड्न चाहने मियाँले टिकट नपाउने भए। गठबन्धनमा रहँदा टिकट नपाउने भएपछि अन्य विकल्प सोचिरहेका मियाँलाई एमालेले टिकट दिने भन्दै लोभ्यायो। एमालेबाट फुटेको एकीकृत समाजवादीका उम्मेदवारलाई हराउने दाउमा उनलाई टिकट दिइयो। तर, एमालेको यो दाउ उनकै लागि भारी पर्यो। एकीकृत समाजवादीका किसान श्रेष्ठले उनलाई लगभग १० हजार मतान्तरले पराजित गरे।
नेकपा विभाजनपछि तथा चुनावमा टिकट नपाउने भएपछि पार्टी छाडेका केही पराजित भए पनि केहीले भने जित हासिल गरेका छन्। नेकपा विभाजनपछि माओवादी छाडेर एमालेमै बसेका टोपबहादुर रायमाझीले भने जित हासिल गरेका छन्। उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि भएका तीनवटै आम निर्वाचनमा लगातार अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन्।
तत्कालीन माओवादीको शीर्ष तहका नेता रायमाझीले दुईपटक आफ्नै बलमा र ०७४ सालको निर्वाचनमा एमालेको समेत मत पाएर करिब १८ हजारको भारी मतान्तरमा सांसद निर्वाचित भएका थिए। यसपटक उनले कांग्रेसकी नेतृ पुष्पा भुसाल गौतमलाई पराजित गरेका हुन्।
पार्टी छाडेर निर्वाचित हुने अर्का नेता हुन्, प्रभु साह। एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका साह रौतहट-३ बाट निर्वाचित भएका छन्। रौतहट-३ मा गठबन्धनले माओवादी केन्द्रका रविन्द्र पटेललाई उम्मेदवार बनाए पनि साहको प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाश थिए। सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पटेल तेस्रो स्थानमा रहे।
यस्तै, कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुने आमनिर्वाचनमा पार्टीले आधिकारिक मानेको उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै कांग्रेस नेता अमरेशकुमार सिंहसहित ७४ जनालाई पार्टीबाट निष्काशन गर्यो। सिंह निर्वाचन लड्ने क्षेत्र सर्लाही-४ मा कांग्रेसले सर्लाही-२ का बासिन्दा नागेन्द्र कुमारलाई उम्मेदवार बनाउने भएपछि सिंहले अयोग्य उम्मेदवार उठाएको भन्दै विरोध जनाए। कांग्रेसले निर्णय फिर्ता नलिएपछि सिंहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरे। उनी कांग्रेसका कुमाललाई १ हजार ७६४ मतान्तरले पराजित गर्दै निर्वाचित भए।