काठमाडौं- दशैं हिन्दूहरूको मुख्य चाड। विजया दशमीलाई वडादशैंका रूपमा मनाउने गरिन्छ। किनमेल गर्ने, मिठो-मिठो खाने, आफन्तजन, इष्टमित्रसँग भेटघाटका कारण पनि दशैं सबैका लागि विशेष हुन्छ।
वर्षमा एकपटक आउने पर्वमा सबैलाई मिठो मसिनो खाऔँ, राम्रो लगाऔँ भन्ने हुन्छ, जसका कारण किनमेल पनि धेरै गर्ने गरिन्छ। एकैचोटि धेरै सामान खरिद गर्नु पर्दा खर्च पनि धेरै हुन्छ।
पैसा तिरेपछि गुणस्तरीय सामान नै खोजिन्छ पनि। त्यसैले आफूले किनेको सामान गुणस्तरीय होस् र किन्दा केही सहुलियत पनि होस् भनेर ललितपुर पाटनका चन्द्रबहादुर श्रेष्ठ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय थापाथलीको सुपथ मूल्य पसल आइपुगेका छन्।

ललितपुर पाटनका चन्द्रबहादुर श्रेष्ठ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय थापाथलीमा सामान खरिदपछि
दश-दश किलोका बास्मती चामलका बोरा हातमा झुन्ड्याउँदै श्रेष्ठले भने, ‘बाहिर पसलमा किन्दा मिसावट होला भन्ने पिर हुन्छ। यहाँको चामल किन्दा ढुक्क लाग्छ त्यसैले यतै चामल किन्न आएको।’
श्रेष्ठजस्तै बालाजुका सिद्धिनारायण महर्जन साइकल लिएर गहुँ लिन आइपुगेका थिए। दशैंको बेला जहाँ सस्तो हुन्छ, त्यहीं सामान किन्ने गरेको उनले बताए।
एक बोरा गहुँको उनले १३ सय ५० रुपैयाँ तिरेका छन्। बाहिर किनेको कुनैमा किरा परेको भेटिएकाले सुपथ मूल्य पसलमै किन्न आएको बताए। दशैं आउन अझै केही दिन बाँकी भएकाले चामल, तेल लिन अर्काे कुनै दिन आउने उनले बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि दशैं तिहार लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। यस वर्षको दशैं नजिकिँदा अहिले कम्पनी परिसरमा निकै भीडभाड छ। १ असोजदेखि सञ्चालनमा आएको पसलमा चामल, दाल, तेल, गहुँ, कर्णालीको सिमी, आँटा, मैदा, चिउरा, नुनलगायत २९ थरिका सामान पाइन्छन्।

सुपथ मूल्य पसल काठमाडौं उपत्यकाका रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक गरी चार स्थानमा सञ्चालन भइरहेका छन्। रामशाहपथबाहेक अन्य तीन स्थानमा ग्राहकको सेवालाई मध्यनजर राख्दै बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन्।
यसअघि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल सञ्चालन हुने गर्थ्यो। यसवर्ष कम्पनीले कम्प्युटर बिलिङको सिस्टम पनि ल्याएको छ, जसले गर्दा सामान खरिद गर्ने ग्राहकलाई झुक्किएर कम या धेरै सामान जाने समस्या नहुने सुवेदीले बताइन्।
उपभोक्ताले शुरुमा आफूले कुन सामान खरिद गर्न लागेको हो, ती सामान टिपोट गरेर त्यसको मूल्य तिरेपछि प्राप्त भएको बिलबाट सामान लिन सकिने छ। त्यसैगरी सामान थपघट भयो कि भनेर बाहिर निस्कनुभन्दा पहिला पुनः चेक पनि गर्ने गरिएको छ।

कम्पनीले सुपथ मूल्य पसलमा सामान किन्न आउने अपांग, अशक्त र वृद्धवृद्धालाई कार्यालयको डेलिभरी भ्यानमार्फत सामान पुर्याइदिने गरेको छ। ‘सस्तो भनेर सामान किन्न आउनुहुन्छ तर ट्याक्सीमा जानुपरे भाडा तिर्दा उही मूल्य पर्छ। त्यही भएर उहाँहरूको अवस्था हेरेर घरसम्मै सामान लाने काम पनि गरिरहेका छौं,’ सुवेदीले भनिन्।
सुपथ मूल्य पसलमा गत वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिइएकामा यस वर्ष ७ रुपैयाँ छुट् दिएको छ। उपत्यकाका चार स्थानबाटै एउटै सामान समान मूल्यमा पाइने भएकाले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको अनलाइन सेवामार्फत सामान माग गरेका उपभोक्तालाई घरमै सहुलियतमा सामान पुर्याउने व्यवस्था पनि गरिएको छ। कम्पनीले दशैंका लागि दुई हजार खसीबोका र एक हजार च्यांग्रा ल्याउने तयारी गरेको छ। जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट् पाइनेछ।


