काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अध्यक्ष लीबीच मंगलबार बिहान ९ बजे संघीय संसद् भवनमा भेटवार्ताको कार्यक्रम तय भएको छ। यस्तै, संघीय संसद् भवनमै मुख्य विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग उनले शिष्टाचार भेट गर्ने छन्।
संघीय संसद् भवनमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ। यस्तै, मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्ने छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
नेपालको चार दिने भ्रमणका क्रममा अध्यक्ष ली सोमबार अपराह्न काठमाडौं आएका हुन्। सभामुख सापकोटाको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।