काठमाडौं- ‘तालको पानी माछीले खानी’, ‘रेशम’, ‘छेक्यो छेक्यो देउराली डाँडा’लगायत सदावहार गीतका गायक हुन्, अमृत गुरुङ। लोकपप गीतबाट युवापुस्तामा चर्चित गायक गुरुङ नयाँ कोशेलीका साथ स्रोता तथा दर्शकमाझ आउने भएका छन्।
उनका एकैसाथ चारवटा गीत बजारमा आउँदै छन्। सन् १९९० को दशकमा जन्मेको पोखरेली ब्यान्ड ‘नेपथ्य’ले एकपछि अर्काे गर्दै ल्याएका दर्जनौँ गीतहरूले युवापुस्तामा एकछत्र राज गरिरहेका छन्। गायक गुरुङका गीतहरू अहिले सबैको ओठमा झुन्डिएका छन्। ‘जोमसोमै बजारमा’, ‘लामपाते सुरती’, ‘चरी म¥यो सिसैको गोली’, ‘शिर फूल शिरैमा’ उनका अन्य चर्चित गीत हुन्। त्यसैगरी देशभक्ति गीत ‘रंगीन चरा’, ‘कता लाग्यौ मेरा दिदी दाइ हो’लगायत गीतले पनि उत्तिकै चर्चा कमाएका छन्।
पोखराको बाटुलेचौरमा जन्मिएका गुरुङलाई सानैदेखि चित्रकार बन्ने रहर थियो। तर, विस्तारै उनलाई वनपाखा, मेलापात गर्दा गुञ्जिने लोकगीतहरूले ताने। सानैदेखि बाटुलेचौरमा गन्धर्वले गाएका गीत सुनेका गुरुङलाई गन्धर्वसँगै देउसी भैलो खेल्न, रमाइलो गर्न र सँगै गीत गाउँदा खुब रमाइलो लाथ्यो।
स्कुले जीवनमा चित्रकला नाटकमा मात्र भाग लिने गरेका गुरुङ गीत गाउन स्टेज भने मुस्किलले चढ्थे। कहिले साथीभाइको करकापमा त कहिले उनीहरूको लहैलहैमा लागेर गीत गाउँथे। जागिर खाइन्छ, आफ्नो बाटो लागिन्छ भन्ने सोचका साथ अगाडि बढिरहेका उनी विस्तारै गीत संगीतमा भिज्न र रुझ्न थाले। त्यसपछि विस्तारै उनी सिरियस भएर गायन क्षेत्रमा लागे र यसलाई स्तरीय गर्नुपर्छ भनेर लागिपरे।
उनका गीत सरल, ठाउँ विशेष जनाउने, माया प्रेम झल्किने, कला संस्कृति दर्शाउने खालका छन्। देशको परिस्थिति र विकृतिलाई उनी गीतमार्फत पोख्छन्।
‘नेपथ्य’ले एक वर्ष अगाडि ‘कता लाग्यो मेरा दिदी दाइ हो’, ‘यो जिन्दगानी’ ‘अग्लिने सुरमा’, ‘आइजो निदरी’ र ‘सानो कुरा’ बोलका गीत सार्वजनिक गरेको थियो। गुरुङले दुई महिनाअघि नेपाली चलचित्र ‘दोख’ मा ‘वनचरी उड्यो’ टाइटल गीत गाएका छन्।
उनका नयाँ गीत कस्ता हुनेछन्, गुरुङका प्रशंसकहरू ती नयाँ गीत सुन्न आतुर छन्। उनी निकट स्रोतका अनुसार दुई महिनापछि मात्र ती गीत बज्न थाल्ने छन्।