मैले व्रत बस्न थालेको १२ वर्ष भइसक्यो । होस्टेलका दिदीहरू व्रत बस्थे । उनीहरूलाई हेर्दाहेर्दै रहरैरहरमा मलाई पनि व्रत बस्न मन लाग्यो । वर्षमा एकचोटी निराहार बस्दा स्वास्थ्यका लागि राम्रो, मनलाई पनि आनन्द मिल्छ ।
अहिले बुझ्दै जाँदा सबैभन्दा ठूलो कुरा आत्म सन्तुष्टि र मनको खुसी रहेछ । त्यसैका लागि तीज मनाउँदै आइरहेकी छु । तीज भन्ने बित्तिक्कै छुट्टै रमाइलो लाग्छ । पहिले र अहिलेको तीजमा अलिअलि फरक आएको छ । तर जे होस् सबै जना खुशी हुनुहुन्छ । त्यहीँ नै ठूलो कुरा हो ।
हरेक चाडपर्वले लिएर आउने भनेकै खुसी हो । खुसी भनेकै आफन्तसँग भेटघाट, रमाइलो अनि मिठोमसिनो खाने हो । जे गर्दा खुसी मिल्छ, त्यसरी नै तीज मनाउनु पर्छ ।
बिनारोकटोक नाच्न, हाँस्न र गाउनलाई तीज नै कुर्नुपर्छ भन्ने पनि होइन । बस आफू खुशी हुनलाई शुभ मुर्हत पर्खनु पर्दैन । व्रत बस्दै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्न जरुरी छ ।