काठमाडौं- नेपाली चलचित्रमा डेब्यू गर्नुअघि नै धीरज मगर ‘भ्लगर’का रूपमा चर्चित भइसकेका थिए। त्यही चर्चाको परिणाम थियो, डेब्यू फिल्म ‘इन्टु मिन्टु लनडनमा’बाटै उनको करिअरले ‘ब्याङ’ गर्यो।
नेपालमा जन्मे पनि बाल्यकालदेखि नै बेलायत बस्दै आएका धीरज सन् २०१३ मा ‘धीरज मगर’ नामक युट्युब च्यानलमा जोडिए। उनले उक्त च्यानलमार्फत भ्लग पस्किने गर्थे। धीरजको युट्युब च्यानलमा दैनिक जीवनलगायत समाजसम्बन्धित भ्लगहरू अझै देख्न सकिन्छ।
उनको युट्युब च्यानलमा दुई लाखभन्दा बढी सब्स्क्राइबर छन्। र, २६० वटा भिडियो अपलोड भएका छन्। उनी स्वदेश र विदेश दुवैतिर एकदमै रुचाइएका भ्लगरमा पर्छन्।
धीरजलाई युवा-युवतीले चकलेटी हिरोका रूपमा चिन्छन्। चिटिक्क मिलेको खिरिलो ज्यान, उज्यालो अनुहार त्यसमाथि मन्द मुस्कान। झट्ट हेर्दा नै उनको व्यक्तित्वको निखार झल्किन्छ। विशेषगरी, उनको डेब्यू फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ प्रदर्शित चकलेटी अनुहार (क्युट लुक)लाई धेरैले मन पराए। फिल्ममा मात्रै नभएर उनको युट्युब च्यानलमा पनि उनलाई धेरैले ‘क्युट ब्वाय’ भन्दै प्रतिक्रिया दिएका छन्।

फिल्म ‘इन्टु मिन्टु लन्डनमा’देखि १४ असोजमा रिलिज डेट तोकिएको ‘बाबरी’सम्म आउँदा उनको अभिनयमा धेरै परिवर्तन आइसकेको छ। ‘इन्टु मिन्टु लन्डनमा’ उनी गितार लिएर बाटोमा गीत गाउँदै हिँड्ने युवकका रूपमा देखिएका थिए। त्यसरी गीत गाउँदै हिँड्ने युवक अचानक एक युवतीको प्रेममा पर्छ। ती युवती हुन्छिन्, बेलायतका लागि नेपाली राजदूतकी छोरी। फिल्ममा राजदूतको भूमिकामा दिलभुषण पाठक देखिएका छन्। उनकी छोरीको भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन्। ‘इन्टु मिन्टु लन्डनमा’बाट धीरजले अभिनेताको राम्रो छवि विकास गरे। र, फिल्मले पनि राम्रो कमाइ गर्यो।
र, रिलिज हुन लागेको दोस्रो र अभिनय गरेको तेस्रो फिल्म ‘बाबरी’बाट पनि राम्रै प्रतिक्रिया पाउने आत्मविश्वासमा छन्, धीरज। ‘इन्टु मिन्टु लन्डनमा’ रिलिज हुँदा हलमा ओइरिएका दर्शक देखेर उनी आश्चर्यचकित हुन्थे। बेलायतमा हुर्केका धीरजका लागि नेपाल एक हिसाबबाट नयाँ परिवेश थियो। ‘इन्टु मिन्टु लन्डनमा’ बाल्यकालमा धेरैले सुनिरहेको वाक्य हो- ‘इन्टु मिन्टु लन्डनमा, हाम्रो बाबा पल्टनमा। स्कुलको पाले दाइ, पहिलो घण्टी बजाइदेउ। टिनिनिsssssss…..झ्याप्प !!’ त्यसैले पनि यो चलचित्र दर्शकले रुचाएको हुनसक्ने धीरजको आकलन छ।
यो फिल्म सुटिङ र फिल्म रिलिजका क्रममा नेपाल बस्दा मात्र उनले भेउ पाए, स्वदेशमा आफ्नो प्रशंसकबारे। त्यतिन्जेल उनलाई नेपालमै आफ्ना प्रशंसक त्यति धेरै रहेको हेक्का थिए। बेलायतमा छँदा ‘डायस्पोरा’को नेपाली समाजको भने राम्रो साथ, माया पाएका थिए, उनले। धीरजले विदेशमा युट्युब च्यानलमार्फत लोकप्रियता बटुलिरहँदा यता नेपालमा युट्युब भर्खर बामे सर्दै थियो। त्यसैले पनि उनलाई नेपालमा धेरैले नरुचाउने हुन् कि भन्ने आशंका थियो, जुन पछि गलत सावित भयो। भन्छन्, ‘मैले फिल्म खेलिसकेपछि मलाई धेरैले धीरज मगर भ्लगर हो भनेर चिन्नुहुँदो रहेछ। त्यो हिसाबले दर्शकको माया मैले धेरै पाएँ भन्ने आजकाल महशुस हुन्छ।’

उनको पहिलो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र थियो। अब आउने ‘बाबरी’मा उनलाई एकदमै भिन्न रूपमा देख्न सकिनेछ। धेरै समय बेलायतमा बसेका धीरजलाई नेपालमा लेटाङ भन्ने ठाउँ भएको जानकारीसमेत थिएन। मोरङमा पर्ने त्यही लेटाङका ‘ठकुरी केटा’को भूमिकामा उनलाई ‘बाबरी’मा देख्न सकिने छ। ‘मलाई ठकुरी वंशको बारेमा धेरै जानकारी थिएन। साथीभाइसँग भेट भएको भए पनि पूर्ण रूपमा थाहा थिएन। धेरै कुरा मेरो लागि नौलो थियो,’ उनी भन्छन्, ‘मैले ठकुरी युवकको क्यारेक्टरका लागि ठकुरीको इतिहास पल्टाएर हेरेँ। उनीहरूको परिवेश अध्ययन गरिसकेपछि बल्ल आफूलाई ठकुरी युवकको भूमिकामा उभ्याउन सकें। आफूले कहिल्यै नगरेको भूमिका गर्न पाएँ, ‘बाबरी’का लागि। एकदमै उत्साहित छु।’ फिल्म ‘बाबरी’को कथावस्तु जान्नका लागि दर्शकले असोजसम्म धैर्यसाथ प्रतीक्षा गर्नुपर्नेछ।
फिल्म ‘बाबरी’को केही दिनअघि आधिकारिक टिजर रिलिज भएको छ। १ मिनट २० सेकेन्डको लामो टिजरमा धीरजले अभिनेत्री अदिती बुढाथोकीलाई फकाउँदै गरेको देख्न सकिन्छ। फिल्ममा अर्का मुख्य कलाकार धीरज नाडकरलाई पनि देख्न सकिने छ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। ‘बाबरी’ १४ असोजमा दशैंको छेको पारेर देशभरका सिनेमा घरहरूमा एकसाथ प्रर्दशनमा आउँदैछ। फिल्ममा धीरज मगर, धीरज नाडकर, अदिती बुढाथोकी, बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलीप गुरुङलगायत कलाकारको अभिनय छ।
फिल्म सुटिङका क्रममा अत्यधिक रमाइलो गरेको धीरज बताउँछन्। भन्छन्, ‘तीनैजना सुटिङमा एकदमै मिल्थ्यौं। मेरो अभिनेता धीरज नाटकरसँग पनि धेरै राम्रो बोन्ड क्रिएट भयो। सम्बन्ध पनि तीनजनाको एकदम राम्रो भएको छ। हाम्रो रिलेसन बोन्ड देखेर निर्माता टिमले पनि अरू प्रोजेक्टमा कलाकारबीच यस्तो बोन्डिङ कमै देखिन्छ भन्नुहुन्थ्यो। धेरै नै रमाइलो भयो।’
को हुन् धीरज ?
२०५१ सालमा रुकुमको तक्सेरामा जन्मेका हुन्, धीरज। उनलाई नेपालको परिवेश थाहा हुने कुरै भएन, किनकि उनी अढाइ वर्षको छँदै स-परिवार बेलायत गएका थिए। उनका बुवा ब्रिटिस लाहुरे थिए, सोही कारण उनको परिवार बेलायतका धेरै शहरमा बस्यो। हाल उनको परिवार बेलायतस्थित ‘अक्सफोर्ड’ शहरमा बस्छ।
बेलायतमै छँदा युट्युब च्यानलमार्फत धीरजको नेपाली समुदायसँग राम्रो सम्बन्ध बन्यो। उनलाई धेरैले चिन्ने भएकाले नेपाली इभेन्टहरूमा निम्तो आइरहन्थ्यो। उनले स्कुलको अन्तिम वर्ष सकिएपछि खाली भएको समयमा केही नयाँ गरौं भन्ने अभिप्रायले युट्यब च्यानलमार्फत भ्लगिङ शुरु गरे। उनले कलाकारिताबारेमा केही पनि सोचेका थिएनन्। आफू नेपाली चलचित्र क्षेत्रमा आउने सपनामा त देखेकै थिएनन्। भन्छन्, ‘युट्युबहरूमा चलचित्रहरू हेर्दा एक किसिमको इच्छा त जाग्थ्यो। तर, म यही क्षेत्रमा आउँछु भन्ने लागेको थिएन।’ उनले पहिलो भ्लग ‘नेपाली अभिभावकको छोराछोरीप्रतिको व्यवहार कस्तो हुन्छ’ भन्ने गरेका थिए। उक्त भ्लग धेरैले रुचाएको उनी सम्झन्छन्। पहिलो भिडियो नै अत्यधिक रुचाइएपछि उनी र उनका साथीहरूको खुशीको सीमा थिएन।
‘विभिन्न किसिमका भ्लगहरू बनाउने भएर मलाई कोरियन सरकारले सन् २०१६ मा टुरिजम भ्लग बनाइदिन एक साताका लागि बोलाएको थियो,’ उनी भन्छन्, ‘टुरिजम भ्लगमार्फत कोरियाका खाना, त्यहाँको रितिरिवाज, संस्कृति, ठाउँको बारेमा ‘भ्लग’ बनाइदेऊ भन्नुभएको थियो। भ्लगमार्फत मैले यस्तो सुनौलो अवसर पाउँछु भनेर कल्पनासमेत गरेको थिइँन। भ्लग त मैले आफ्नै रमाइलोका लागि शुरु गरेको थिएँ। तर, त्यसबाट मलाई धेरै फाइदा भयो।’

सन् २०१७ मा ‘यूके डान्सअप’ भन्ने प्रतिस्पर्धा भएको थियो, लन्डनमा। उक्त प्रतिस्पर्धामा ‘इन्टु मिन्टु लन्डनमा’की निर्देशक रेनशा वान्तवा राई कोरियोग्राफर तथा जजका रूपमा सहभागी थिइन्। उक्त कार्यक्रममा धीरज पनि आमन्त्रित थिए। भन्छन्, ‘तिम्रो भ्लगर भ्युज राम्रो छ। युवा जमातलाई जम्मा गर्न सक्छौ भनेर कार्यक्रम आयोजकले मलाई बोलाउनुभयो। शुरुकै दिन निर्देशकसँग मेरो परिचय भयो। उहाँलाई शायद म फिल्म खेल्न सक्छुजस्तो लाग्यो होला। उहाँले आफूले एउटा फिल्म बनाउने सोचेको र त्यसको सुटिङ पनि बेलायतमै गर्ने भएकाले तिमी अभिनय गर्छौ भनेर अफर गर्नुभयो।’
उनले त्यतिबेला यूके छोडेर किन नेपाल जानु, यतै राम्रो भइरहेको छ भन्ने सोचेका थिए। ‘मलाई त्यसअघि पनि फिल्मको अफर नआएको होइन, तर यस क्षेत्रका बारेमा केही नसोचेर फिल्म खेलिहाल्ने आँट गरिनँ,’ उनी भन्छन्, ‘तर, निर्देशकले ‘एक पटक स्क्रिप्ट पढ’ भनेपछि मैले पढें। स्क्रिप्ट पढिसकेपछि मलाई फिल्म क्षेत्रमा आउनु छ भने यही प्रोजेक्ट हो भन्ने आभास भयो। त्यसपछि यसैको लागि दुई साताका लागि नेपाल आएँ। त्यतिबेला मैले अभिनयको क्लास पनि लिएँ।’
उनका अनुसार नेपाल आएपछि फिल्म खेल्ने पक्का भएपछि उनी पुनः बेलायत गए। त्यसको ३-४ महिनापछि फिल्म सुटिङका लागि नेपाल आए। उक्त फिल्मको ४० प्रतिशत सुटिङ नेपालमा र ६० प्रतिशत बेलायतमा भएको थियो।
धीरजलाई नेपाली चलचित्र क्षेत्रले स्टार अभिनेताको लिस्टमा राखिसकेको छ। तर, दोस्रो चलचित्र दर्शकमाझ आउन केही समय लाग्यो। कारण हो, कोरोना महामारी। सबै क्षेत्र प्रभावित बनाएको कोरोनाबाट चलचित्र क्षेत्रमा पनि अछुतो रहने कुरा भएन। सोही कारण डेब्यू चलचित्रकी निर्देशक रेनशा निर्देशित दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ रिलिज हुन बाँकी छ। त्यसैले उनले सुटिङ गरेको तेस्रो सिनेमा ‘बाबरी’ले उनको करिअरको दोस्रो फिल्म बन्ने अवसर पाएको छ। सुटिङमा दोस्रो र रिलिजमा तेस्रो बन्ने ‘आई एम ट्वान्टी वान’ आगामी अंग्रेजी नयाँ वर्षमा प्रदर्शनमा आउने लगभग पक्का छ।
फिल्म ‘बाबरी’ धीरजका लागि ‘च्यालेन्जिङ’ थियो। किनकि, उनले एकदमै भिन्न क्यारेक्टरमा आफूलाई ढाल्नुपर्ने थियो। उनी मगर समुदायका सदस्य हुन् र चलचित्रमा ठकुरी युवकको हाउभाउ जस्ताको तस्तै फिल्ममा उतानुपर्ने थियो। एक किसिमले धीरजका अगाडि ठूलै चुनौती थियो। भन्छन्, ‘आई एम ट्वान्टी वानको सुटिङ गर्ने भनेर नेपाल आउँदा पहिलोपटक आउटसाइड निर्देशकसँग भेट भएको भनेको सुरेन्द्र पौडेल दाइसँग हो । किनभने ‘इन्टु मिन्टु लन्डनमा’ र ‘आई एम ट्वान्टी वान’मा एउटै निर्देशकसँग काम गरें। सुरेन्द्र दाइले नै ‘बाबरी’को लागि अफर गर्नुभयो। उहाँबाट फिल्मको क्यारेक्टरबारे सुनिसकेपछि काम गरौंजस्तो लाग्यो। आफूभन्दा फरक क्यारेक्टर गर्न एकदम उत्सुक थिएँ। तर, तत्काल उक्त फिल्मलाई साइन गरिरहाल्ने अवस्थामा म थिइनँ।’
कारण थियो, जतिबेला फिल्म ‘बाबरी’को अफर आयो, उनी ‘आई एम ट्वान्टी वान’को सुटिङमा व्यस्त थिए। निर्देशक पौडेलले ‘आई एम ट्वान्टी वान’ सँगै प्रदर्शनमा आउने गरी सुटिङ गर्ने भनेपछि धीरजलाई काम गर्न सक्दिनँ कि जस्तो नलागेको होइन। तर, कोरोनाको दोस्रो लहरका कारण ‘बाबरी’को प्रोजेक्ट केही समय ढिला हुने भयो। दोस्रो लकडाउन खुलेपछि कोभिडका कारण रोकिएको प्रोजेक्ट पुनः शुरु हुने भयो।
‘दोस्रोपटक फिल्मका लागि अफर आउँदा ‘आई एम ट्वान्टी वान’को सुटिङ अन्तिम चरणमा पुगिसकेको थियो। त्यसपछि मैले पनि निर्देशक दाइलाई, ‘फिल्म गर्छु’ भनें,’ उनी भन्छन्, ‘एउटै समयमा मलाई दुईवटै प्रोजेक्टलाई सन्तुलन गर्नुपर्ने भयो। एकातिर ‘आई एम ट्वान्टी वान’को क्यारेक्टर गरिरहेको थिएँ। अर्कोतर्फ ‘बाबरी’को क्यारेक्टरमा पनि उत्रिनु थियो। त्यही भएर शुरुको चरणमा एकदमै गाह्रो भएको थियो। समय एकदम कम थियो तर मलाई ‘बाबरी’को टिमले एकदम सहयोग गर्नुभयो।’
उनी डेब्यू फिल्ममा एउटा नयाँ अभिनेता, नेपाली सिने जगतमा नयाँ अनुहार थिए। भन्छन्, ‘धेरै कुरा सिक्दै थिएँ, अझै धेरै कुरा सिक्न बाँकी नै छ। तर, ‘बाबरी’मा मेरो अभिनयमा सुधार आएको र एउटा राम्रो अभिनेता बन्न सक्छ है भन्ने दर्शकले प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ।’
धीरजलाई प्रायः थ्रिलर र सस्पेन्स फिल्म मन पर्छन्। र, उनलाई पनि आगामी दिनमा यस्ता चलचित्रमा काम गर्न एकदमै इच्छा छ। तर, नेपाली परिवेश फरक भएकाले थ्रिलर वा सस्पेन्स फिल्म ल्याउँदा दर्शकमाझ भिज्न नसकिने हो कि भन्ने उत्तिकै चिन्ता छ। सस्पेन्स फिल्म र दर्शकलाई एकअर्कासँग कनेक्ट गर्न नसक्दा पनि यस्ता चलचित्र जोखिममा छन् भन्ने उनलाई लाग्छ। प्रविधिको तीव्र विकाससँगै नेपाली चलचित्र क्षेत्रले पनि नयाँ कुरालाई विस्तारै अगाडि बढाउँदै लैजानेमा भने उनी विश्वस्त सुनिन्छन्।