अंगविशेषका कोषहरू अनियन्त्रित वृद्धि भएपछि ट्युमर पलाउँछ। ट्युमर जटिल र सामान्य गरी दुई प्रकारको हुन्छ। जटिल प्रकारको ट्युमरको समयमै उपचार नगराएमा मानिसको मृत्युसम्म हुन पुग्छ। रगत र लिम्फको माध्यमबाट क्यान्सर शरीरको एक कोषबाट अर्को तन्तुको कोषमा फैलिन्छ। क्यान्सर नसर्ने प्रकारको रोग हो, जुन सबै उमेर समूहलाई लाग्न सक्छ। यसको लक्षण शरीरको जुनसुकै अंगमा देखिन सक्छ।
हाम्रो शरीर दुई सयभन्दा बढी प्रकारका स–साना कोष र कोषिका मिलेर बनेको हुन्छ। यसमा कोषिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि भएर फैलिन्छ र अरू स्वस्थ कोषिकालाई क्षति पु¥याउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि करिब एक करोड २० लाख नयाँ क्यान्सर रोगी देखिन्छन्। र, बर्सेनि ७५ लाख क्यान्सर पीडितको मृत्यु हुन्छ।
क्यान्सर कहिल्यै निको नहुने रोग हो भन्ने यथार्थ होइन। अरू रोगजस्तै समयमै पहिचान गरी उपचार गराएमा क्यान्सर निको हुन्छ। त्यसका लागि नियमित रूपमा चिकित्सकको परामर्श लिनुपर्छ। सुरुवातमै उपचार गरेमा क्यान्सर पूर्ण निको हुन्छ। ९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्नु नै मुख्य समस्या हो। अव्यवस्थित जीवनशैली, अत्यधिक वातावरण प्रदुषण र तनावका कारणले क्यान्सर लाग्ने गर्छ।
नेपालमा देखिने मुख्य क्यान्सर
(१) फोक्सोको क्यान्सर
यसको दर विश्वमै बढी मात्रामा छ। सानैदेखि अधिक धुम्रपान गर्ने महिला÷पुरूष दुवैलाई फोक्सोको क्यान्सर हुनसक्छ। कलकारखाना, सडक र सवारी साधनको धुँवाधुलो तथा वातावरणमा रहेका दुषित कणहरू पनि फोक्सोको क्यान्सरका कारक तत्व हुन्।
लक्षण
खोग्दा रगत आउने, खोकी लाग्ने, खाना खान मन नलाग्ने, तौल घट्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएमा तुरून्तै परीक्षण गराउनुपर्छ।
उपचार
फोक्सोको क्यान्सरलाई चार चरणमा विभाजन गरिएको छ। पहिलो र दोस्रो चरणमा क्यान्सर सानो आकारको हुन्छ र धेरै ‘ग्लान्ड’मा फैलिएको हुँदैन। यी चरणमा क्यान्सरलाई शल्यक्रियाद्वारा फोक्सोबाट ट्युमर काटेर फाली पूर्ण रूपमा निको बनाउन सकिन्छ। शल्यक्रिया सम्भव नभएमा रेडियोथेरापीबाट उपचार गरिन्छ। तर, यस विधिबाट उपचार गर्दा क्यान्सरबाट पूर्णतया छुटकारा पाइने सम्भावना कम हुन्छ।
तेस्रो चरणमा पनि केही बिरामीलाई शल्यक्रिया सम्भव हुन सक्छ। तर, अधिकांश बिरामीलाई केमोथेरापी र रेडियोथेरापीद्वारा उपचार गरिन्छ। चौथो चरणको क्यान्सर निको पार्न सकिने सम्भावना नभएकाले लाक्षणिक उपचार र केमोथेरापी गरिन्छ।
(२) स्तन क्यान्सर
स्तनका कोषमा अनियन्त्रित वृद्धि भई गिर्खा, गाँठागुँठी र निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ। स्तन क्यान्सर हुँदा प्रायः काखीको छेउमा गिर्खा र गाँठा आउँछन्। स्तन र यसको वरिपरि कुनै किसिमका गाँठा वा गिर्खा छन् र छाम्दा दुख्दैन भने यो स्तन क्यान्सरको लक्षण हुन सक्छ ।
कारण
दूध खुवाउने महिलाले बच्चालाई दूध नखुवाएमा, महिनावारीमा गडबडी, हर्मोनमा गडबडी, मोटोपन बढी भएमा, शारीरिक क्रियाकलाप कम गर्नाले, मद्यपान र धूम्रपान, धेरै तातो चिया–कफीको प्रयोग, बच्चा नभएका महिला, ढिलो विवाह गर्नाले र बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ।
उपचार
यसको उपचार क्यान्सरको चरण, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि आदि अवस्थाका आधारमा हुन्छ। शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापी यसका उपचार विधि हुन्। सुरुवाती अवस्थामा उपचार गरेमा स्तन क्यान्सर पूर्ण रूपमा निको हुन्छ ।