काठमाडौँ । गायिका मेलिना राईले आफ्नो इन्गेजमेण्ट तोडेको बताएकी छन् । उनले प्रेमी सञ्जीव बराइलीसँग चार महिनाअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी हुन् ।
गायिका राईले इन्गेजमेण्टको निर्णय आफ्नो जीवनकै गम्भिर निर्णय भए पनि आफूहरूबीच मतभेद देखिएपछि सम्बन्ध कायम राख्न नसक्ने बताएकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘केही समयअगाडि मैले आफ्नो इन्गेजमेण्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ, त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो, एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो, समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो, हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेट देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन, धेरै समीक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’
संगीतकर्मीसमेत रहेका प्रेमी बराइलीसँग उनले गत वैशाखको पहिलो हप्तामात्रै इन्गेजमेण्ट गरेकी थिइन् । उनले सबै इन्जेजमेण्ट विवाहमा परिणत हुनुपर्ने भन्ने नभएको उल्लेख गरेकी छन् । ‘सबै इन्गेजमेण्ट विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ, त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेण्ट तोडिएको कुरा सार्वजानिक गर्दछु, योबीचमा सम्पूर्ण शुभचिन्तकमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु,’ उनले थपिन्, ‘भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
उनीहरूले वैशाख २ गते आफूहरूले इन्गेजमेण्ट गरेको भन्दै तस्बिर सार्वजनिक गरेका थिए । उनीहरुबीच यही वर्ष विवाह गर्ने तयारी गरेका थिए ।