काठमाडौं- गायिका मेलिना राईले शुक्रबार साँझ आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको ‘इंगेजमेन्ट’ तोडिएको जानकारी अहिले चर्चामा छ। उनले संगीतकर्मी सञ्जीव बराइलीसँग गरेको ‘इंगेजमेन्ट’ तोडिएको जानकारी दिएकी छन्।
करिब २३ लाख फलोअर्स भएको फेसबुक पेजमा ‘विषयः इंगेजमेन्ट तोडिएको जानकारी’ उल्लेख गर्दै आफ्ना प्रशंसकलाई संगीतकर्मी बराइलीसँगको सम्बन्ध अन्त्य भएको बताएकी हुन्।
‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेकी थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो,’ उनले लेखेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्म समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ।’
‘फेरि सबै इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इंगेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छु,’ उनले लेखेकी छन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्रार्थी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्छु।’
उनले गत २ वैशाखमा सञ्जीवसँग इंगेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेकी थिइन्। उनीहरूको इंगेजमेन्ट भने दुई वर्षअघि नै भएको सार्वजनिक भएको थियो। उनीहरूले आगामी मंसिरमा विवाह गर्ने योजना बनाएका थिए।