काठमाडौँ । अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा दायर गरेका हुन् ।
अभिनेत्री मिरुनासँगै फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध गाली बेइज्जती र कुटपिट मुद्दा दायर भएको हो ।
तामाङले कानुन बमोजिम अभिनेत्री मिरुना र ठकुरीविरुद्ध सजाय माग गरेकी छन् । आफूले पटक पटक माफी माग्न पहल गरे पनि अभिनेत्री मगरले बेवास्ता गरेको भन्दै उनले मुद्दा दायर गरेकी हुन् ।
फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको तामाङले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।
गत जेठ १५ गते काठमाडौँको सिभिल मलमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले ‘ब्याक टच’ गरेको भन्दै थप्पड हानेकी थिइन् ।
उनीहरूबीच सहमति भए पनि एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिएका थिए । यतिबेला पुनः मिरुनाले माफी माग्नु पर्ने भन्दै मुद्दा दायर भएको हो ।
‘कबड्डी ४’ की अभिनेत्री मिरुना अहिले लण्डनमा छिन् ।