नेपालमा अनलाइन गेमिङका लागि कसैले अनुमति लिएको छैन। अनुमति लिएको एउटा कम्पनीले पनि अनलाइन गेमिङ गराएको छैन। तर, फेसबुक वालमा छ्यापछ्याप्ती अवैध क्यासिनो सञ्चालनमा रहँदा नियामक निकायलाई जानकारी नै छैन।
पछिल्लो समय फेसबुक वालमा अनेक अफरका साथ ‘स्पोन्सर’ गरिएका अवैध क्यासिनो छ्यापछ्याप्ती भेटिन थालेका छन्। नेपालमा भने एउटा मात्र क्यासिनोले ‘अनलाइन गेमिङ’को इजाजत लिएको छ। त्यो पनि नवीकरण नगरिएकाले सञ्चालनमा छैन।
पर्यटन विभागका एक अधिकारीका अनुसार काठमाडौंको होटेल र्याडिसनले केही वर्षअघि अनलाइन गेमिङको अनुमति लिएको थियो। तर, हाल नवीकरण दस्तुर नबुझाएकाले उक्त क्यासिनोले पनि अनलाइन गेमिङ गराएको छैन। ‘फेसबुकमा भेटिने बाँकी सबै अवैध हुन्,’ विभागका ती अधिकारीले नेपाली हेडलाइनसँग भने, ‘यसमा पर्यटन मन्त्रालयले नियमन गर्ने हो। हामी पनि नियामक निकाय हौँ। तर, यसबारे जानकारी थिएन।’
उनका अनुसार पछिल्लो समय कसैले पनि अनलाइन गेमिङका लागि अनुमति पाएका छैनन्। फेसबुकमा भइरहेका क्यासिनोसम्बन्धी गतिविधि अवैध रहेको उनले प्रष्ट्याए।
प्रहरीलाई पनि यसबारे जानकारी छैन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकारी यसबारे अनभिज्ञता प्रकट गर्छन्। भन्छन्, ‘अहिले सबै खालको अनलाइन गेमिङ खेलाउने काम पूर्ण रूपमा बन्द हुनुपर्छ। अहिले त्यस्ता खालका कुनै पनि गेम खेलेको पछिल्लो समय फेला परेको छैन।’ यसबारे कुनै पनि बैंक, निकाय, कसैले पनि उजुरी नगरेको उनको भनाइ छ।
उनका अनुसार अनलाइन गेमिङका लागि जुवा नै खेल्नुपर्छ भन्ने छैन। चिठ्ठा खेलाएर, विभिन्न कुरामा सट्टेबाजी गरेर पनि गेम खेलाउने काम हुन सक्छ। ‘त्यसका लागि कुनै एप वा वेबसाइट नै आवश्यक पर्दैन,’ उनी भन्छन्, ‘पहिल्लो समय व्यक्तिगत रूपमा सट्टेबाजी गर्ने र त्यो पैसा राख्नको लागि ई-सेवा, खल्तीलगायत एप प्रयोग गरेको भन्ने पनि सूचना आइरहेको छ। यस विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।’
उनका अनुसार ‘वान एक्स बेट’लाई नेपालमा बन्द गराइएको छ। ‘नेपाल टेलिकमलाई पत्र लेखेर यसलाई नेपालमा बन्द गर्न लगायौँ, यस एपको आधिकारिकता अमेरिकामा छ। त्यहाँ भने वैध मानिन्छ यो,’ उनी भन्छन्, ‘‘त्यहाँको एप हामीले यहाँबाट गएर बन्द गराउन सक्ने अवस्था पनि रहेन। यो विषयमा हामिले अहिले पनि अनुसन्धान जारी राखेका छौँ।’
सीआईबीका ती अधिकारीले अनलाइन गेमिङ भइरहेको विषयमा अनभिज्ञता प्रकट गरे पनि फेसबुकमा देखिने गरेका अवैध क्यासिनोले उनको भनाइ खण्डन गर्छन्। ‘कोडासप’, ‘क्यासम्यान’, ‘रक एन क्यास क्यासिनो स्लट’, ‘गेम ट्याब’, ‘मनी पार्टी स्लट्स’, ‘ट्याब फन’, ‘आरपी मार्केटिङ’, ‘फङकी ट्याब’, ‘पोकर जियन’, ‘गोल्डेन सिटी क्यासिनो- फ्रि स्लट्स’, ‘लुलाबी डब्लू’, ‘क्यासिनो नेपाल’, ‘क्यासिनो ९६’, ‘सल्ट क्रिक क्यासिनो’, ‘पार्टी क्यासिनोः प्ले क्यासिनो गेम्स’, ‘वेवा प्ले’, ‘क्यासिनो लाइफ’लगायत यस्ता दर्जनौँ अवैध क्यासिनोका विज्ञापन फेसबुकमा छ्यापछ्याप्ती छन्।
नेपाल प्रहरीकै अपराध अनुसन्धान कार्यालय, काठमाडौंले उपत्यका भित्रबाटै अनलाइन जुवा खेलाउनेहरूलाई पक्राउ गरेका उदाहरण भने नभएका होइनन्। तर, त्यो पनि पछिल्लो समय ठप्प छ।
पक्राउ परेका जम्मा २ घटना
गत ५ माघमा कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानबाट सम्पत्ति हारजिते हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको अवस्थामा उक्त कार्यालयको टोलीले कीर्तिपुर-६ चोभार, ९ नगाँउ र १० बागभैरवबाट १२ जनालाई एकसाथ पक्राउ गरेको थियो। उनीहरूको साथबाट जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइललगायत विद्युतीय उपकरणहरू बरामद गरेको थियो।
त्यतिबेला पक्राउ परेकाहरूमा सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनलगायत थिए। उनीहरूले अनलाइन जुवा खेलाउन सबै व्यवस्था मिलाउने गरेको खुलेको थियो। तीनवटा घरमा २४ सै घण्टा सिफ्टवाइज रूपमा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीहरू समेत राखेको देखिएको अनुसन्धानबाट खुलेको थियो।
त्यसरी खटिएका कर्मचारीहरूले फेसबुक आईडीमार्फत अमेरिकी तथा युरोपेली मुलुकका नागरिकहरूलाई साथी बनाई जुवा खेलाउने गरेको अनुसन्धानबाट खुलेको थियो। ‘फ्रि किरिङ रिभर स्विप्स’, रिभर मोन्स्टर, भेगास-एक्सलगायत अनलाइन जुवा खेल्न लिंक सेयर गर्थे, कर्मचारीहरूले। उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशिसमेत पुरस्कारको रूपमा दिने गरेको देखिएको अनुसन्धानबाट खुलेको थियो।
पक्राउ परेकाहरूसँग बयानका क्रममा उनीहरूले करिब १० महिना अगाडिदेखि मासिक करिब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको खुलेको थियो।
यस्तै, युरोप र अमेरिकामा सञ्चालन भइरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबलमा पनि अनलाइनमार्फत बाजी राख्ने २१ असार ०७८ मा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूले काठमाडौंका विभिन्न ठाउँबाट हारजित हुने गरी बाजी राख्न लगाएर सट्टेबाजी गराउने गरेको खुलेको थियो। अपराध अनुसन्धान कार्यालयकै टोलीले काठमाडौंका इन्द्र चोक, मरुटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाटलगायत स्थानबाट अनलाइन बेटिङ गरी नगद कारोबार नै गरिरहेका आठजनालाई पक्राउ गरेको थियो।
त्यतिबेला काठमाडौं-४ सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, १९ ढोकाटोलका जीवन लामा, पर्सा वीरगञ्ज-७ घर भई हाल काठमाडौं कुलेश्वर बस्ने सुरज टिवडेवाल, भारत बिहार पूर्वीचम्पारण जिल्ला रक्सौल घर भई कुलेश्वर बस्ने अशोककुमार गुप्ता, चितवन खैरहनी नगरपालिका-५ टरौली घर भई धापासी बस्ने गोविन्दप्रसाद आचार्य पक्राउ परेका थिए। यस्तै, भारत हरियाणा विवरनी जिल्ला घर भई काठमाडौं इन्द्रचोक बस्ने राजेशकुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई क्षेत्रपाटी बस्ने सुचित डालमिया अग्रवाल र मोरङ विराटनगर-७ घर भई काठमाडौं मरुटोल अमरनाथ गुप्ता पनि उनीहरूसँगै पक्राउ परेका थिए।
उनीहरूको साथबाट ३४ लाख ६५ हजार ५०५ रुपैयाँ तथा सट्टेबाजीमा प्रयोग भएका मोबाइल बरामद भएका थिए। उनीहरूले सट्टेबाजीमा प्रयोग भएको रकम आईएमईमार्फत एकअर्कालाई पठाउने गरेका थिए।
प्रहरी अधिकारीहरूका अनुसार हालसम्म काठमाडौंमा अवैध अनलाइन गेमिङका तिनै दुई घटना मात्र कानूनी दायरामा ल्याउन सकिएको छ। अधिकांश अनलाइन गेमिङ भारत, अस्ट्रेलिया, अमेरिका तथा युरोपेली मुलुकबाट हुने भएकाले त्यसरी अवैध क्यासिनो खेलाउनेहरूलाई पक्राउ गर्न सकिएको छैन।