काठमाडौं- भारत उत्तराखण्डका ११औं मुख्यमन्त्री बनेका पुष्करसिंह धामीको चुनावी अभियानमा एउटा देउडा गीत चर्चित थियो- ‘चल गोविन्दी पाइला मिला’। यो गीतमा स्वर दिने गायक पनि नेपाली नै थिए, सुरेश शाही। नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डमा मिल्दोजुल्दो संस्कृति भएकाले पारिपट्टि पनि लोक संगीतको देउडा भाका परिचित छ।
यो त चुनावी अभियानमा रचित गीतको उदाहरण भयो। तर, नेपाली गीत–संगीतको नक्कल उतारेर रातारात ‘भाइरल’ बन्ने स्रष्टाको कमी छैन, उत्तराखण्डमा। नेपाली स्रष्टाहरू यसलाई अनैतिक अभ्यास मान्छन्। नेपाली स्रष्टासँग गीत ‘रिमेक’का लागि अनुमति नै नलिई नक्कल उतारेर चर्चा बटुल्ने मोहले उत्तराखण्डका कुमाउ, गढवाललगायत क्षेत्रका स्रष्टाहरू अनैतिक र गैरकानूनी अभ्यास गरिरहेका छन्।
गायिका डेजी बराइलीको ‘भैंसी लड्यो है माया भीरबाट हेर’ गीतको ठ्याक्कै नक्कल गरेर उत्तराखण्डका गायकद्वय पपु कार्की र ज्योति उप्रेतीले ‘भैँसी लडी है माया भीरबाट हेर, छोरो चाहीं हे माया छोरीमा भुलेर’ बोलको गीतमा म्युजिक भिडियो तयार पारेको एक दशक बितिसक्यो।
यस्तै, गायक रामचन्द्र काफ्लेको ‘मनकी रानी’ बोलको गीत कुमाउनी भाषामा उल्था गरेर त्यहाँका गायक ‘आदि’ले गीत र म्युजिक भिडियो तयार पारेका छन्।
यस्तो प्रवृत्ति कुमाउँ, गढवालतिर मात्र सीमित छैन। उताका गीतका भाका टिपेर नेपालतिर पनि गीत तयार पार्ने प्रवृत्ति बढ्दो छ।
‘टक टका टक कमला बाडुली लगाए, प्रदेश म लुक मे घर बुलाए’, ‘मै नहीं जान्या नेपालमा, राम्रो लाग्यो यही गडबालमा’, ‘हरे मारीजालो मेरा, हरे मारीजालो मेरा, हरे बैतडीमा बाघ आयो, बाघले बाकरो खायो’जस्ता कुमाउनी, गढवाली गीत पनि नेपालतिर नेपाली स्रष्टामार्फत घन्किएको पाइन्छ।
नेपाली मिश्रित गीतहरू नेपाल र भारतका गढबाल, उत्तराखण्डलगायत पहाडी भेगमा प्रशस्त सुनिन्छन्।
यस्तै ‘काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी सिसाकी गालीले, लाग्दै माया बढ्दै गयो ला जुनकिरी त्यो तिम्रो बोलीले, त्यो तिम्रो बोलीले’ सुदुरपश्चिमेली नेपाली भाषामा गाइएको यो गीत डोटेली र कुमाउनी लोकभाकामा पनि नक्कल गरिएको छ।
प्रख्यात नेपाली लोक गायक नन्दकृष्ण जोशीको ‘काफल खान्या’, ललितमोहन जोशीको डोटेली गीत ‘कमला’को नयाँ भर्सनमा कुमाउँ, गढवालमा अल्मोडा राना उप्रेतीको एरेन्ज तथा अडियो बनाइएको छ भने महेश ताम्राकारको शब्द र संगीत र जनक ताम्राकारले स्वर दिएका छन्।
नेपाली गीतलाई डोटेली र कुमाउनी भाषाको सम्मिश्रण हो। पछिल्लो समय नेपाली गीत–संगीत क्षेत्र फराकिलो हुँदै गइरहेको छ। तर, नेपालका स्रष्टासँग अनुमति नै नलिई नेपाली लोकगीतलाई पछिल्लो समय कुमाउनी, गडबाली र नेपाली भाषाको सम्मिश्रणका गीत बनाउने प्रवृत्ति छ।
लोक गायक चक्र बमका अनुसार नेपालमा कुमाउनी, गढवालको भाका, लय चोरी गरेर गाउने चलन एकदमै कम छ। तर, गढवालतिर नेपाली गीतलाई उल्था गरेर गाउने प्रचलन बढी छ।
नेपालतिरका गीतहरू गढवालमा अत्यधिक चोरी हुन्छन्। ‘मेरै गीत मेरो अनुमतिबिना कपी गरेर बनाएका छन्। ‘ओइ काजल’ बोलको गीतका गडवालमा चारवटा कपी निस्किसकेका छन्,’ गायक बम भन्छन्, ‘सुदूरपश्चिम क्षेत्रको भाषा र लय गढवालतिर मिल्न जाने भएकाले अधिकांश नेपाली गीतहरू त्यहाँ सुनिन्छन्।’
गायक बलमे ‘ओइ कागज’ गीतमा गडवालतिरको शैली मिलाएका थिए। यो गीतलाई उनी कुमाउँ, गढवालतिरै चर्चित बनाउने सोचमा थिए। तर, उनको अनुमति नलिई कुमाउँ, गढवालका गायकहरू धमाधम नक्कल गरेर चारवटा गीत निकालेपछि उनको सोच पूरा हुन पाएन।
उनका अनुसार नेपालतिर कुमाउँ, गढवालको भाका टिपेर कसैले गीत तयार पारेमा उताका स्रष्टाको नामसमेत उल्लेख गर्ने चलन छ। कुमाउँ, गढवालमा भने नेपालका गीत चोरी गरेर तयार पार्ने गायक, गायिकाले नेपाली स्रष्टाको नामसमेत उल्लेख गर्दैनन्।
‘उनीहरूले नेपाली गीतलाई आफ्नै अझ कुमाउनी सिर्जनाजस्तै बनाएर नेपाली पहाडी गीतहरूको नक्कल तयार पार्छन्,’ गायक बम भन्छन्।
मौलिकता आवश्यक
भाषा र साहित्यसँग मानिसको आत्मीय सम्बन्ध हुन्छ। भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देश–विदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो। त्यसैले पनि भाषा साहित्यलाई मुख्य चासोका केन्द्रमा राखेर हेरिन्छ।
यसैमा जोडिन्छ, गीत–संगीत पनि। आफ्नो मौलिकता भुलेर आयातीत विदेशी गीत–संगीततिर झुकाव राख्नु उचित नभएको वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी बताउँछन्। ‘सबै कुराको आफ्नो मौलिकता हुन्छ। आफ्नो मौलिकतामा बाँच्नुजति सहज, सरल र अनुशासित काम अरू हुँदैन,’ उनी भन्छन्, ‘हाम्रा कला, रितिरिवाज, देउडा, संस्कृति अत्यन्त मौलिक छन्। पश्चिमतिर सबैभन्दा बढी मौलिकता बोकेका देउडा, मादल, धवारी, भस्सो, गौरामा गाइने गीत तथा गाथाहरू, भमारी संस्कृति धेरै मौलिक छन्। यो मौलिकताको जर्गेना गर्नु असल स्रष्टाको पुण्य कर्म हो।’
भारतका २९ राज्य र ७ युनियन टेरिटोरीभित्र बोलिने ७८० भाषाका साहित्य छन्। त्यसरी नै नेपालभित्र बोलिने १२५ भाषामा लेखिएका सबै साहित्यलाई नेपाली साहित्य मानिन्छ।
कर्णाली प्रदेशको सिँजा उपत्यकाबाट खस भाषाको आरम्भ भएको हो प्रमाण हो, दुल्लु दामुपालको शिलालेख। उक्त शिलालेख विसं १०३८ मा बनाइएको मानिन्छ। खस भाषाभित्र मुख्य तीन प्रशाखा छन्, जुम्ली, डोटेली र कुमाउनी। कतिपयले चाहिँ ११ प्रकार (जुम्ली, डोटेली, बैतडेली, अछामी, दैलेखी, बझांगी, बाजुरेली, दार्चुलेली, डोल्पाली, डडेल्धुरी र गढवाली) मा विभक्त गरेका छन्।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूको आफ्नै विशिष्ट र मौलिक संस्कृति छ। जिल्लाअनुसार भाषा फरक, चालचलन, खानपिन फरक छ। बाहिरबाट हेर्दा सुदूरपश्चिम एक देखिन्छ तर समग्रमा यो क्षेत्रले फरक पृष्ठभूमि बोकेको छ।
सुदूरपश्चिमका पहाडी सात जिल्लाको भाषा फरक छ। बैतडी, डडेल्धुरा र दार्चुलाको बोली भाषामा समानजस्तो सुनिन्छ भने डोटी, अछाम, बाजुराको भाषा आफैंमा मौलिक छ। जुम्ला, हुम्ला, बाजुरा, अछाम, डोटी हुँदै पश्चिम कुमाउँसम्म त्यसरी नै भाषाको प्रसार भएको मानिन्छ। गढवाल, कुमाउँ हुँदै बैतडी, डडेल्धुरा भएर पूर्वतिर भाषाको प्रसार भएको मान्नेहरू पनि छन्।
विशेषगरी गढवाली गीतहरू बैतडीको तल्लो कुनातिर गुन्जिने गरेको देउडा गायक जोशी बताउँछन्। भन्छन्, ‘बझाङ, अछाम, डोटी, दार्चुलाको पश्चिमी भेगतिर प्राय गढवाली गीतहरू सुनिँदैनन्। हाम्रो आफ्नो मौलिकपनलाई छोडेर अरूको संस्कृतिलाई स्वागत गर्नु मेरो विचारमा राम्रो पनि होइन।’ क्षणभरमा आफूलाई प्रचारमुखी बनाउनका लागि गढवाली गीतहरूलाई नेपालीमा उल्था गरेको भए पनि त्यो औचित्यहीन भएको उनको बुझाइ छ।
जोशीका अनुसार गढवाली गीतहरू जतिसुकै मिठा भएपनि नेपाली गीतहरू गढवालीभन्दा अझ मिठा छन्। पहिलेको समयमा मौलिक कुराहरू अगाडि आउँथे। तर, हाल आएर मौलिकता हराउँदै गयो। पुराना गीतहरू हराउँदै गए। यहाँकोे संस्कृति अन्य पश्चिमा देशहरूको तुलनामा धेरै गहिरो, महत्त्वपूर्ण रहेको उनको तर्क छ।
सुदूरपश्चिमका युवा प्रायः भारतको उत्तराखण्ड, गढबालतिर कामको खोजीमा पुग्छन्। सोही कारण गढवाली गीत नेपालतिर भित्रिएको मानिन्छ।
‘बौजूका कम्पनी माला, बौजूका कम्पनी माला, दाइ क्यान मास्दा हुन् बाझ ए बाझ झुम्रेउली बाझ’ देउडा गाउँदै जोशी भन्छन्, ‘यो देउडाको शब्दको गहिराई, भाव, लय गढबाली गीतको दाँजोमा धेरै माथि छ। त्यसैले हाम्रा दाजुुभाइहरू गढबालमा काम गर्न गए पनि नेपाली देउडा गीतलाई नै सम्झिन्छन्। देउडामार्फत आफ्ना, आँगन, घर, माटोलाई सम्झिन्छन्। छिमेकी राष्ट्र गडबाल धर्म, संस्कृतिमा धनी छ। तर, त्यहाँको संस्कृति टपक्कै टिपेर हाम्रो घर आँगनमै ल्याउनु राम्रो होइन।’
नेपाली गीतमा मौलिकता खोजी
नेपाललगायत भारतमा नेपाली गीतलाई उल्था गरेर गाउन चलन रहेको चर्चित लोक गायक रामचन्द्र काफ्ले बताउँछन्। ‘प्रायः गढवाली गीतहरू पहाडी गीतहरू छन्। नेपालको पहाडी लय र गढवाली लय लगभग मिल्छ,’ उनी भन्छन्, ‘नेपालका पहाडी गीतहरूमा जुन लय हुन्छन्, खिड्का, मुड्की, गाउने शैली सबै गढवालीजस्तै लाग्छन्। यहाँसम्म कि देउडा र गढवाली गीतको लय तथा बिटहरू पनि मिल्छन्। पश्चिमको देउडादेखि लिएर गढवाल गीतहरू प्रायः मिलेको देखिन्छ।’
उनका अनुसार आजकल नेपाली लोकगीतमा फरकपन ल्याउन कोरसले छोप्ने चलन आएको छ। पहिला–पहिला गढवालतिर नेपाली गीतको बर्चश्व बढी थियो। पहाडी गीत क्षेत्र कश्मीरदेखि बर्मासम्म फैलिएको थियो। नेपाली लोक आधुनिक शैलीका गीतहरू गढवाली भाषामा ढालेर गाउने प्रचलन निकै बढेको थियो।
‘नेपालमा लोकगीतले जुन प्रभाव पारिरहेको छ। त्यसैगरी करिब २५ वर्ष अगाडिदेखि गढवालमा कुमाउनी गीतको प्रभाव छ,’ गायक काफ्ले भन्छन्, ‘आफ्नै किसिमको परिमार्जन गरेर गीत गाइँदै आएको छ। त्यहाँका लोकगीतमा केही नयाँपन आएको छ। नेपालीहरू पनि त्यही कुरालाई निरन्तरता दिइरहेका छन्। नेपाली गीतमा पनि परिवर्तन चाहिरहेका छन्। नेपाली लोकगीतमा भेरिएसन ल्याउन आजकल गढवालीलाई प्रयोग गरिएको होजस्तो लाग्छ।’
उनका अनुसार नेपाली लोकगीत पनि एउटा भेगको मान्छेले अर्को भेगमा गाउन सक्दैनन्। जस्तै– पूर्वको हाक्पारे लोकगीत गाउन सक्नेले गण्डकी प्रदेशका सालैजो, ठाडी भाका दुरुस्त गाउन सक्दैनन्। त्यसैले आफ्नो भाकामा अलिकति परिमार्जन गर्नका लागि फरक–फरक स्थानको लय मिलाउने गरिन्छ।
गण्डकी अञ्चलका गीतहरूले दोहोरीमा बर्चश्व जमाएका छन्। तर, ती गीतमा पनि लय पूर्वेली भाकाहरू मिसाएको पाइन्छ। गीतको मेलाडी एकै धारको सुनिने भएकाले त्यसमा परिवर्तन ल्याउन र नयाँ फ्युजनका लागि गढवाली भाका प्रयोग गरिएको हुनसक्ने काफ्लेको अनुमान छ।
‘शायद अहिलेको माग पनि होला। एकैनासका गीत किन ल्याउने, केही फरक पनि दिने अभिप्रायले गढवाली गीतलाई नेपाली लोक संगीतमा रिमिक्स गरिएको हुनसक्छ,’ काफ्ले भन्छन्, ‘पहाडी लय हो प्रायः मिल्छ त्यही भएर पनि कपी गरिन्छन्। एउटाले गरेपछि विस्तारै अरूले पनि निरन्तरता दिए।’ तर, आफूहरूले नेपाली माटो सुहाउँदो, विश्वलाई नेपाली संगीत, संस्कृति चिनाउने खालका गीत–संगीत श्रोताहरूलाई दिनुुपर्ने उनको तर्क छ।
गायक काफ्लेले नेपाली गायक–गायिकाले बिनास्वीकृति आफ्ना गीत गाउने गरेको गुनासो उत्तराखण्डमा पनि सुनेका छन्। त्यसैले आपसमा स्वीकृति लिएर मात्र गीतको नक्कल गर्नु आवश्यक देख्छन् उनी।
‘कसैको स्वीकृतिविना अरूको बौद्धिक सम्पति चोरी गर्नु हुँदैन। अरूको सिर्जनाको सम्मान गरेर गाउन सकिन्छ,’ उनी भन्छन्। जस्तो– ‘रेशम फिरिरी’ बोलको गीत संसारभर प्रख्यात भयो। त्यसरी नै अन्य गीतलाई पनि संसारभर पुर्याउनुपर्ने ठान्छन् उनी।
‘नेपाली गीतमा नेपालीपन छ, जसलाई जोगाउनुपर्छ,’ गायक काफ्ले भन्छन्, ‘एउटै मेलोडी सुन्दै गर्दा कहिलेकाहीं फरकपनको आवश्यकता पर्नसक्छ। तर, यसो भनिरहँदा अरूका सिर्जनालाई प्रयोग गर्नुहुँदैन।’
पछिल्लो पुस्ताले देउडा गीतलाई जगेर्ना गर्न आवश्यक रहेको वरिष्ठ गायक जोशी बताउँछन्। भन्छन्, ‘आफ्नो संस्कृतिलाई बिर्सिएर गढवाली, कुमाउनी भित्र्याउँदै छन्, जुन आफैंमा नराम्रो हो। हाम्रो मौलिकपन अत्यन्त सङ्लो, छ सेती नदीको पानीजस्तै। देउडा गीत जगेर्नाका लागि कलाकार आफैं उत्साहित हुन आवश्यक छ।’