देशहरूका राजनीतिक सिमाना मानिसका लागि मात्र हो, वन्यजन्तुलाई यसको कुनै परवाह हुँदैन। त्यसैले वन्यजन्तु र जलचर स्वच्छन्द घुमफिर गर्छन्, एकअर्का मुलुकका सिमाना नाघ्दै।
काठमाडौं- ३३ वर्षअघि नेपाल र भारतको सम्बन्ध चिसो थियो। चीनबाट एन्टी एयरक्राफ्ट गन खरिद गरेकामा भारत नेपालसँग चिढिएको थियो। अनि नाकाबन्दी लगाएको थियो। पञ्चायती व्यवस्थाको उत्तरार्द्ध पनि थियो त्यो। नाकाबन्दीसहितको दबाबका कारण पञ्चायती व्यवस्था ढल्यो र बहुदलीय व्यवस्था पुनःस्थापना भयो। तर, बहुदलीय व्यवस्था स्थापनाको आन्दोलन शुरु हुनुअघि बिहारको पटनामा अमेरिकी जासुस आएको हल्ला भयो।
त्यो अमेरिकी जासुस अरू कोही थिएन, नेपालको नारायणी नदीबाट बगेर गएको एक घडियाल गोही थियो, जसको घाँटीमा रेडियो कलर जडान गरिएको थियो। सम्भवतः नेपालले वन्यजन्तुमा त्यसरी रेडियो कलर जडान गर्न नसक्ने बुझाइका कारण भारतीय अधिकारीहरूले त्यसलाई अमेरिकी जासुसको संज्ञा दिए। र, होहल्ला गर्न थाले। पछि नेपालबाट रेडियो कलर लगाइएको गोही बगेर आएको जानकारी पाएपछि भारतीय अधिकारीहरू मौन बसे।
त्यसरी नै रेडियो कलर जडान गरेका गोही ४ जेठ ०७५ मा भारतकै पश्चिमबंगालको हुग्ली र ५ साउनमा महानन्दा नदीमा भेटिएका थिए। त्यतिबेलासम्म रेडियो कलर जडान गरेर संरक्षणका लागि निगरानी गर्न नेपाल-भारत दुवैतिरका अधिकारीहरू अभ्यस्त भइसकेका थिए। त्यसैले नेपालबाट बगेर गएका ती घडियाललाई कसैले जासुसको आरोप लगाएन।
विज्ञहरूका अनुसार यी दुर्लभ घडियाल नेपाल र भारतमा मात्र पाइन्छन्। र, दुवैतर्फ संरक्षणका अनेक प्रयास भएका छन्। नेपालबाट बगेर गएका गोहीहरू भारततर्फ एक हजार दुई सय किलोमिटर टाढासम्म भेटिने गरेका छन्।
देशहरूका राजनीतिक सिमाना मानिसका लागि मात्र हो, वन्यजन्तुलाई यसको कुनै परवाह हुँदैन। त्यसैले वन्यजन्तु र जलचर स्वच्छन्द घुमफिर गर्छन्, एकअर्का मुलुकका सिमाना नाघ्दै। पछिल्लो वर्षमा वन्यजन्तु र जलचरमा रेडियो कलर लगाएर छाड्ने चलन सामान्य बनिसकेको छ। तिनै रेडियो कलरमार्फत जलचर र वन्यजन्तुको विचरण निगरानी गर्छन्, वन र वातावरणसँग सम्बन्धित सरकारी निकायले।
ताप्लेजुङस्थित कञ्चनजंघा राष्ट्रिय निकुञ्जको हिउँचितुवा ‘घन्जेनजुंगा’ त्यसको अर्को उदाहरण हो। घाँटीमा रेडियो कलर जडान गरिएको यो हिउँचितुवा नेपालबाट निस्कियो, सिक्किम पुग्यो, भुटानको जंगल घुम्यो, त्यहाँबाट तिब्बत पुग्यो अनि कञ्चनजंघा हिमालको फेदीबाट पुनः आफ्नै बासस्थान अर्थात स्वदेश फिर्यो। २७ नोभेम्बर २०१३ देखि १५ सेप्टेम्बर २०१५ सम्म निरन्तर गरिएको अनुगमनमा एक हजार ९५७ विन्दुहरूमा घन्जेनजुंगालाई रेकर्ड गरिएको थियो। यसले एक हजार ३१ दशमलव ६ वर्गकिलोमिटर र ३९९.७८ वर्गकिलोमिटरबीचमा विचरण गरेको अभिलेख राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राखेको छ।
यस्तै, २२ मे-१० जुन २०१५ मा कुल ९२ विन्दुहरूमा अर्को हिउँचितुवा ओमिखांग्रीलाई रेकर्ड गरिएको थियो। यसले करिब १५५.७८ किलोमिटर यात्रा गरेको थियो। र, याङ्मा उपत्यका वरिपरि १५.५३ वर्गकिलोमिटरमा घुमेको पाइएको थियो। ओमिखांग्रीले सिक्किमको कञ्चनजंघा नेसनल पार्क भ्रमण गरेको देखिन्छ। ८ मे २०१७ देखि ७ मार्च २०१८ मा कुल १००६ विन्दुहरू यसलाई रेकर्ड गरिएको थियो।
सोही निकुञ्जको अर्को हिउँचितुवा लाप्छेम्बामाथि २८ अप्रिल २०१६ देखि ११ अगस्ट २०१७ मा गरिएको अध्ययनमा कुल दुई हजार ८१५ विन्दुहरूमा रेडियो कलरमार्फत यसको गतिविधि रेकर्ड गरिएको थियो। १२ महिनामा लाप्छेम्बाले पाँचपटक चीनको (कोमोलुम्मा नेसनल अल नेचर प्रिजर्भ) भ्रमण गरेको देखिएको थियो।
नेपाल, सिक्किम, भुटान र तिब्बतका राष्ट्रिय निकुञ्जसम्म यी वन्यजन्तुको विचरण पाइने गरेको छ। त्यसको कारण हो, त्यस भेगमा पाइने टिबेटन वोल्फ (ब्वाँसो)को शिकार। सोही ब्वाँसो खोज्दै हिउँ चितुवाहरू चारवटा मुलुकका जंगलमा विचरण गर्ने गरेको पाइएको विभागका अधिकारीहरू बताउँछन्। घन्जेनजुंगाले सिक्किम, भुटान र तिब्बतमा ५७ दिन बिताएर स्वदेशी बासस्थान फर्किएको थियो। कहिलेकाहीं कञ्चनजंघा राष्ट्रिय निकुञ्जका हिउँ चितुवा संखुवासभा र सोलुखुम्बूको सीमास्थित मकालु वरुण राष्ट्रिय निकुञ्जसम्म पनि पुग्छन्।
हिउँ चितुवा नेपालमा कञ्चनजंगा संरक्षण क्षेत्र, मकालु वरूण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, अपीनाम्पा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्रमा पाइन्छन्।
लजालु स्वभावको हिउँ चितुवाको संख्या नेपालमा मात्र नभई विश्वमै कति छ भनेर यकिन छैन। हिउँ चितुवाहरू निकै गोप्य जीवन बिताउँछन्। उनीहरूलाई जंगलमा देख्न पनि गाह्रो हुन्छ। त्यसैले अहिलेसम्म ठ्याक्कै कति हिउँ चितुवा संसारभरका जंगलहरूमा छन् भन्ने कुनै यकिन तथ्यांक छैन। विश्वका १२ मुलुकमा पाइने हिउँ चितुवा ३९ सयदेखि ६३ सयको संख्यामा मध्य र दक्षिण एसियाको करिब १० लाख ८० हजार वर्गकिमीमा बसोवास गरिरहेको अनुमान छ।
बाघको अज्ञात विचरण
खासगरी, हात्ती, गैंडा, बाघ, हिउँ चितुवालगायत वन्यजन्तुहरू एक देशबाट अर्को देशमा विचरण गरिरहन्छन्। तर कति बाघ कहाँ गए, कता छन् भनेर भन्ने अवस्था छैन।
‘बाघको लागि चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त बासस्थान हुन्,’ इकोलोजिस्ट गणेश पन्त भन्छन्, ‘केही बाघ चीन र भारततर्फ पुग्ने गरेको पाइन्छ। केही बाघमा रेडियो कलर गरिएको छ। त्यस्तो रेडियो कलर गरेका बाघ नेपालबाहिर गएको जानकारी छैन। तर, तत्काल कुन बाघ कहाँ गयोे, कति समय बस्यो भन्ने वैज्ञानिक अध्ययन भएकै छैन। नेपाल-भारत सीमाक्षेत्रमा कति बाघ विचरण गर्छन् भन्ने कुनै तथ्यांक छैन।’
उनका अनुसार वन्यजन्तुहरू प्रायः एक बासस्थानबाट अर्को ठाउँतिर गएर केही दिन बसिरहेका हुन्छन्। त्यसमध्ये बाघ पनि विचरण गर्दै टाढा-टाढा पुगेकोे देखिन्छ। भाले बाघले आफ्नो एरियामा सकभर अर्को भाले बाघ नहोस् भन्ने चाहन्छ। यसले आफ्नो टेरिटोरी मेन्टेन गर्छ। बाघको निश्चित एरिया हुन्छ। होम रेन्ज र टेरिटोरी कति हुने भन्ने कुरा बाघको विचरणमा भर पर्छ। होम रेन्ज भनेको बाघलाई आफ्ना सबै क्रियाकलाप गर्न, विचरण गर्न आवश्यक क्षेत्र हो। कुनै पनि बाघ आफूलाई चाहिने क्षेत्रलाई कभर गर्नुलाई होम रेन्ज भनिन्छ। त्यसैगरी, टेरिटोरी भनेको छोटो समयका लागि सानो एरियालाई आफ्नो कब्जामा राख्नु हो। बाघ प्रायः प्रजनन् समयमा बढी टेरिटोरी हुन्छ।
‘टेरिटोरीको समयमा एउटा बयस्क बाघ छ, त्यहाँ अरू बाघ पनि आए भने त्यो टेरिटोरी मेन्टेन गरे अरू बाघहरू बाहिर हुन्छन्,’ उनी भन्छन्, ‘कुनै समयमा एउटा बयस्क बाघलाई पछि बुढो हुँदै गएपछि त्यो ठाउँमा नयाँ बाघ आएर विस्थापित गर्छ।’ विशेषतः वन्यजन्तुको विचरण गर्नुको मुख्य कारण जलवायु परिवर्तन भएको उनी औल्याउँछन्। वन्यजन्तुलाई पहिले उपयुक्त रहेको बासस्थान असहज बन्दै गएपछि जनावरहरू विचरण गरिरहने उनको भनाइ छ।
गैंडा विचरणको पनि आफ्नै कथा छ। नेपालमा हरेक पाँच वर्षमा गैंडा गणना गरिन्छ। गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा गरी चारवटा निकुञ्जमा गैंडा छन्। पछिल्लोपटक सन् २०१५ को गणनाअनुसार नेपालमा कुल ६४५ वटा गैंडा थिए। पर्यटकको मुख्य आकर्षण रहँदै आएका छन्, नेपालका गैंडा। गैंडा र बाघकै कारण चितवन र बर्दिया निकुञ्ज जंगल सफारीका लागि विश्वमै प्रख्यात छन्।
‘गैंडाहरू पनि पश्चिमको बर्दियामा खाता कोरिडोर हुँदै भारततर्फ जान्छन्। खासगरी, चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको विहारको वाल्मिकी टाइगर रिर्जव छ,’ गैंडाविज्ञ कमलजंग कुँवर भन्छन्, ‘भारतको विहारमा कहिलेकाहीं बाढीले बगाएर नेपालका गैडा पुग्छन्। त्रिवेणी क्षेत्रको भेलौलीघाटतिर अहिले पनि केही गैंडा बसिरहेका छन्। त्यहाँबाट तलसम्म जाने र पछि फर्किएर आउने गर्छन्।’
उनका अनुसार गैंडाहरू नेपालबाट चितवनको पूर्वी भागबाट दक्षिणतिर जान्छन्। अनि चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्छन्। त्यहाँबाट पूर्वका रौतहट, मकवानपुरसम्म विचरण गर्छन्। मकवानपुरको हेटौंडाबाट पूर्व हटियासम्म पुगेको एउटा गैंडालाई उद्धार गरेर हाल सौराहामा फर्काइएको छ। गैंडाहरूको विरचण गर्ने आफ्नै व्यवस्थित व्यवहार हुन्छ। एक सय वर्षभन्दा अगाडि गैंडाको विचरण बर्मादेखि पाकिस्तानसम्म हुन्थ्यो। नेपालको तराई क्षेत्र एकसिंगे गैंडाको मुख्य वासस्थान मानिन्छ। विस्तारै वासस्थान विनास हुँदै गयो। अतिक्रमण, पानीको मुहान सुक्दा, वन विनाश, चुरेको विनाशका कारणले यसको वासस्थानमा असर पर्यो।
गैंडालाई मुख्यतया घाँसे मैदान र पानीको स्रोत चाहिन्छ। यिनीहरूले बर्खायाममा करिब ७० प्रतिशत समय पानीमै बिताउँछन्। गैंडालाई बग्ने नदी नभई आहाल खेल्ने ठाउँहरू मन पर्छ। राप्ती र नारायणी नदी गैंडाका लागि पानीका मुख्य स्रोत हुन्। र, नदीको पानीबाट बनेका घोल, बीचबीचमा बनाइएका ताल, तलैया, हिले माटो गैंडालाई औधी मन पर्छन्। तराई क्षेत्र पुरानो वासस्थान भएकाले पनि गैंडाले यहाँ बढी विचरण गरिरहन्छन्। वासस्थानका लागि चितवन राष्ट्रिय निकुञ्ज एक उपयुक्त स्थान हो।
‘उनीहरूको सुरक्षाका लागि कोरिडोरहरू बनाएका छौं। वन्यजन्तुहरू सुरक्षित रूपमा आवतजावत गर्न सकून् भन्ने हेतुले कोरिडोर बनाइएको हो,’ कुँवर भन्छन्, ‘हामीले बनाएको कोरिडोरमै जान्छन् भन्ने हुँदैन। त्यसकारण कहिलेकाहीं चोरी शिकारीको फन्दामा पनि पर्छन्।’
उनका अनुसार एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा विभिन्न कारणले असुरक्षित हुन सक्छन्। उदाहरणका लागि ९ माघ ०७८ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीच एउटा भाले गैंडा सडकछेउ खनिएको नालीमा खसेर मरेको समाचार आएपछि सामाजिक सञ्जालमा त्यसबारे निकै चर्चा भएको थियो। मानवीय गतिविधिको कारणले पनि वन्यजन्तुलाई जोखिम हुन्छ।
चितवनमै छ ध्रुवे
करिब १३ वर्ष अअघिदेखि कुख्याति कमाएको छ, ध्रुवे हात्तीले। अहिले भने यो हात्ती शान्तसँग चिनतवनमै छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्ज वरपर घरहरू भत्काउँदै र मानिसहरूलाई आक्रमण गर्दै हिँड्ने गरेको ध्रुवे हात्ती वर्षौंसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरूमा पनि आउने गर्थ्यो।
‘कहिलेकाही ध्रुवे हात्ती केही समय निकुञ्जदेखि उत्तरतर्फको चुरेको वनमा गएर बस्छ,’ चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत वेदबहादुर खड्का भन्छन्, ‘कहिले भारतर्फ गएको पनि देखिन्छ तर पछिल्लो समय चितवनमै छ।’ उनका अनुसार ध्रुवे हात्ती पनि भारततर्फ पुगिरहने एक वन्यजन्तु हो।
उनको भनाइमा ध्रुवेसँगै गोविन्दे र रोनाल्डो हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमै छन्। यहाँ करिब ४५ देखि ५० वटा हात्ती छन्। ‘ध्रुवे र रोनोल्डोमा रेडियो कलर लगाइएको छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी डा. अशोक राम भन्छन्, ‘यिनीहरू दिनमा कहाँ-कहाँ जान्छन्, घाँस र पानी भएको स्थानमा कति समय व्यतित गर्छन्, कति किलोमिटर हिँड्छन् भनेर अध्ययनका लागि यिनीहरूमा रेडियो कलर लगाइएको हुन्छ।’ नेपालमै बसोबास गर्ने हात्तीहरू २२७ वटा छन्, ती सबै रैथाने हात्ती हुन्। त्यसबाहेक १५० वटा भारतबाट आउने हात्ती अहिले नेपालमा विचरण गरिरहेका छन्।
भनाइ नै छ, आसामको मत्ता, कोशीटप्पुको ढोइ। आसामका भाले हात्ती बथानसहित प्रजननका लागि सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षासम्म आउँछन्। यो हात्तीको परम्परागत प्रजनन शैली हो। तिनै हात्तीले हो, झापा र मोरङमा घर भत्काउने र मानिसको ज्यान लिने पनि। आफ्नो विचरण क्षेत्रमा बनेका घरहरूमा आक्रमण गर्छन्। बालीनाली सखाप पार्छन्। अनि जसरी पनि कोशीटप्पुका पोथी हात्तीसँग प्रजननमा सहभागी भएर फेरि उसैगरी फर्किन्छन्।
त्यति मात्रै कहाँ हो र, आसामबाट कोशीटप्पुसम्म आउने केही हात्ती त पर्सा वन्यजन्तु आरक्षसम्म आइपुग्छन्। पश्चिमतिर बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती त्यसरी नै प्रजननका लागि भारतको नन्दोर रोयल एक्स सेन्चुरीसम्म आउजाउ गर्छन्। दुवैतर्फका मत्ता हात्ती एकअर्को जंगलमा रहेका ढोइसँग समागमका लागि आउजाउ गर्छन्। कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि भारतको दुध्वा राष्ट्रिय निकुञ्जबाट आउने गर्छन्।
हात्तीहरू विशेषगरी दुईवटा यामअनुसार विचरण गर्छन्। विशेषतः धान, मकै, गहुँ पाक्ने बेला यिनीहरूको प्रजननको याम हुन्छ। अनि कृषकको बालीनाली नष्ट गरिदिन्छन्। हात्ती ठूलो बथानमा आवतजावत गर्ने भएकाले कृषकको बालीनालीमा पनि ठूलो क्षति पुर्याउँछन्। हरेक वर्ष जुन-जुलाई र अक्टोबर-नोभेम्बरमा हात्तीहरूका बथान नेपाल-भारतका विभिन्न क्षेत्रमा विचरण गर्छन्।
‘वन्यजन्तुहरूले विचरणको गर्नुका कारण मुख्यतया तीनवटा छन्- खाना, पानी र पुर्खाको गोरेटो। हात्तीको शरीर ठूलो भएका कारणले यसलाई एक दिनमा करिब १५० किलो खाना चाहिन्छ। एक दिनमा कम्तिमा २० घण्टा खाइरहनुपर्छ,’ अशोक राम भन्छन्, ‘हात्ती आफैंमा ठूलो प्राणी हो। एकै ठाउँमा विचरण गर्दा १५० किलो खान पाउँदैन। त्यसको लागि उसले डुलिरहनुपर्छ। पानीको लागि पनि एक ठाउँबाट अर्को ठाउँमा जान्छ। अर्को कुरा, नयाँ ठाउँहरूको खोजीका लागि पनि विचरण गरिरहन्छ।’
उनका अनुसार परापूर्वकालमा हात्तीका पुर्खाले हिँडेको गोरेटो अहिलेको पुस्ताले पनि पछ्याइरहन्छन्। पुर्खा हिँडेको बाटोमा अहिलेका पुस्ता पनि अवश्य हिँड्छन्। उनका अनुसार बथानमा रहेका टिनएजर भाले हात्तीले आफ्नो बथान छाड्ने गरेको पनि पाइन्छ। र, त्यसरी बथान छाडेका हात्तीले लामो दूरीको यात्रा तय गर्छन्।
वन्यजन्तुको लामो दूरीको यात्रा क्रममा चोरी शिकारीको जोखिम अत्यधिक रहने राम बताउँछन्। निकुञ्ज वा आरक्षणभित्र छन् भने सुरक्षित रहन्छन्। तर, बाहिर निस्किएपछि उनीहरू जोखिममा पर्छन्। संघ र प्रदेश सरकारका वन कार्यालयहरूले हात्ती संरक्षणका लागि काम गरिरहँदा पनि जोखिम न्यूनीकरण हुन नसकेको उनको भनाइ छ।