काठमाडौं- रसुवाको घट्टेखोलास्थित अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन छन्।
Advertisement
उनीहरूको अवस्था अझै अज्ञात रहेको अध्यागमन विभागका निर्देशक शिवप्रसाद लम्सालले जानकारी दिए।
बेपत्ता रहेका कर्मचारीहरूमा त्यहाँस्थित कार्यालय प्रमुख यादव भण्डारी, वरिष्ठ अध्यागमन सहायक दुर्गाप्रसाद पोखरेल, अध्यागमन सहायक पार्वती मानन्धर र कार्यालय सहयोगी छिरिङ ल्हामु तामाङ छन्।
उनीहरू सबैका मोबाइल बाढी आए लगत्तैदेखि स्विचअफ छन्। नेपालतर्फ बाढी पसेको स्थानभन्दा केही टाढा कार्यालय रहेकाले उनीहरूले सुरक्षित स्थानतर्फ भाग्ने अवसर पाएको हुन सक्ने आकलन छ।
त्यस क्षेत्रमा नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकका टावरहरू बाढीले बगाएकाले त्यस क्षेत्रमा टेलिफोन सम्पर्क अवरुद्ध छ। ‘उहाँहरू सकुशल भेटिने आशामा छौं,’ निर्देशक लम्सालले भने।