काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली अर्थोेडक्स चिया प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले २५ वर्षअघि बनाइएको चिया नीतिलाई समय सापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवद्र्धन गरिने बताए । विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने उनको भनाइ थियो । नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताए ।
नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियाले उचित मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगी बाध्य हुने गरेकाले यो समस्या समाधानका लागि पहल गर्ने मन्त्री अधिकारीले बताए।
नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने बताए । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए । प्रदर्शनीले नागरिकलाई नेपाली चियाको गुणस्तरको बारेमा जागरूकता पैदा गर्ने विश्वास गरिएको छ ।
स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ, जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्ने विश्वास गरेको मन्त्री अधिकारीले बताउनुभयो । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहने उहाँले बताउनुभयो ।
चिया प्रदर्शनी आयोजक समितिका सोनाम पाल्जोर लामाले नेपाली चियाको आन्तरिक र बाह्य बजार प्रवद्र्धन गराउने उद्देश्यले नै चिया प्रदर्शनी गरिएको जानकारी दिए। चियाको प्रवद्र्धनमा २५ वर्ष अघि बनेको चिया नीति बाधक भएकाले त्यसलाई समय सापेक्ष संशोधन गरिनुपर्ने उनको माग थियो ।