जब नेपालको व्यावसायिक तरकारी खेती रैथानेबाट विकासे (हाइब्रिड) युगमा प्रवेश गर्यो, तरकारीमा विषादी र रासायनिक मलको प्रयोग पनि ह्वात्तै बढ्यो।
काभ्रे पाँचखाल-७ का दुई तरकारी कृषक राममाया श्रेष्ठ र सरस्वती श्रेष्ठले आफ्नो बारीमा मौसमअनुसारका तरकारी पलाउँछन्। राममायाको अन्य कुनै पेशा, व्यवसाय छैन। पाँच रोपनीमा फलाउने तरकारीबाटै हुने आम्दानीबाट उनले घरखर्च मात्र चलाएकी छैनन्, दुई सन्तानलाई बोर्डिङ स्कुलमा अध्ययन पनि गराइरहेकी छन्। सरस्वतीको समेत पेशा, व्यवसाय जे भने पनि तरकारी खेती नै हो। आठ रोपनीमा उत्पादन हुने तरकारीले परिवारको दैनिक जीवन आरामले चलेको छ।
हालैको एक मध्याह्न उनीहरू दुवै तरकारीमा विषादी छर्किन बारीतर्फ लम्किँदै थिए। उनीहरूको बारीमा फल्छन्, आलु, गोलभेंडा, काउली र बन्दा। ती सबैमा विषादी नहाले किराले सखाप बनाइदिन्छन्। उनीहरूका लागि विषादी र रासायनिक मल तरकारी फलाउने अनिवार्य अस्त्र बनेका छन्। पाँचखाल नगरपालिकाले प्रांगारिक मल प्रयोगको अभियानै चलाए पनि त्यसको प्रभाव कृषकसम्म कमै पुगेको छ। कारण- प्रांगारिक मल प्रयोगबाट उत्पादन लिन कम्तिमा वर्षदिन पर्खिनुपर्छ। अनि यसअघि रासायनिक मल र विषादीको प्रयोगले जमिनको उर्बरा शक्तिसमेत घटिसकेको छ।
औषधि छर्किने पम्प र हातमा विषादीको झोला (डाइथेन) बोकेर खेततिर लम्किनु उनीहरूको दैनिकी हो। टाउकोमा क्याप लगाएर पछ्यौरीले मुख छोपी तरकारीमा विषादी छर्किरहेका महिला, पुरुष कृषक बारीमा देखिनु पाँचखालका लागि नौलो विषय रहेन।
मोरङ गोठगाउँका एक अगुवा कृषकका अनुसार त्यहाँ पनि विषादी नछर्किई र रासायनिक मल नहाली तरकारी फल्न छाडिसकेको छ। ‘हामी आफ्ना लागि गाईभैंसीको गोबर हालेको तरकारी फलाउँछौँ, बजारमा पुर्याउन विषादी र रासायनिक मल हाल्नैपर्छ,’ उनी भन्छन्, ‘व्यावसायिक तरकारी खेतीमा विषादी र रासायनिक मल एकअर्काका पूरकझैँ बनिसकेका छन्।’
बजारमा विषको अवशेषसँगै तरकारी
ताजा देखिने तरकारी, फलफूल, मासु वा दूध खाने क्रममा आमउपभोक्ताले मन्द विष खाइरहेका छन् भन्ने यस्ता दृष्टान्त प्रशस्त छन्। विज्ञहरूका अनुसार विष बाँकी रहने अवधिभित्रै बजारमा तरकारी आइसकेको हुन्छ, जसले जनस्वास्थ्यमा सोझो असर पुर्याइरहेको छ। विषादीको अवशेष रहने अवधि (रेसिड्युल पिरियड) तीन दिनदेखि तीन सातासम्म रहन्छ। तर, विषादी छरेको केही घण्टामै तरकारी बजारमा पुगिसकेको हुन्छ।
मुलुकको व्यावसायिक तरकारी खेतीमा जानी-नजानी अत्यधिक रासायनिक मल र विषादी प्रयोग भइरहेको छ। झण्डै चार दशकअघि शुरु भएको नेपालको व्यावसायिक तरकारी खेतीको धेरैलाई थाहा नभएको पाटो पनि हो, यो। सप्रिएका तरकारी खानेमध्ये धेरैजसो रासायनिक मल तथा विषादीको प्रयोगले मानव जीवन र पर्यावरणमा पर्ने नकारात्मक असरबारे जानी-नजानी उदासीन बनिरहेका छन्।
विषादी अत्यधिक प्रयोग हुने तरकारीका पकेट क्षेत्रमा जन्डिसको प्रकोप फैलिने गरेको छ। र, आँखा पाक्ने रोग पनि उत्तिकै छ। जन्डिस र आँखा पाक्ने रोग फैलियो भने सामान्य औषधिले काम नगर्ने समस्या उत्तिकै छ। एउटै रोगमा पनि तरकारीको पकेट क्षेत्रका बिरामीलाई अन्यत्रभन्दा दोब्बर औषधि चाहिन्छ।
विषादीका कारण कुन रोगको मात्रा कसरी कति बढेको छ भन्ने अध्ययन र विश्लेषण अहिलेसम्म भएको छैन। विषादीले हृदयरोग, उच्चरक्तचाप, मिर्गौला र कलेजोको संक्रमण बढ्ने चिकित्सकहरू बताउँछन्। विषादीको पहिलो प्रहार नै कलेजो र मिर्गौलामा हुने उनीहरूको भनाइ छ। विषादीले सबै प्रकारको क्यान्सर निम्त्याउने जोखिम पनि उच्च छ। र, पेट र पाचनप्रणालीको क्यान्सर पछिल्ला वर्षमा बढ्दो छ।
जनरल फिजिसियन डा. केदार सेन्चुरी विषादीको अवशेष बाँकी रहेका तरकारी खाँदा पहिलो त फुड पोइजनको समस्या देखिन सक्छ। तरकारीमा प्रायः ‘अर्गेनो फस्फोरस कम्पाउन्ड’को प्रयोग हुने उनी बताउँछन्। त्यसपछि पेट, मिर्गौला, कलेजोदेखि मस्तिष्कमा समेत विषादीले असर पुर्याउँछ। उच्च रक्तचाप, हृदयाघात, विभिन्न प्रकारका क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ। ‘तरकारीमा जथाभावी प्रयोग हुने विषादीले मानिसका मल्टिपल अर्गानमा असर पुर्याउँछ,’ डा. सेन्चुरी भन्छन्, ‘यसका तत्कालीन र दीर्घकालीन दुवै प्रकारका असर हुन्छन्।’

काउलीमा टिप्नुअघि बोरन नामको औषधि छर्कियो भने काउली हत्तपत्त पहेँलिँदैन, कृत्रिम रूपमा ताजा देखाउन मद्दत गर्छ। गोलभेंडालाई डाइथिएमको घोलमा डुबाएर बजार पुर्याउने प्रवृत्ति अझै रोकिएको छैन। कम्पोस्ट मलबाट उब्जनी लिन एक वर्ष कुर्नु पर्ने अवस्थाबाट मुक्ति पाउन कृषकले विषादीकै प्रयोगमा जोड दिन्छन्।
काभ्रे मात्र होइन, पर्सा, मोरङ, काठमाडौंलगायत व्यावसायिक तरकारी उत्पादन हुने जिल्लामा विषादी र रासायनिक मलको प्रयोग अत्यधिक छ।
कम्तीमा १५ दिन बिराएर हाल्नुपर्ने विषादी डाइथिएन एम-४५ दैनिक प्रयोग गरिन्छ। अझ, पहिलो दिन विषादी हाल्दा डढुवा रोकिएन भने भोलिपल्ट दोब्बर मात्रा लगाउँछन्। पाँचखालमा ०३८ सालदेखि तरकारको व्यावसायिक खेती शुरु भएको हो।
तरकारीलाई चिल्लो र ताजा देखाउन टिप्नुअघि नै विषादी हाल्नु सामान्य भइसकेको छ। गोलभेँडा टिप्नुअघि सेताम्य हुने गरी डाइथियम एम-४५ छर्किदियो भने भोलिपल्ट रहरलाग्दो देखिन्छ, बजारमा पनि त्यसकै माग बढी हुन्छ। कारण स्पष्ट छ, उपभोक्ताले फुस्रो गोलभेँडा मन पराउँदैनन्। गोलभेँडा टिप्नुअघि डाइथिएम छर्किने प्रवृत्ति सबैतिर उत्तिकै छ।
धादिङ खानीखोलाका एक कृषकका अनुसार अन्तिमपटक विषादी हालेको गोलभेँडा र काउली बजार पुर्याउन हतारिनुपर्छ। टिप्ने बेलाको तरकारीमा पुतलीको प्रकोप हुन नदिन बेस्कन क्याल्डन, आतंक, डस्मा र घातक नामका विषादी छर्ने चलन छ। रामपुर कृषि क्याम्पसका दुई विद्यार्थीले गरेको एक अध्ययन अनुसार, पूर्वी चितवनको तरकारीमा विषादी हालेपछि बजार पुर्याउन पर्खनुपर्ने समयको प्रतीक्षा गरिँदैन। अत्यधिक विषादी प्रयोगको कारण वायु, जल र जमिन प्रदूषणले जनस्वास्थ्यमा सीधा असर पर्नुका साथै वन्यजन्तु, चराचुरुंगी र खोलानालाका माछासमेत लोप हुन लागेको अध्ययनमा देखिएको थियो।
जब नेपालको व्यावसायिक तरकारी खेती रैथानेबाट विकासे (हाइब्रिड) युगमा प्रवेश गर्यो, तरकारीमा विषादी र रासायनिक मलको प्रयोग पनि ह्वात्तै बढ्यो। सबैको प्राथमिकता ‘हाइब्रिड’ जातका तरकारी भएपछि तिनलाई रासायनिक मल र विषादी बढी आवश्यक पर्यो। फसल बिग्रिन नदिन विषादीको प्रयोग बढाउनुको विकल्प कृषकसँग रहेन।
अत्यधिक विषादी प्रयोगसँगै रोग-कीराको प्रतिरोधात्मक क्षमता पनि बढेको छ। पहिले पाँच मिलिलिटर विषादीले १५ दिनसम्म तरकारीको उपचार गथ्र्यो। अहिले हरेक तीन-चार दिनमा २५-३० मिलिलिटरसम्म विषादी छर्किंदासमेत रोग-कीराको प्रकोप कम गर्न सकिँदैन।
अर्गानिक खेतीको लहर नै चलिसक्दा पनि व्यावसायिक खेतीमै रमाएका कृषक विषादी र रासायनिक मलतिरै आकर्षित छन्। फसल पनि राम्रो देखिने, बजारमा हातहातै बिक्री पनि हुने। गोलभेँडा, काउली, हरियो सागपात, काँक्रोलगायत बालीमा साइपरमेथिन, क्लोरिपरिफस, मोनोक्रोटोफस, अल्फामेथ्रिन, इन्डोसल्फान आदि घोल र मालाथिन पाउडरको प्रयोग अत्यधिक छ।
झापा र नवलपरासीका भन्टामा मान्कोजेव, चितवनका गोलभेँडामा मान्कोजेव र साइपरमेथ्रिन, काठमाडौँका गोलभेँडामा साइपरमेथ्रिन, नुवाकोटका भन्टामा साइपरमेथ्रिन, नुवाकोटकै गोलभेँडामा डाइक्लोरोभस र मान्कोजेव, काठमाडौँका भन्टामा फोरेट, गोलभेँडामा इन्डोसल्फान, आलुमा मान्कोजेव नामका विषादीका अवशेष पाइनु सामान्यझैं भइसकेको छ। इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, सर्लाही, रूपन्देही, सल्यान, बाँके र बर्दिया तरकारी खेती हुने मुख्य जिल्लामा पर्छन्। ती सबैमा विषादी र रासायनिक मलको प्रयोग कम हुनु साटो बढ्दो छ। अझ, भारतबाट आउने तरकारीलाई ताजा देखाउन रंग र निलोतुथो नामको रसायनसमेत प्रयोग भएको पाइएको छ।
यसको घातक असर कतिसम्म छ भने तरकारी खेतीका लागि प्रसिद्ध पाँचखाल क्षेत्रका खेतहरूमा खेल्ने माछा अहिले त्यहाँका खोलानालामा समेत भेटिँदैनन्। माछा त हराए, हराए, अब सर्प पनि पाइन छोडेका छन्। स्थानीयबासीका अनुसार कहिलेकाहीँ भेटिएका सर्प पनि आधा ढाड कुहिसकेका हुन्छन्। रस खोज्न निस्केका कामदार मौरी विष खाएर फाँटमै मर्न थालेपछि पाँचखाल क्षेत्रमा मह पाउन छाडिएको छ। केही वर्षअघिसम्म पाँचखाल क्षेत्रमा छ्यापछ्याप्ती पाइने दहीदंगालो नामको वनस्पति पनि हराइसकेको छ। केही वर्षअघि भएको एक अध्ययनमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति पनि घटाइरहेको पाइएको थियो। पाँचखालको माटो परीक्षण गर्दा अम्लियपन बढी पाइएको थियो। माटो परीक्षण गर्ने मापदण्ड पीएच मिटर अनुसार अम्लियपन ठीक मात्रामा रहन ६ विन्दु हुनुपर्छ जबकि पाँचखालको माटोको अम्लियपन ५ विन्दुभन्दा तल देखिएको थियो।
खाद्यवस्तुपिच्छे फरक विषादी
आलु
किटनाशक- डाइक्लोरभस, डाइमेनथोएट, फेन्भलेरेट र मिथाइल पाराथिन। ८ देखि १२ पटकसम्म।
ढुसीनाशक- मान्कोजेव तथा मान्कोजव र मेटालक्सिलको मिश्रण क्रिलोक्सिल। ९ पटकसम्म।
गोलभेँडा
किटनाशक- डाइक्लोरभस, डाइमेनथोएट, फेन्भलरेट र मिथाइल पाराथिन। ७ देखि १५ पटकसम्म।
ढुसीनाशक- कार्बेन्डाजिम, मान्कोजेव र क्रिलक्सिल। ४ देखि ११ पटकसम्म।
काउली
किटनाशक- डाइक्लोरभस र फेन्भलरेट। २ देखि ४ पटक
ढुसीनाशक- मान्कोजेव। ७ पटकसम्म।
करेला
किटनाशक- डाइक्लोर्भस, डाइमेनथोएट, फेन्भलरेट र मिथाइल पाराथिन। ५ देखि १३ पटकसम्म।
ढुसीनाशक- मान्कोजेव। १४ पटकसम्म।
काँक्रो
किटनाशक- डाइक्लोर्भस, डाइमेनथोएट र फेन्भलरेट। २ देखि ९ पटकसम्म।
ढुसीनाशक- मान्कोजेव र क्रिलक्सिल। १२ पटकसम्म।
सिमी
किटनाशक- डाइमेनथोएट। ५ पटकसम्म।
ढुसीनाशक- मान्कोजेव। ५ पटकसम्म