प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परा र प्रोटोकल मिच्दै नयाँदिल्लीमा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेट गर्दै छन्। प्रधानमन्त्री देउवाले शुक्रबार नयाँदिल्लीस्थित भाजपा मुख्यालयमै पुगेर अध्यक्ष नड्डासँग भेटवार्ता गर्दै छन्।
‘यो प्रोटोकलविपरीत भयो। मुलुकको हित नै हुने हिसाबले उहाँले त्यसरी भेट्न लाग्नुभएको भए पनि नेपालमा त्यो कुरा सार्वजनिक गरेर जानुपर्थ्यो,’ परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव गोपालबहादुर थापा भन्छन्।
मुलुकको प्रधानमन्त्रीले भारत गएर कुनै पार्टीको अध्यक्षलाई पार्टी कार्यालयमै गएर भेटेको अहिलेसम्म जानकारी नभएको थापा बताउँछन्। अहिलेसम्म भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीहरूलाई उनीहरू बसेकै ठाउँमा आएर भारतीय दलका नेताहरूले भेट्ने गर्थे।
हरेक मुलुकको मर्यादाक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछि मात्र पार्टीका अध्यक्षहरू हुन्छन्। पार्टी अध्यक्षहरूलाई अर्को मुलुकको प्रधानमन्त्री या राष्ट्राध्यक्षले उनीहरूकै पार्टी मुख्यालयमा गएर भेट गर्दैनन्।
‘मुलुक सानो भए पनि ठूलो भए पनि देशको प्रधानमन्त्री पदको मर्यादा प्रधानमन्त्री स्वयंले राख्ने हो,’ थापा भन्छन्, ‘उहाँको भ्रमण तालिका पनि पहिलेजसरी सार्वजनिक भएको छैन। पहिले भ्रमणअघि त्यसको तालिका सार्वजनिक हुन्थ्यो। त्यस्तो तालिका दुवै मुलुकले प्रकाशित गर्ने परम्परा छ।’
सौहार्द्रपूर्ण र अनौपचारिक भ्रमणमा गएको भएर प्रधानमन्त्रीले पार्टी मुख्यालयमै गएर भेट्ने कुरामा स्वीकृति दिएको हुन सक्ने उनको आकलन छ। तर, जस्तोसुकै भ्रमणमा पनि मर्यादा कायम राख्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘त्यसो गर्नु ओहोदाका हिसाबबाट मिल्दैन। गुडविल भिजिटमा पनि त्यसरी भेट्नु प्रोटोकलको मर्यादामा परेन।’
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यसअघि उनी बसेकै ठाउँमा भारतीय राजनीतिक दलका नेताहरूलाई भेट्ने प्रबन्ध मिलाइन्थ्यो। ‘बरु आफू बसेकै स्थानमा भारतीय नेताहरूसँग सामुहिक भेट गर्न सकिन्थ्यो। भाजपा मात्र होइन, अरू दलका पनि कसैले इच्छा गर्दा सामुहिक भेटवार्ता मिलाउन सकिन्थ्यो,’ उपाध्याय भन्छन्, ‘म भारतमा राजदूत हुँदा पनि त्यसरी प्रबन्ध मिलाउने गरेको थिएँ। हामी समय मिलाएर भेटाइदिन्थ्यौँ। किनभने, उनीहरू पनि शिष्टाचार भेट गर्न खोज्छन्, नेपालका नेताहरूसँग।’