• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘बी एन्ड बी’को तेस्रो ‘बी’ : ‘ब्रेन’


आइतबार, जेठ २७, २०८१ मा प्रकाशित

काठमाडौं- ललितपुर नेपालको प्राचीन शहर। विकट ग्रामीण इलाका, प्राचीन नगर र आधुनिक शहर। प्राचीनतासँगै आधुनिक जीवनशैलीले ललितपुरलाई समृद्ध बनाएका छन्। यही आधुनिकताबीच व्यस्त दिनचर्याका कारण मानिसमा नसासम्बन्धी रोगले पनि उत्तिकै गाँज्दैछ। र, त्यस्ता रोगहरूको निदानका लागि ललितपुरकै ग्वार्कोमा स्थापित देशकै अग्रणी ‘बी एन्ड बी अस्पताल’ले अक्युट स्ट्रोक सेन्टर सञ्‍चालनमा ल्याएको दुई वर्ष बित्दैछ।

Advertisement

बी एन्ड बी अस्पताल खासगरी हाडजोर्नीसम्बन्धी रोगका लागि देशभर ख्यातिप्राप्त छ। नेपालभरका हाडजोर्नीका बिरामीले रोग निदानका लागि बी एन्ड बी सम्झिन्छन्। तथापि, अब बी एन्ड बी हाडजोर्नीसम्बन्धी रोगमा मात्र होइन, हरेक प्रकारका बिमारीहरूको उपचार हुने अस्पतालका रूपमा स्थापित छ। र, त्यसैमा पर्छ, अक्युट स्ट्रोक सेन्टर पनि।

नेपालकै पायोनियर चिकित्सकद्वय वरिष्‍ठ अर्थोपेडिक सर्जन प्रा. डा. अशोककुमार बाँस्कोटा र वरिष्‍ठ युरो सर्जन प्रा. डा. जगदिशलाल वैद्य बी एन्ड बीका संस्थापक हुन्। दुवै वरिष्‍ठ चिकित्सकहरूको अथक प्रयत्‍नको परिणति हो, बी एन्ड बी। र, अब यही अस्पतालमा तेस्रो ‘बी’ पनि स्थापित भएको छ। त्यो हो- ‘ब्रेन’। अक्युट स्ट्रोक सेन्टरले आफूलाई बी एन्ड बीको तेस्रो ‘बी’ अर्थात बलियो खम्बाका रूपमा स्थापित गर्दैछ।

विश्‍व स्‍नायु दिवसका अवसरमा २२ जुलाई २०२२ (६ साउन ०७९) देखि बी एन्ड बीमा अक्युट स्ट्रोक सेन्टर सञ्‍चालनमा छ, जसमा ६ जना अनभुवी चिकित्सकहरू कार्यरत छन्। अनुभवी न्युरो सर्जन डा. शिखर श्रेष्‍ठ (एमबीबीएस, एफसीपीएस)को मातहतमा यो सेन्टर सञ्‍चालनमा छ। डा. श्रेष्‍ठको नेतृत्वमा डा. काजन रानाभाट (एमबीबीएस, एमडी), डा. अनन्त महर्जन (एमबीबीएस, एमएस), डा. अश्‍विना केसी (एमबीबीएस, एमएस, इएनटी), डा. दिनुज श्रेष्‍ठ (एमबीबीएस, एफसीपीएस) र डा. सुमन भट्टराई (एमबीबीएस, एमडी) जस्ता अनुभवी चिकित्सकको टिम छ।

डा. रानाभाट इन्टरभेन्सनल रेडियोलोजिस्ट हुन्। यस्तै, डा. महर्जन सिनियर रजिस्ट्रार, डा. अश्‍विना केसी नाक, कान र घाँटीको सर्जन, डा. दिनुज श्रेष्‍ठ न्युरो सर्जन र डा. सुमन भट्टराई न्युरोलोजिस्ट हुन्। सबै चिकित्सकबीच उत्कृष्‍ट टिम वर्क छ। र, बी एन्ड बीमा हातेमालो गरेर अगाडि बढेका छन् उनीहरू। ‘चिकित्सा क्षेत्रको अत्यन्तै संवेदनशील विधा भएकाले बिरामीले चाँडोभन्दा चाँडो उपचार पाउन् भन्‍ने हाम्रो टिमको ध्येय छ,’ डा. शिखर भन्छन्।

उनीहरूको काँधमा ललितपुरका नसा रोगी मात्र छैनन्। सीमा जोडिएको भक्तपुरका लागि पनि बी एन्ड बी नजिकको उपचार गन्तव्य हो। त्यसैले ललितपुर र भक्तपुरका बिरामीको समस्या समाधानका लागि अहोरात्र खटेका छन् उनीहरू। त्यसो त, मुलुककै ख्यातिप्राप्त अस्पताल भएकाले बी एन्ड बीको कार्यक्षेत्र यी २ जिल्ला मात्र होइनन्, देशका ७७ वटै जिल्लाका बिरामीको चाप दिनानुदिन बढ्दो छ। उनीहरूको दिनरातको मिहिनेतका कारण बी एन्ड बीको स्ट्रोक सेन्टरले उचाइ लिँदै छ।

०००

डा. श्रेष्‍ठ भन्छन्, ‘स्ट्रोक हुँदा प्रत्येक मिनटमा २० हजार कोशिका मर्छन्। त्यसैले, मस्तिष्‍कघात अर्थात स्ट्रोकको लक्षण देखिनासाथ बिरामीलाई अस्पताल पुर्‍याइहाल्नुपर्छ। शहरी इलाकाको ट्राफिक जाम छिचोल्दै टाढा पुग्‍नुभन्दा नजिकको अस्पतालमा बिरामीलाई पुर्‍याउन सक्दा मात्र बचाउन सकिने सम्भावना उच्च रहन्छ। र, ६ जना अनुभवी डाक्टरहरूको निगरानीमा बी एन्ड बीले नै गुणस्तरीय सेवा दिँदै आएको छ।’

ललितपुरका बासिन्दाले निकै माया गर्छन्, बी एन्ड बीलाई। यहाँ आउने बिरामीमध्ये ९० प्रतिशत ललितपुर र त्यससँग सीमा जोडिएका मकवानपुर, भक्तपुर, काठमाडौं र काभ्रेका छन्।

ललितपुरवासीको त्यही मायाको परिणाम हो, अक्युट स्ट्रोक सेन्टर पनि। बी एन्ड बीले २ वर्षअघि ललितपुरमै पहिलोपटक स्ट्रोक सेन्टर स्थापना गरेको हो। र, यसको उदघाटन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको बाहुलीबाट भएको थियो। ‘बी एन्ड बीमा नजिकको जिल्ला र उपत्यकाकै बासिन्दाहरू उपचारका लागि बढी आउँछन्। यसकारण पनि स्थानीयवासीको विश्‍वासिलो अस्पतालका रूपमा बी एन्ड बी स्थापित छ,’ डा. श्रेष्‍ठ भन्छन्।

स्ट्रोक भएका बिरामीको शरीर नचिरी उपचार गर्ने पद्दतिलाई इन्टरभेन्सन रेडियोलोजी भनिन्छ। यो सुविधा बी एन्ड बीको स्ट्रोक सेन्टरमा उपलब्ध छ। रक्तनलीको ब्लक भएको ठाउँमा तारमार्फत सूक्ष्‍म यन्त्र पुर्‍याएर खोल्ने काम गर्छ, उक्त प्रविधिले। र, ब्लक भएको क्षेत्र खुलाएर रक्त प्रवाह सहज बनाइन्छ।

त्यति मात्र कहाँ हो र ! ब्रेन ट्युमर भएका बिरामीलाई पूर्ण रूपमा बेहोस नबनाई शल्यक्रियामार्फत ट्युमर हटाउने प्रविधिमा पनि बी एन्ड बीले फड्को मारेको छ। यस पद्दतिलाई ‘अवेग क्रियोटोमी’ भनिन्छ।

डा. श्रेष्‍ठका अनुसार करिब एक महिनाअघि मात्र बी एन्ड बीमा सुर्खेतका करिब ७० वर्षका ज्येष्‍ठ नागरिकको सोही पद्धतिद्वारा ब्रेन ट्युमरको सफल उपचार भएको थियो। यो पछिल्लो उदाहरण मात्र हो। यस्ता धेरै सफल उपचार अक्युट सेन्टरमा भइसकेको छ।

०००

डा. श्रेष्‍ठका अनुसार मानिसको दिमागलाई कम्प्युटरको सीपीयूसँग तुलना गर्न सकिन्छ। ब्रेन ट्युमरजस्ता जटिल रोगहरूमा बेहोस बनाएर उपचार गर्दा हातगोडा नचल्ने र नसा पनि बाँधिन सक्ने खतरा बढी हुन्छ। सोही कारण चिकित्सा विज्ञानले बिरामीलाई बेहोस नबनाई ब्रेन ट्युमरको शल्यक्रिया गर्ने प्रविधि विकास गरेको छ। र, यो प्रविधि बी एन्ड बीको अक्युट सेन्टरमा उपलब्ध छ।

डा. श्रेष्‍ठका अनुसार स्ट्रोक देखिएको ३-४ घण्टादेखि २४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याइयो भने मात्र त्यसका कारण हुने पक्षघात (प्यारालाइसिस) रोक्न सकिन्छ। स्ट्रोक युनिटमा सामान्यदेखि जटिल प्रकृतिका नसा रोगका बिरामी आउँछन्। तीमध्ये टाउकोमा ट्युमर, मस्तिष्‍कघात, ब्रेन ह्यामरेज, रगतको फकुन्डो र गुजिल्टोजस्ता समस्याका बिरामी बढी हुन्छन्।

यस्तै, मेरुदण्डमा ट्युमर, मेरुदण्डमा क्षयरोग, नसा च्यापिएको, दुर्घटनामा परी हातको नसा चुँडिएको, नसामा हुने ट्युमरलगायत समस्याको धेरै सफल उपचार गरिसकेको छ, अक्युट सेन्टरले दुई वर्षभित्र।

०००

मानिसको दिमाग पानीको घरमा बसेको हुन्छ। त्यो पानीको घर सुन्‍निएर टाउको ठूलो भएका केसको उपचार पनि यस सेन्टर सफलतापूर्वक हुँदै आएको छ। दिमागको पानीघर सुन्‍नियो भने त्यो अवस्थामा सन्टिङ अप्रेसन (पाइप राखेर) गरिन्छ।

बालबालिकाले जन्मजात हातखुट्टाको अपांगता झेल्नु परेजस्तै समस्या मेरुदण्डमा पनि देखापर्छ। अक्युट स्ट्रोक सेन्टरमा मेरुदण्डको त्यस्तो समस्याको पनि उपचार सम्भव छ।

ब्रेन अर्थात दिमाग मानव शरीरको रिले सेन्टर हो। जसले दुखाइ, खुशी, सुख, दुःखलगायत भावनाहरूमा प्रतिक्रिया जनाउँछ। मानव शरीरको सबै नियन्त्रण दिमागबाटै हुन्छ। स्ट्रोक सेन्टर सञ्‍चालनमा आएयता आफूहरूले त्यससम्बन्धी करिब डेढ सय केसहरूको उपचार गरिसकेको डा. श्रेष्‍ठ बताउँछन्। भन्छन्, ‘हाम्रो लक्ष्‍य बी एन्ड बी डिपार्टमेन्ट अफ न्युरो साइन्सलाई बी एन्ड बी न्युरो सेन्टर बनाउने हो। त्यसो भयोे भने यो बी एन्ड बीको तेस्रो महत्त्वपूर्ण पिलर बन्‍नेछ।’

नसासम्बन्धी बिरामीको उपचारका लागि न्युरोलोजिस्ट, न्युरो सर्जन, न्युरो इन्टरभेन्सनिस्ट सबै आवश्यक हुन्छ। सोही कारण यहाँको अक्युट स्ट्रोक सेन्टरमा ती सबै विशेषज्ञ चिकित्सक उपलब्ध छन्। र, उनीहरूबीच हार्दिकतापूर्ण टिमवर्क पाइन्छ। त्यसैले त हो, स्थापनाको छोटो समयमै बी एन्ड बीको अक्युट स्ट्रोक सेन्टरले आफूलाई अब्बल सावित गरेको पनि।

०००

डा. श्रेष्‍ठका अनुसार स्ट्रोकको उपचारका लागि शुरुमा औषधि दिइन्छ। औषधिबाट रगतको थेग्लोलाई शुरुमा पगालिन्छ, जसलाई थ्रोम्बोलाइसिस भनिन्छ। स्ट्रोक भएको ३-४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याइयो भने थ्रोम्बोलाइसिसद्वारा उपचार गरिन्छ।

औषधिले पनि काम नगरेको अवस्थामा न्युरो इन्टरभेन्सन विधि प्रयोग गरिन्छ। त्यो भनेको तारमार्फत सूक्ष्‍म यन्त्रलाई दिमागको रक्तनलीको ब्लक भएको स्थानमा पठाइन्छ। र, ब्लक खोलिन्छ। त्यसैले न्युरो इन्टरभेन्सन विधि चिकित्सा विज्ञानमा निकै उपयोगी सावित भएको छ।

त्यो विधिले पनि काम गर्न नसकेको अवस्थामा न्युरो सर्जनले शल्यक्रिया शुरु गर्छन्। सबैजना विशेषज्ञ चिकित्सकले एकअर्कालाई मद्दत गर्ने भएकाले ठूला र जटिल केसहरू पनि सहजै समाधान हुँदै आएका छन्।

डा. श्रेष्‍ठका अनुसार स्ट्रोक भएका बिरामीलाई मिर्गौला र मुटुमा समस्या देखिने जोखिम उत्तिकै हुन्छ। त्यसैले जटिल केसका बिरामीको उपचारमा बी एन्ड बीका सबै एकाइको मजबुत सहकार्य हुन्छ। त्यही सहकार्यले नै हो, बी एन्ड बीको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाएको पनि। अस्पतालका सबै एकाइहरूको त्यही सक्रियताले बी एन्ड बीलाई उचाइ दिएको छ।

उपचारमा आउने बिरामीको प्रकृति एकैनासको हुँदैन। बिरामीको प्रकृति जस्तोसुकै भए पनि विनम्र व्यवहार पाए भने उनीहरूको आधा रोग बिसेक हुने मान्यता छ। त्यसैले चिकित्सक मात्र होइन, अन्य स्वास्थ्यकर्मीको व्यवहार पनि विनम्र हुनुपर्ने मान्यता राख्छन्, डा. श्रेष्‍ठ। र, आफ्नो मान्यता पूर्ण कार्यान्वयन गराएका छन्, अक्युट सेन्टरमा। अक्युट सेन्टरमा पाएको मायाकै कारण केही समयअघि दोलखा जिरीकी ८० वर्षीया महिला निको भएपछि आफूलाई खोज्दै अस्पतालसम्म आएको अनुभव डा. श्रेष्‍ठको छ।

त्यो भेटमा ती महिलाले अप्ठ्यारो मान्दै डा. श्रेष्‍ठको हातमा एउटा पोको थमाइन्। खोलेर हेर्दा त्यो पोकामा चिज थियो। जिरी चिजका लागि देशभर प्रख्यात छ। ती महिलाले डा. शिखरका लागि चिज खरिद गर्न परिवारसँग पैसा मागिनन्। आफ्नो सारीको कुनामा गाँठो पारेर जोगाएको रकमले चिज खरिद गरेर ल्याएकी थिइन्।

विदेशी भूमिमा कुनै ठूलो अवार्ड जितेर मात्र कोही मान्छे ठूलो नहुने मान्यता डा. शिखरको छ। आफ्नै भूमिमा अनि आफैंले उपचार गरेका बिरामीले आफूप्रति देखाएको व्यवहार नै उनलाई अमूल्य लाग्छ। आफू जन्मे, हुर्के र बढेको धरातलका व्यक्तिहरूसम्म पुग्‍न सक्नुलाई नै उनी उपलब्धी मान्छन्।

केही समयअघि उनले काठमाडौंभन्दा बाहिरका युवकको नसाको उपचार गरेका थिए। एक दिन ती युवकले एक्कासी फोन गरेर आफूले गाउँबाट गाडीमा लोकल कुखुरा पठाइदिएको बताए। यो सुनेर डा. श्रेष्‍ठ चकित परे। अन्ततः उनी ती युवकले मायाले पठाइदिएको कुखुरा नलिई मन मानेन। र, लोकल कुखुरा लिन बसपार्क पुगे।

उनी डा. बाँस्कोटा, डा. वैद्य र डा. देवकोटालाई आफ्ना अभिभावक र प्रेरणाको अजश्र स्रोत मान्छन्। र, तीनैजना वरिष्‍ठ चिकित्सकहरूका गुणलाई आत्मसात गरेका छन्। देशका पायोनियर वरिष्‍ठ चिकित्सकहरूले बिरामीसँग एकाकार हुने शैली अर्थात ‘ह्युमन टच’ अपनाउन आफू मातहतका चिकित्सकहरूलाई सिकाउने गर्थे÷गर्छन्। र, डा. शिखरले पनि अक्युट स्ट्रोक सेन्टरमा ह्युमन टचलाई आत्मसात गराउने प्रयास जारी राखेका छन्।

उनका अनुसार स्वास्थ्य समस्या लिएर अस्पताल आएका बिरामीलाई बुझेर सुनिदियो भने ५० प्रतिशत रोग डाक्टरलाई भेट्नेबित्तिकै निको भयो भन्‍ने प्रतिक्रिया आउँछ। त्यसले आफूमा सकारात्मक ऊर्जा थपेको महशुस गर्छन् उनी। भन्छन्, ‘मानिसले आफू आएको धरातल बिर्सनु हुँदैन। रोग निको हुनका लागि बिरामीकै धरातलमा गएर सोच्नु आवश्यक छ।’

उनका अनुसार कहिलेकाहीं आफूहरूले शतप्रतिशत प्रयास गर्दा पनि बिरामीको रोग निको भइरहेको हुँदैन। त्यो अवस्थामा चिकित्सकको तनावको पारो पनि अवश्य माथि चढ्छ। तर, केही त्यस्ता केसमा काम गर्दागर्दै पनि रोग बीसको उन्‍नाइस नहुँदा चिकित्सकहरूले हरेश खाइरहेका हुन्छन्। तर, एकाएक चमत्कार हुन्छ र बिरामी निको हुन्छन्। त्यतिबेला सिनेमाहरूमा देखाइने चमत्कारिक कथाजस्तै महशुस हुने डा. श्रेष्‍ठ बताउँछन्।

केही दिनअघि मात्र दुर्घटनामा गम्भीर घाइते भएका करिब २२ वर्षका युवकलाई बी एन्ड बी अस्पतालमा ल्याइएको थियो। टाउकोमा चोट लागेकाले उनको उपचारपछि घर पठाइयो। तर, घर गएको ३-४ दिनपछि उनमा छारे रोग देखियो। आफन्तले उपचारका लागि ल्याए। धेरै किसिमका औषधिहरू चलाइँदा पनि छारे रोग निको पार्न सकिएन। चिकित्सक र बिरामीका आफन्तले आश मारिसकेका थिए। तर, चमत्कारजस्तै भयो। बी एन्ड बीका सबै युनिटको सहायताले ती युवकलाई छारे रोगबाट बाहिर निकाल्न सम्भव भयो।

०००

काठमाडौं कलंकी बस्दै आएकी ५० वर्षीया तारा पराजुली गत २७ साउनमा अफिस जाने क्रममा एक्कासी बेहोश भइन्। स्कुटरको पछाडि बसिरहेकी उनी निदाएको देखेपछि एक पैदल यात्रीले स्कुटर चलाइरहेकी उनकी साथीलाई जानकारी दिए। तुरुन्त स्कुटर रोकेर तारालाई ब्युँझाउने कोशिस गरिन्। तर, उनी ब्युँझिइनन्। तत्काल ट्याक्सीमा राखेर बी एन्ड बी अस्पताल ल्याइन्।

अस्पताल पुगेपछि थाहा भयो तारालाई ब्रेन स्ट्रोक भएको रहेछ। अक्युट सेन्टरमा उनको उपचार शुरु भयो। पटक-पटक अप्रेसनपछि अहिले उनी स्वास्थ्य लाभ गरिरहेकी छन्। सही समयमा अस्पताल पुर्‍याइएकाले तारालाई बचाउन सम्भव भएको चिकित्सकहरू बताउँछन्। अहिले पनि उनको उपचार प्रक्रिया चहिरहेकै छ। स्ट्रोककै कारण उनको देब्रेपट्टिको भाग केही चल्दैन। तथापि, सुधार आइरहेको तारा बताउँछिन्।

फिजियोथेरापीका लागि तारा नियमित बी एन्ड बी आउँछिन्। ३-४ महिनामा नियमित जाँच गराउँछिन्। अक्युट सेन्टरका चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यवहारबाट पनि आफूमा सकारात्मक ऊर्जा प्राप्त भएको उनी बताउँछिन्।

ताराका श्रीमान् कृष्‍णप्रसाद पराजुलीका अनुसार अप्रेसन भएसकेको १४ दिनसम्म उनलाई भेन्टिलेरमै राखिएको थियो। डाक्टरहरूको हौसला र ताराको दृढ मनोबलले गर्दा शुरुदेखि अहिलेसम्म स्वास्थ्यमा निकै परिवर्तन आएको उनी बताउँछन्।

०००

न्युरो इन्टरभेन्सन रेडियोलोजी भनेको घाँटीभन्दा माथिको भागमा गरिने उपचार विधि हो। एमआरआई, सिटिस्क्यान, एक्सरे, इन्डोस्कोपीलगायत उपकरण प्रयोग गरेर हुने रोग पत्ता लगाउने विधिलाई डाइनोस्टिक रेडियोलोजी भनिन्छ। तिनै उपकरण प्रयोेग गरेर ट्रिटमेन्ट गर्नुलाई इन्टरभेन्सन रेडियोलोजी भनिन्छ।

इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. काजन रानाभाटका अनुसार इन्टरभेन्सन रेडियोलोजी पनि दुई किसिमका हुन्छन्- भास्कुलर र नन्-भास्कुलर। नन्-भास्कुलर इन्टरभेन्सन रेडियोलोजीमा शरीरको जुनसुकै अंगमा समस्या आए पनि छालाबाट सीधा त्यो अंगमा पुग्‍ने प्रक्रिया हो। त्यसका लागि गाइडेन्स आवश्यक पर्छ। गाइडेन्सका लागि एमआरआई, अल्ट्रा साउन्ड, सिटिस्क्यान र क्याथ ल्याब आवश्यक पर्छ। यी उपकरण तथा औजार प्रयोग गरेर जुन अंगमा समस्या आएको हो, त्यहाँ छालाबाट स-सानो पंक्चर गरेर पुग्‍ने प्रक्रिया नै नन्-भास्कुलर इन्टरभेन्सन रेडियोलोजी हो।

बी एन्ड बीको अक्युट युनिटले मुटुबाहेक अन्य जुनसुकै अंगको उपचार नन्-भास्कुलर रेडियोलोजी विधिबाट गर्दै आएको छ। मुटुसम्बन्धी समस्या कार्डियोलोजिस्टले हेर्छन्।

तथापि, टाउकोदेखि खुट्टासम्मका अंगहरूमा इन्टरभेन्सन रेडियोलोजी विधिद्वारा उपचार गर्न सकिन्छ। प्रायः हात र खुट्टाको नलीबाट औजारको माध्यमबाट शरीरको समस्याग्रस्त अंगमा पुग्‍ने गरिन्छ। औजारभित्र वायर हुन्छ। वायरको निर्देशनअनुसार क्याथ ल्याबको स्क्रिनमा देख्‍न सकिन्छ। स्क्रिनमा हेर्दै बाहिरबाट सञ्‍चालन गरेर जहाँ पुग्‍नुपर्ने हो, त्यहाँसम्म पुगिन्छ। र, समस्या भएको ठाउँ पहिचान गरी उपचार गरिन्छ।

कुनै नसा ब्लक भएको छ भने त्यसलाई खोल्ने र यदि नसा च्यातिएर रगत बगिरहेको भए बन्द गर्ने काम पनि इन्टरभेन्सन रेडियोलोजी पद्धतिद्वारा गरिन्छ। ‘त्यसकारण पनि यो पद्धतिलाई शरीरको प्लम्बिङ भन्दा पनि फरक पर्दैन,’ डा. काजन भन्छन्।

उनका अनुसार मस्तिष्‍कको कुनै नसामा ब्लक भयो भने मस्तिष्‍कघात (स्ट्रोक) हुन्छ। मस्तिष्‍कघात भएको बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ। किनकि, मस्तिष्‍कको नसामा ब्लक भयो भने दिमागका अन्य भागमा रगत सञ्‍चार हुँदैन। र, कोषहरू मर्दै जान्छन्। धेरै कोष नमरून् भन्‍नका लागि चाँडो अस्पताल पुर्‍याउनुपर्छ।

यस्तै, दिमागको कुनै कमजोर रक्तनली फुटेर रक्तश्राव हुन थाल्छ। यस्तो अवस्थामा पनि इन्टरभेन्सन रेडियोलोजी पद्धतिद्वारा भित्रै गएर कोइल हाली रक्तश्राव बन्द गरिन्छ। विगतमा मस्तिष्‍कघात हुँदा खप्पर खोलेरै उपचार गरिन्थ्यो। तर, अहिले प्रविधिको विकासले विनाअप्रेसन स्ट्रोकको उपचार हुन थालेको छ।

बी एन्ड बी अस्पतालमा डा. काजनको आगमनसँगै करिब ३ वर्षयता इन्टरभेन्सन रेडियोलोजी पद्धतिद्वारा विनाअप्रेसन स्ट्रोकलगायत अन्य धेरै रोगको उपचार हुँदै आएको छ। यो विश्‍व चिकित्सा विज्ञानकै नयाँ विधा मानिन्छ।

डा. काजनका अनुसार मस्तिष्‍कघात दुई किसिमका हुन्छ- स्क्यामिक र हेमरेज। दिमागमा रगत पुर्‍याउने रक्तनली बन्द भयो स्क्यामिक स्ट्रोक हुन्छ। रगत बन्द हुँदा दिमागका कोषहरू मर्दै जाने भएकाले यस्तो समस्यामा तत्काल अस्पताल पुर्‍याउनुपर्ने चिकित्सकहरू बताउँछन्।

यस्तै, कुनै कारणवस रगतको नलीको भित्ता फुटेर दिमागको वरिपरि पानी खेल्ने ठाउँमा जमेर बस्यो भने त्यसलाई हेमरेज स्ट्रोक भनिन्छ।

अर्को टीआईए स्ट्रोक छ। यो स्ट्रोकमा आफैं रक्तनली ब्लक भएर केही समयपछि आफैं खुल्छ। त्यसले भविष्‍यमा ठूलो स्ट्रोकको संकेत गर्छ।

रक्तनलीको भित्ता कमजोर बन्दा हेमरेज स्ट्रोक हुन्छ। त्यसका कारण रगतको फकुण्डोजस्तो बाहिर निस्किन्छ। कुनै किसिमको प्रेसर भयो भने उक्त भित्ता फुट्छ र रत्तश्राव हुन्छ। त्यस्तो अवस्थामा भित्र गएर कोइल हालेर भित्तालाई पुरिन्छ।

कहिलेकाहीं रगतको फुकुण्डो नभएर जन्मजातै गुजिल्टो हुन्छ। त्यसमा पनि स-साना कमजोर धमनीहरू हुन्छन्। केही कारणवस ती धमनीहरू पनि फुट्छन्। र, रक्तश्राव हुन थाल्छ।

डा. रानाभाटका अनुसार पक्षघातको प्रमुख कारण स्क्यामिक स्ट्रोकलाई मानिन्छ। त्यस स्ट्रोकमा इन्टरभेन्सन पद्धतिद्वारा रगतको थेग्लोलाई निकालिन्छ।

‘पक्षघातको विश्‍वव्यापी कुरा गर्ने हो भने अहिले हामी चौथो ऐराको अन्तिम चरणमा छौं,’ डा. काजन भन्छन्, ‘पहिलो एरामा पक्षघात जसलाई हुने हो त्यसलाई हुन्छ, भएपछि केही गर्न मिल्दैन भन्‍ने जस्ता अफवाह थिए। तर, चौथो एराको अन्तिम अवस्थासम्म आइपुग्दा अहिले पक्षघात रोकथाम गर्न सकिन्छ भन्‍ने प्रष्‍ट भएको छ।’ उनका अनुसार पक्षघातलाई मृत्युको दोस्रो मुख्य कारण मानिन्छ।

स्ट्रोक भएको बिरामी भोलिपल्ट मात्र अस्पताल आयो भने केही गर्न सकिँदैन। स्ट्रोक भएको १-२ घण्टाभित्रै अस्पताल पुर्‍याउन सके निको हुने सम्भावना उच्च रहन्छ।

डा. रानाभाटका अनुसार बी एन्ड बीमा स्ट्रोक भएको छोटो समयमै अस्पताल पुर्‍याइएका केही त्यस्ता बिरामी छन्, जसको बोली नै बन्द भएको थियो या एक हात नचल्ने अवस्थामा थिए। ती बिरामीहरूलाई क्याथ ल्याबमा उपचार गरेको एक-डेढ घण्टामै हात चलाउन सक्ने वा बोली फर्काउन सक्ने बनाइएको थियो।

त्यसैले स्ट्रोकका बिरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सक्यो, त्यति राम्रो मानिन्छ। स्ट्रोक भएको १ घण्टामा २० लाख सेल मर्छन्। त्यसकारण जति ढिलो बिरामीलाई अस्पताल पुर्‍याइन्छ, त्यति धेरै सेल मर्ने भएकाले पनि यो निकै खतरनाक छ। शरीरको एकदमै महत्त्वपूर्ण बोली अथवा हातखुट्टालाई नै पहिले स्ट्रोकले असर गर्न थाल्यो भने झनै खतरनाक मानिन्छ।

कुनै-कुनै साइलेन्स स्ट्रोक पनि हुन्छन्। स्ट्रोक भएको छ तर त्यसले कुनै लक्षण देखाएको छैन भने त्यसले त्यति धेरै असर गरेको हुँदैन। त्यस्तो अवस्थामा छातीको नलीबाटै थेग्लो फुटाउने औषधि पनि दिइन्छ। त्यो औषधि स्ट्रोक भएको चारदेखि साढे चार घण्टाभित्रै दिन सकिन्छ। कति बिरामीको हकमा चार-साढे चार घण्टाभित्र पनि उक्त औषधि दिन नमिल्ने हुन सक्छ।

०००

स्ट्रोक हुनुअघि देखिने लक्षणहरूलाई चिकित्सकहरूले ‘बी फास्ट’ नामाकरण गरेका छन्। जस्तो- बीबाट ब्यालेन्स। यस्तो लक्षणमा एक्कासी शरीरको सन्तुलन बिग्रन्छ। यस्तै, ईबाट आई। एक्कासी एक वा दुवै आँखाले देख्‍न नसक्नु वा धमिलो देख्‍नु। एफबाट फेस। अनुहार बांगिनु वा अनुहारको छाला लत्रिनु। एबाट आर्म- हातहरू लुलो हुनु। एसबाट स्पिच- बोली लर्बराउने वा सजिलोसँग बोल्न नसक्नु हो। यस्ता लक्षणहरू देखिनेबित्तिकै टी (टाइम)- समयमै अस्पताल आइपुग्‍नुपर्छ।

‘यीमध्ये कुनै पनि लक्षण देखियो भने ठीक भइहाल्छ नि भन्दै लापरवाही गरेर घरमा बस्यो अनि भोलिपल्ट मात्र अस्पताल आयो भने केही पनि गर्न सकिँदैन,’ डा. रानाभाट भन्छन्।

तारका माध्यमबाट ब्लक खुलाउन पनि २४ घण्टाको गाइडलाइन छ। त्यसभन्दा बढी समयपछि भने त्यो पद्धतिद्वारा पनि उपचार गर्न मिल्दैन। २४ घण्टाभित्र अस्पताल आउन सकियो भने पनि केही भागलाई बचाउन सकिने उनी बताउँछन्।

उनका अनुसार जति ढिलो अस्पताल ल्यायो, त्यति धेरै अंग मरिसक्छन्। अनि जुन भाग मरिसकेको छ, त्यसलाई फेरि जीवित बनाउन मुस्किल पर्छ। जति मर्न बाँकी अंगहरू छन्, तिनीहरूलाई बचाउन सकियो भने त्यसकै प्यारालाइसिसबाट पनि बचाउन सकिन्छ।

स्ट्रोक भएर ठूलो भाग मर्‍यो भने २-३ दिनपछि सुन्‍निन थाल्छ। धेरै सुन्‍निएर नसुन्‍निएको भागलाई पनि थिच्न थाल्छ। सुन्‍निएको भागले श्‍वासप्रश्‍वासको भागलाई थिच्यो भने मान्छेको मृत्यु नै हुन्छ।

स्ट्रोक भएर ठूलो भाग सुकेर आएको बिरामीलाई इन्टरभेन्सन पद्धतिबाट नभई अप्रेसनद्वारा खप्पर नै खोलेर उपचार गरिन्छ। यसो गर्दा मस्तिष्‍क बाहिरको भाग सुन्‍निन्छ। त्यसकारण अप्रेसन पद्धतिसम्म जान नपरोस् भन्‍नका लागि समयको ख्याल गर्दै छिटोभन्दा छिटो अस्पताल आइपुग्‍नुपर्छ।

बी एन्ड बीको स्ट्रोक सेन्टरबाट इन्टरभेन्सन पद्धतिद्वारा उपचार पाएका बिरामीहरूमा ललितपुर र भक्तपुरका बासिन्दा बढी छन्। इन्टरभेन्सन रेडियोलोजीद्वारा यस अस्पतालमा उपचार हुन्छ भन्‍ने जानकारी भएका उपत्यका बाहिरका व्यक्तिहरू पनि हेलिकप्टरमार्फत आउने गर्छन्। सोही कारण अहिले स्ट्रोक र इन्टरभेन्सन रेडियोलोजी पद्धतिबारे जनचेतना जागृत गर्न वडा तहसँग समन्वय आवश्यक देखिएको डा. रानाभाट बताउँछन्।

आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !

भर्खरै

  • १.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • २.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ३.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.