मनिष अर्याल
आगामी शुक्रबार नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउँदै छ। चलचित्रको प्रबर्द्धनका लागि फिल्म युनिटले काठमाडौं वसन्तपुरमा चुरोटका ठूटा र भूपि शेरचनलाई पोट्रेटमा उतारेको छ।
भूपि शेरचनको पोट्रेट तयार पार्न तीन हजार ६०० वटा चुरोटका ठुटा प्रयोग गरिएको छ। यो पोट्रेट बनाउन तीन साता लागेको फिल्म युनिटका निहाल नरेन सिंह बताउँछन्। माला आर्ट ग्यालरी, एब्स्ट्र्याक्ट आर्ट ग्यालरी र निर्वाणा ग्यालरीले संयुक्त रूपमा भूपि शेरचनको पोट्रेट तयार पारेका हुन्।

फिल्म र पोट्रेटको अवधारणा दिनेश पाल्पाली, उज्ज्वल बस्ताकोटी, उत्पल झा, सन्दीप डंगोल र निहाल नरेन सिंहले तयार पारेका हुन्।
१२ फागुनमा ट्रेलर रिलिज गरिएको फिल्ममा ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित छ। सोही कारण चुरोटका ठूटा संकलन गरेर फिल्म युनिटले भूपि शेरचनको पोट्रेट तयार पारेको हो।
दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ। गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छन् भन्ने विषयवस्तु फिल्ममा प्रस्तुत गरिएको निर्माण युनिटले जनाएको छ।





